Comments Add Comment

कामविहीन नागरिक सीमा सहायता कक्ष

१२ साउन, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मुख्य व्यापारिक नाका त्रिनगर भन्सार नाकामा नागरिक सीमा सहायता कक्ष सञ्चालन भए पनि अहिलेसम्म कुनै काम भएको छैन । कार्यालयमा हालसम्म एकजना भारत जाने नेपाली कामदारको अभिलेख राख्ने काम भएको छेन ।

सहायता खटिएका एकजना कर्मचारी दिनभर कार्यालय कुरेर बस्छन् । त्यसमा न भारत जानेको तथ्यांक संकलन हुन्छ, न त नेपालीले सीमामा भोगेको समस्याबारे कसैले गुनासो गर्छन् ।

रोजगारीका लागि भारत जाने नेपालीको तथ्याङ्क व्यवस्थित गर्नका लागि गत फागुन ६ गते तामझामका साथ सहायता कक्षको उद्घाटन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले भारत जाने सबै नेपालीको व्यवस्थित तथ्यांक राखिने बताएका थिए । तर, ६ महिना बित्दा पनि सहायता कक्षबाट तथ्यांक संकलन हुन सकेको छैन ।

‘हालसम्म भारत जाने एक जनाको पनि तथ्यांक राखिएको छैन । न कसैले सीमा भोगेको समस्याबारे गुनासो गरेका छन्,’ नागरिक सीमा सहायता कक्षमा कार्यरत नायब सुब्बा लालबहादुर धामीले भने, ‘के काम गर्ने भन्ने नै तोकिएको छैन ।’

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सहायता कक्षमा खटाएको भनेर पत्र दिए पनि कामको जिम्मेवारी नतोक्दा बसेर दिन काट्ने गरेको उनले बताए । ‘काम नभएपछि आउनेजाने मान्छे हेरेर बस्छु, दिन कटाउनै दिक्क छ,’ उनले भने, ‘न काम तोकिएको छ, न मन्त्रालयले विवरण माग्छ ।’

दैनिक सयौं नेपाली भारत जाने भएकाले एक जनाको भरमा तथ्यांक राख्ने काम सम्भव पनि नहुने उनको भनाइ छ ।

मजदुरीका लागि भारत जाने नेपालीहरूको लाइन ।

नागरिक सीमा सहायता कक्षमा उनी गएको वैशाखदेखि कार्यरत छन् । कामबिहीन भएर दिनभरी कार्यालयमा बस्दा दिकदार हुने गरेको धामीले बताए । ‘न काम छ न त जिम्मेवारी’, उनले थपे-‘दिनभरि बस्दा बस्दै दिक्क लाग्ने गर्दछ ।’

वैशाख १ गतेदेखि सहायता कक्षमा भारतको कुन ठाउँ, के कामका लागि जाने भन्ने तथ्यांक राखिने बताइएको थियो ।

सीमामा ओहोरदोहोर गर्दा नेपालीले भोग्नु परेका समस्या समाधानको सहजीकरण पनि सहायता कक्षबाट गर्ने भनिएको थियो । सहायता कक्षबारे जानकारी नभएर पनि हालसम्म कसैले गुनासो नगरेको हुनसक्ने धामीले बताए ।

नागरिक सीमा सहायता कक्षमा विद्युत र शौचालय पनि छैन । त्रिनगर भन्सार कार्यालयबाट विद्युत ल्याएर पंखा चलाउने गरेको धामीले बताए ।

धामीले तथ्याङ्क व्यवस्थित तरिकाले राख्नका लागि जनशक्ति थप गर्नुका साथै छुट्टै ठाउँमा कार्यालय हुनु पर्ने बताए । हजारौं सुदूरपश्चिमेली रोजगारको सिलसिलामा भारतमा छन् । यसको आधिकारिक तथ्यांक भने कुनै निकायसँग छैन ।

भारत काम गर्न गएका कयौं उतै बेपत्ता छन् । तथ्यांक राख्न थालिएपछि भारतमा रहेका नेपालीको रोजगारीको स्थिति, कहाँ के काम गर्दैछ भन्ने थाहा हुने भएकाले बेपत्ता हुँदा पनि खोजविन गर्न सहज हुने प्रदेश सरकारको दावी थियो ।

यहाँको गड्डाचौकी र खक्रौला नाकामा पनि सहायता कक्ष स्थापना गरी तथ्यांंक राख्नेसँगै भारत जाने कामदारको स्वास्थ्य बीमाको ग्यारेण्टी, सीमा नाकामा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा पनि सहायता कक्षले काम गर्ने बताइएको थियो । तर अहिलेसम्म त्यसो गरिएको छैन ।

कुनैबेला लामो समय भारतमा मजदुरी गरेका मुख्यमन्त्री भट्टले भारतमा रहेका नेपालीको अवस्था थाहा पाउन भारतीय रोजगारलाई व्यवस्थित गरिने बताउँदै आएका छन् । तर, रोजगारीका लागि दैनिक कति नेपाली भारत जान्छन् भन्ने तथ्यांकसम्म सरकारले संकलन गर्न सकेको छैन ।

आन्तरिक मामिला तथा कानुन मत्रालयले पूर्वाधार र जनशक्ति अभावले सहायता कक्ष व्यवस्थित बनाउन नसकिएको जनाएको छ ।

मन्त्रालयका निमित्त सचिव तेजप्रकाश जोशीले सहायता कक्ष व्यवस्थित गरिने बताए । प्रदेश सरकारले आउँदो भदौं, असोजसम्म त्रिनगर भन्सार र गड्डा चौकीमा भाडामा कोठा लिएर पनि नागरिक सीमा सहायता कक्ष व्यवस्थित गर्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment