Comments Add Comment

भन्सारमा नतिरी पुस्तक छुटाउन व्यवसायीको सरकारलाई दबाव

१२ साउन, काठमाडौं ।विदेशबाट आयात गरिने पुस्तकमा दश प्रतिशत भन्सार महशुल लगाउने सरकारी निर्णयलाई व्यवसायीले नमान्दा मुख्य भन्सार नाकाहरुमा करोडौं मूल्यका पुस्तकहरु रोकिएका छन् । बजारमा पुस्तकको ‘हाहाकार मच्चिएको’ तर भन्सारमा रोकिएर पुस्तक बिग्रिन थालेको भन्दै व्यवसायीहरुले सरकारलाई दवाव दिएका छन् ।

नेपाल राष्ट्रिय पुस्कत बिक्रेता संघका अध्यक्ष लिखत पाण्डेका अनुसार व्यवसायीले खरिद गरेर ल्याएका पुस्तक भन्सारका रोकिँदा बजारमा केही पुस्तकको कालोबजारीसमेत सुरु भएको छ । क्याम्ब्रीज पब्लिकेशनले प्रकाशित गर्ने कक्षा ११ को मिनिङ इनटु वर्ड किताबको फोटाकपी गरेर नेपालमा बिक्रि थालिएको अध्यक्ष पाण्डेले दावी गरे ।

सक्कली किताब भन्सारमा रोकिने अनि फोटोकपी बालबालिकाले पढ्ने वातावरण बनाएर सरकारले देशलाई लज्जित बनाएको पाण्डेको आरोप छ । पुस्तक व्यवसायीहरुका अनुसार चिकित्सा शिक्षा, इन्जिनियरिङ, कक्षा ११ र १२ तथा स्नातकोत्तर तहको पाठ्यपुस्तक बजारमा अभाव भएको छ ।

नेपालमा आयात हुने पुस्तकको ठूलो हिस्सा ओगट्ने स्काई रोड ट्रान्सपोर्टेसनका अनुसार उनीहरुले आयात गरेका ४ ट्रक पुस्तक भन्सारमा रोकिएका छन् । झण्डै १५ सय बण्डल त्यस्ता पुस्तक रक्सौलको भारतीय भन्सारमा नै रहेको म्यमनेजर अनिल श्रेष्ठले बताए । यस्तै सुगम परिबहनका पनि २ हजार बण्डल किताब सुनौली भन्सारमा रोकिएका छन् । रोकिएका पुस्तकको सरदर मूल्य ७ करोड हाराहारी हुने व्यवसायीको दावी छ ।

अर्थमन्त्रीले भेट्न दिएनन्

भन्सारमा रोएकिो पुस्तक बढेको महशुल नतिरी छुटाउन व्यवसायीले गरेको लबिङलाई भने अर्थमन्त्री डा.युवराज खतिवडाले अस्वीकार गरेका छन् । बिभिन्न च्यानल मार्फत अर्थमन्त्रीलाई भेटेर प्रभावमा पार्न व्यवसायीले कसरत गरे पनि अर्थमन्त्रीले उनीहरुलाई भेट गर्न समय नै नदिएको अर्थमन्त्री निकट स्रोतले अनलाईनखबरलाई बतायो ।

नेपाल राष्ट्रिय पुस्कत बिक्रेता संघका अध्यक्ष लिखत पाण्डेले अर्थमन्त्रीले आफूहरुलाई भेट नदिएको स्वीकार गरे । भन्सार बिन्दुमा आईपुगेका पुस्तक राजनीतिक लबिङका आधारमा नेपाल भित्र्याउन नपाए भारतीय पाटीलाई नै फिर्ता पठाउने विषयमा पनि संघमा छलफल भई रहेको संघका एक पदाधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment