Comments Add Comment

अधुरो विकासले अस्तब्यस्त विराटनगर

१३ साउन, विराटनगर । प्रदेश १ को राजधानी विराटनगर अधुरो विकासका कारण अस्तबयस्त बनेको छ । महानगरभित्र पर्ने सडकहरु विकासका नाममा भत्काएर लामो समयदेखि अपुरो छाडिएका छन् । जसका कारण सबैभन्दा बढी नगरवासीले सास्ती व्यहोर्नु परेको छ ।

नगरका भित्री सडक भत्काउने र समयमै निर्माण नगर्ने परिपाटीले गर्दा स्थानीयलाई आवतजावतमा समेत समस्या पर्ने गरेको छ । सडकका नालासमेत जाम हुँदा सामान्य वर्षा हुने वितिकै महानगरपालिका जलमग्न हुने गरेको छ ।

सडक संरचना भत्किाइएका कारण आवागमनमा समस्या हुनै भित्री सडकहरुमा घण्टै सवारी जाम हुने समस्या पनि थपिएको छ ।

विराटनगरको देवकोटा चोकदेखि टेलिकम कार्यालयसम्मको करिव ३ सय मिटर क्षेत्रको सडक गएको चैत अन्तिम साता भत्काइएको थियो । तर, अहिले पनि अलपत्र स्थितिमा छाडिएको छ ।

यो सडक विराटनगरको निकै व्यस्त सडक हो । जँहा मालपोत, नापी, उच्च अदालत जस्ता सरकारी कार्यालयहरु रहेका छन् ।

सेवाग्राहीको ओहोर दोहोर बढी हुने सडक भए पनि यसको निर्माणतर्फ ठेकदारको ध्यान गएको देखिदैन । न त त्यसका लागि महानगरले ठेकदारलाई दबाव नै दिनसकेको छ ।

स्थानीय प्रविणप्रताभ देवले नगर क्षेत्रका मात्रै नभएर बाहिरबाट काम लिएर आउने सेवाग्राहीसमेत अस्तव्यस्त सडकका कारण हिँनडुलमै समस्या हुने गरेको बताए ।

‘गएको चैत महिनामा भत्काएको सडक अहिले पनि उस्तै अबस्थामा छ,’ स्थानीयवासी देवले भने, ‘सडक अस्तव्यवस्त बनाएर छाडिएको छ, एक प्रकारले भन्ने हो भने यो सडक’वारजोन,’ को अबस्था छ ।

स्थानीयवासी देवका अनुसार सडक भत्काएपछि तीन महिनादेखि खानेपानीको संकट उक्त क्षेत्रमा रहेको छ । सडक भत्काउने क्रममा खानेपानीको नाला खोलिएपछि खानेपानीको अभाव भए पनि अहिलेसम्म टुटेको खानेपानीको पाइप जोडिएका छैनन् ।

महानगरका तीनपैनी चोकदेखि बञ्जारा चोकसम्मको ५ सय मिटर सडक, ट्राफिक चोकदेखि जनआन्दोलन चोकसम्मको २५० मिटर र जलजला मोडदेखि गि्रनक्रस अस्पतालसम्मका सडक खनेर लामो समयदेखि छाडिएको छ ।

ती मध्ये महानगरको वडा ७ राष्ट्र बैंकदेखि वडा ८ हस्पिटल चोकसम्मको लगभग ४ सय मिटर सडक अस्तव्यस्त छ । यही सडकको बीचमा हस्पिटल, प्रदेशसभा भवन, सामाजिक विकास मन्त्रालयलगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने अन्य निकायका कार्यालयसमेत रहेका छन् ।

महानगरपालिका र ठेकदारको बेवास्तका कारण नाला तथा सडक निर्माणको काम सुरु गरेको लामो समय भए पनि काम सम्पन्न नहुँदा आवतजावतमा निकै सकस हुने गरेको छ ।

त्यस क्षेत्रमा सडकका बीचबीच भागमा ठूलाठूला खाडल बनाइएका छाडिएका छन् । त्यसैगरी नाला र ढल निर्माणलाई बीचैमा अलपत्र छाडिएको छ ।

हस्पिटल चोकदेखि राष्ट्रबैंकसम्मको सडक रंगेली जोडने मुख्य सडकसमेत रहेकाले यो सडक सधै भिडभाड रहे पनि लामो समयदेखि भत्काएर छाडिएकाले समस्याग्रस्त छ ।

जताजतै सडक खानिएको बीचमा खाडल बनाएर छाडिएकाले देवकोटा चोकदेखि सामाजिक विकास मन्त्रालय अगाडीको क्षेत्रमा घण्टैसम्म सवारी जाम हुने गरेको छ । सडक एकतर्फीमात्र हिँड्न सक्ने भएकाले सो क्षेत्रमा ट्राफिक समस्या हुने गरेको छ ।

स्थानीय व्यापारी विनोदकुमार शाहले सडक भत्काएर छाडिएको र सडकका बीच भागमा ठूलाठूला खाडल बनाइएकाले सो क्षेत्रको सडकमा सवारी पार गर्न एकदेखि दुई घण्टासम्म समय लाग्ने गरेका बताए । ‘मन्त्रालयको अगाडि कै सडक दूरअवस्था छ,’ स्थानीय व्यापारीले शाहले भने, ‘समयमै सडक नबनाउने भए बर्खा लाग्दैछ भनेर थाहा हुँदाहुँदै किन सडक भत्काइयो ।’

यसमा महानगरको पनि चरम लापरबाही भएको भन्दै उनले समयमै काम नगर्ने ठेकदारलाई कारबाही गर्नुपर्ने माग गरे ।

समयमै काम नसक्दा समस्या

विराटनगर महानगरपालिकामा सन् २०१३ डिसेम्बरदेखि दुई अर्ब ३९ करोड बराबरको एकीकृत मझौला सहर स्तरोन्नती तथा सहरी वतावरण सुधार परियोजना (एसटीआईयुइआइपी) सञ्चालनमा छन् ।

सन् २०१६ भित्र काम सम्पन्न गर्नुपर्ने परियोजनाको लक्ष्य थियो । तर समयमा काम नसकिएपछि म्याद थप गरेर सन् २०१८ जुनसम्म थियो ।

५८ करोड लागत थपेर परियोजना सम्पन्न भएको घोषण गरियो । तर, महानगरभित्रका सडकको हालत भने उस्तै छ ।

६४ किलोमिटर सडकको स्तरोन्तीसहित कालोपत्रे गर्ने र नाला तथा ढल निर्माण गर्ने काम पूरा हुन सकेको छैन । त्यसैगरी एसियाली विकास बैंकको सहयोगमा दुई अर्ब ६१ करोडको लागतमा क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी) सञ्चालनमा छ ।

परियोजना २८ अगस्त २०१७ देखि शुरु भइ ३६ महिना अवधिमा सक्ने समय सीमा रहेको छ ।

परियोजना अन्तर्गत ६ सय ५२ मिटर पानीको नाला, २० हजार ८२ मिटर फोहोर ढल, ६ सय ८५ थान ढलको मेन होल, एक हजार १० थान सेबर इनलेट, ३७ सय ८४ थान घरमा ढल जडान, २६ किलोमिटर सडक निर्माण र ७३ किलोमिटर सडकको स्तरोन्नती तथा सुधार गरिनेछ ।

परियोजनाको एकाइ कार्यालयका ईन्जिनियर भरत न्यौपाने अहिलेसम्म कामको प्रगति ७० प्रतिशत भएको दाबी गर्छन् । तर, नगरका सबै सडक क्षतविक्षत पारिए पनि दाबी गरिए अनुसारको काम भने हुन सकेको पाइँदैन ।

भएका पुराना सडक चिल्ला र फराकिला बनाउने भन्दै सबैजसो भित्री सडक पनि भत्काएर क्षतविक्षत अवस्थामा र्पुयाइएको छ । जसका कारण आवतजावतमा नगरबासीलाई सकर भएको छ भने अर्कोतर्फ सामान्य वर्षामा महानगर डुबानमा परेको छ ।

महानगर भने ढलसहित नाला र सडक एकै साथ निर्माण गरिने भएकाले भत्काइको सडक निर्माणमा केही समय लागेको दाबी गदै आएको छ ।

यसले लामो सयमसम्म सडक भत्काएर छाडिएको कमजोरी तर्फभन्दा पनि बर्खाको कारण काम गर्न कठिनाइ भएको भन्दै आफ्नो कमजोरीलाई ढाकछोप गर्दै आएको छ ।

विराटनगर महानगरपालिकाकी उपप्रमखु इन्दिरा कार्कीले महानगर नवनिर्माणको चरणमा रहेकाले समस्या भएको बताइन् ।

उनले बिषेश गरी वर्षातका सडकदेखि नाला र ढलको काम रोकिए पनि वर्षात रोकिएसँगै धमाधम काम सुरु गरिनेे दाबी गरिन् ।

‘दशै अगावै रोकिएका धेरै सडक निर्माणका कामले पूर्णता पाँउने छन,’ उनले भनिन्, ‘क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत ढलसँगै सडक र नाला निर्माणको कामले गति लिनेछ ।’

परियोजना अन्तर्गत ७० प्रतिशत काम पूरा भएको छ । बाँकी काम पनि यसै वर्षभित्र सम्पन्न गरी महानगरपालिकाको मुहार फेरिने उपमेयर कार्कीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment