Comments Add Comment

नर्सिङ क्याम्पसको सिट सञ्चालक समितिलाई भागवण्डा !

१४ साउन, ओखलढुंगा । ओखलढुंगा सामुदायिक अस्पतालमा सञ्चालित स्कूल अफ हेल्थ साइन्समा नर्सिङ अध्ययनका लागि जम्मा २० वटा सिट छ । तर त्यसमध्ये १२ वटा कोटा पहुँचवालाले भागवण्डा गरेपछि सर्वसाधारणका लागि नर्सिङ अध्ययन दुर्लभ बनेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को सम्बन्धनमा २०७५/७६ देखि सञ्चालन भएको उक्त नर्सिङ क्याम्पसमा शैक्षिक सत्र ०७६÷०७७ को भर्नाका लागि भागवण्डा गरिएको हो ।

सञ्चालक समितिले साउन ८ गते गरेको निर्णयअनुसार सीटीईभीटीका कर्मचारीलाई १ जना, अस्पतालमा कार्यरत कर्मचारीलाई १, सिद्धिचरण नगरपालिकालाई २, ओखलढुंगा उद्योग वाणिज्य संघलाई २, छात्रवृत्तिमा २, अनमी १ र पुरुष कोटा ३ गरी १२ जना भागबण्डा गरिएको छ ।

बाँकी ८ सिटमात्र खुला प्रतिस्पर्धाबाट चयन गरिने उल्लेख गरिएको छ । जिल्लामा सरोकारवालाले उक्त निर्णयको आलोचना गरेका छन् । प्रतिस्पर्धाका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउनुपर्ने स्थानीय सूर्यप्रकाश राईले बताए ।

जिल्ला समन्वय समितिका अध्यक्ष जयबहादुर श्रेष्ठले क्याम्पस सञ्चालक समितिले काडमाडौमा बसेर एकलौटी निर्णय गरेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए । ‘इच्छुक सबै सर्वसाधारणले प्रतिस्पर्धाका आधारमा पढ्न पाउनुपर्छ’ उनले प्रश्न गरे, ‘स्वास्थ्य जस्तो संवेदनशील विषयमा भागवण्डा गरेर कस्तो जनशक्ति उत्पादन गर्न खोजिएको हो ?’

उक्त निर्णय सीटीईभीटीको भवनमा बसेको निर्णयमा उल्लेख छ । ओखढुंगामा भएका सञ्चालक समिति सदस्यहरु पनि काठमाडौं आई बैठक गरी उक्त निर्णय गरिएको थियो । निर्णयमा अध्यक्ष विनयकुमार मिश्र, सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक डा. रोशन खरेलले हस्ताक्षर गरेका छन् ।

ओखलढुंगा स्कूल अफ हेल्थ साइन्सका व्यवस्थापन समिति अध्यक्ष विजय मिश्रले बताए । कोटा कसकसलाई दिने भन्ने निर्णय व्यवस्थापन समितिले नै गर्ने दावी गरे । प्रवेश परीक्षा उतीर्ण गर्ने विद्यार्थीले मात्र छुट्याइएको कोटामा अध्ययन गर्न पाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment