Comments Add Comment

प्रदेश ३ का कृषकलाई अनुदान र सहुलियत ऋण

कृषि विकास बैंकसँग प्रदेश सरकारको १४ बुँदे सम्झौता

१४ साउन, हेटौंडा । प्रदेश ३ सरकारले कृषकहरुलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउने भएको छ । त्यसका लागि प्रदेश सरकारले मंगलबार कृषि विकास बैंकसँग १४ बुँदे सम्झौता गरेको छ ।

प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन र प्रवर्द्धन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास वैंक लिमिटेडबीच मंगलबार हेटौंडामा ‘सहुलियतपूर्ण ऋण र अनुदान’ समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा मन्त्रालयको तर्फबाट सचिव डाक्टर योगेन्ऽ कुमार कार्की र कृषि विकास बैकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरे ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले अवको तीन/चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गरिनुपर्ने बताए ।

कृषिमा क्रान्ति सामुहिक खेती प्रणालीबाट मात्रै हुने भन्दै अब मिलेर खेती गर्नुपर्नेमा जोड दिए । सरकारले समृद्धिका कुरा गरिरहँदा जनताको आर्थिक उपार्जन र रोजगारी सिर्जनातर्फ पनि ध्यान दिने मुख्यमन्त्री पोडेलले बताए ।

प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामाले बैंकसँगको सम्झौताको काम सँगै कार्यान्वयन पनि तुरुन्तै गरिने बताए । किसानका निम्ति हरेक क्षेत्रमा काम गर्ने गरी मन्त्रालय अगाडि बढेको बताउँदै कृषिलाई वैज्ञानिक ढंगले यान्त्रीकरण गरेर व्यावसायीकता तर्फ लैजाने मन्त्री लामाले बताए ।

मन्त्रालय र बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै प्रदेश ३ का किसानहरुका लागि कृषि क्षेत्रमा व्यावसायिक रुपमा काम गर्नका लागि सहजता मिल्ने भएको छ ।

समझदारी पत्रमा हस्ताक्षर गरेसँगै दुबै कार्यालयलाई काम गर्ने बाटो खुलेसँगै काम गर्ने चुनौती पनि थपिएको छ ।

कृषि प्राबिधिक, बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरुलाई सहुलियतपूर्ण कृषि ऋण उपलव्ध गराउनका लागि बैंकसँग समझदारी गरिएको हो ।

प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्धमी व्यावसायीहरुलाई प्रवाह गरिने अनुदान कृषि विकास बैंकमार्फत हुने व्यवस्था गरिएको छ ।

कार्यक्रममा प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, प्रमुख सचिव आनन्दराज ढकाललगायतकाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment