 
															१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका निर्धारण गरेर काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।
कतिपय मन्त्रीहरुको कामप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको समाचार सार्वजनिक भइरहेको बेला प्रधानमन्त्री ओलीले बुधबार कार्य सम्पादन सम्झौता गरेका हुन् ।
सुरुमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग सम्झौताको फाइल साटासाट गरेपछि प्रधानमन्त्री ओलीले भने, ‘अहिले राजनीतिक अस्थीरताले काम गर्न दिएन भन्ने छैन, वार्षिक कार्ययोजना, मासिक कार्ययोजना बनाएर, समय तालिका निर्धारण गरेर काममा लाग्नुहोस् ।’

स्थीर सरकारको कारण ढुक्क भएर काम गर्ने वातावरण बनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘देशमा सम्भावना भएर पनि विकासमा पछाडि छौं । पिछडिएको देश, गरिब देश भन्नु परेको छ । नकारात्मक चिजहरु विकास भएका छन् । आर्थिक विकासमा पछाडि पर्नु परेको छ । जनताले यो सब बदल्न बहुमत दिएका छन् ।’
अल्पविकसित राष्ट्रलाई विकसित राष्ट्र बनाउनुपर्ने जिम्मेवारी रहेकाले प्राप्त सहयोगको सदुपयोग गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले दातृ राष्ट्र र संस्थाहरुबाट सहयोग नरोकिएको बरु सहयोगअनुसार काम हुन नसकेको पनि बताए ।
प्रधानमन्त्री ओलीले सरकार मुलुकको हित हुने गरी अडान लिन सक्ने हैसियतमा रहेको उल्लेख गर्दै सोही अनुसारको कार्य सम्पादन गर्नुपर्नेमा पनि जोड दिए । त्यस अवसरमा सचिवहरुले मन्त्रीहरुसँग पनि कार्य सम्पादन सम्झौता गरेका थिए ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कामलाई पूर्णता दिन प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्य सम्पादन सम्झौता गर्ने कामको सुरुवात गरिएको हो । प्रधानमन्त्री ओलीले सरकारको सो अभियानलाई सफल बनाउन सहयोग गर्न पनि सबैलाई आग्रह गरे ।
कार्यक्रममा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको विस्तृत कार्ययोजना प्रधानमन्त्री ओली समक्ष पेश गरेको थियो । दुवै मन्त्रालयले पेश गरेको कार्ययोजनामा मन्त्रालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका मितिसहितको कार्ययोजना समावेश गरिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4