Comments Add Comment

अन्तरिम संरचनाको बहसमा अल्झियो कांग्रेस

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बुधबार पनि पार्टीको अन्तरिम संरचना निर्माण र १४ औं महाधिवेशनबारे ठोस प्रस्ताव आएन । बरु नेताहरुले अन्तरिम संरचना पुस कि असोजभित्र बनाउने भन्ने बहस गरेका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको वैठकमा महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यलगायतको विवरण अपडेट गर्नुपर्ने बताए भने उपसभापति विमलेन्द्र निधिले यो सबै मिलाएर पुसभित्र अन्तरिम संरचना बनाउन सकिने बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने असोजभित्र पार्टीको अन्तरिम संरचना बनाइनसक्नुपर्ने धारणा राखे ।

अर्का नेता कृष्ण सिटौलाले भने अन्तरिम संरचना र महाधिवेशनबारे पार्टी सभापति र पदाधिकारीहरुको ठोस प्रस्ताव माग गरेका छन् । उनले पुस वा असोजका विषयमा बहस गरेर समय खेर फाल्नुभन्दा कार्ययोजनासहित प्रस्ताव ल्याउन आग्रह गरेका छन् । नभए थपिने एक वर्षमा पनि महाधिवेशन हुन नसक्ने उनको दाबी छ ।

वैठकमा सभापति शेरबहादुर देउवाले अन्तरिम संरचना र महाधिवेशन दुबै सकेसम्म छिटो गर्नुपर्ने बताएका छन् । यसबारे दुई महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काले गृहकार्य गरेर प्रस्ताव ल्याउने नेताहरुले बताएका छन् ।

गच्छदार समूहलाई के गर्ने ?

वैठकमा अन्तरिम संरचना निर्माणमा गच्छदार समूहको भूमिकाबारे बहस भएको छ ।

पार्टी विधानको एउटा धाराले अन्तरिम संरचना बनाउँदा १३ औं महाधिवेशनको क्रियाशील सदस्यहरुको मतबाट गर्नुपर्ने भनेको छ । रामचन्द्र पौडेल समूहका नेताहरुले त्यही धारालाई अघि सार्दै अन्तरिम संरचना निर्माण गर्नुपर्ने बताए । तर, महामन्त्री पूर्णबहादुर खड्काले विधानको धारा ७२ को ४ अनुसार पार्टी एकतामा आउनेहरु पनि समावेश गर्न सकिने बताए ।

स्रोतका अनुसार गच्छदारको फोरम लोकतान्त्रिकको नाममा संस्थापन पक्षले आफ्नो समूहका नेता कार्यकर्तालाई ल्याएको भन्दै पौडेल समूह असन्तुष्ट छ । यो समूह १३ औं महाधिवेशनका क्रियाशीलकै आधारमा अन्तरिम संरचना बनाउन चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment