Comments Add Comment

स्वास्थ्य उपकरण र औषधि खरिदमा अनियमितताको आशंका

तीनदिन भित्र विवरण दिन निर्देशनालयलाई निर्देशन

१६ साउन, बुटवल । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले संसदीय समितिले मागेको कागजात उपलब्ध गराउन आलटाल गरेको छ ।

निर्देशनालयले स्वास्थ्य उपकरण तथा औषधि खरिद गर्दा अनियमितता गरेको भन्दै प्रदेशसभामा प्रश्न उठेपछि प्रदेशसभाको सामाजिक विकास समितिले खरिद सम्बन्धी कागजात माग गरेको थियो ।

तर सो विवरण हालसम्म उपलब्ध नगराएको भन्दै सो कागजात तीन दिनभित्र उपलब्ध गराउन समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि बसेको समितिले साउन २ गते हालसम्मको विवरण उपलब्ध गराउन भन्दै पत्राचार गरेको थियो ।

तर विवरण हालसम्म पनि उपलब्ध नगराएको भन्दै बिहीबारको समिति बैठकले तीन दिनभित्र कागजात उपलब्ध गराउन दिर्नेशन दिएको छ ।

समितिले सामाजिक विकास मन्त्रालय अन्तर्गतकै शिक्षा महाशाखासँग आर्थिक वर्ष २०७५/०७६ मा शिक्षा क्षेत्रमा छुट्टाएको वजेट कार्यान्वयको अवस्थाको विवरण पनि माग गरेको थियो । तर उपलब्ध नगराएको भन्दै तीन दिनभित्र सो विवरण उपलब्ध गराउन निर्देशन दिएको समितिका सभापति दीर्घनारायण पाण्डेयले जानकारी दिए ।

‘स्वास्थ्य उपकरण र औषधि खरिदमा आर्थिक अनियमितताको आशंका छ’ सभापति पाण्डेयले भने, ‘तर खरिदसम्बन्धी कागजपत्र अध्ययनपछि यकीन हुन्छ ।’ प्रदेश ५ मा यसअघि प्रदेश सभा सचिवालय र विभिन्न मन्त्रालयहरुले ११ वटा चारपांग्रे गाडी खरिद गर्दा आर्थिक अनियमितताको प्रश्न उठेपछि लेखा समितिले छानबिन गर्दा प्रचलित मूल्य भन्दा झण्डै ४ लाख रुपैयाँ बढी तिरेको पाइएको थियो ।

यस विषयमा प्रदेशसभाको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । लेखा समितिको छानबिनपछि प्रदेशसभा सचिवालयले विक्रेतालाई खरिद सम्झौता अनुसारको मूल्य नभई प्रचलित बजार मूल्यमात्रै भुक्तानी गरेको छ ।

मन्त्रालयहरुले भने बढी तिरेको रकम फिर्ता ल्याउन बेवास्ता गर्दै आएका छन् । गाडीको स्थानीय विक्रेता नेकपा प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल लगानीकर्ता र प्रालिको अध्यक्ष रहेको सफल अटो इन्टरनेसनल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment