Comments Add Comment

कान्छो मन्त्रीको अनुभव : मुख्यमन्त्री र मन्त्रीको बोली बेलगाम भयो

१५ साउन, जनकपुरधाम । सिरहा ४ को ‘ख’ बाट प्रदेशसभामा निर्वाचित सुरेश मण्डल प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएको एक बर्षमा पनि जिम्मेवारी नपाएको बताउँछन् ।

‘१० महिनासम्म त पूरै खाली राखे’, उनी भन्छन्, ‘अहिले थोरै परिवर्तन त भएको छ, तर मन्त्रीले अझै कामको जानकारी दिनुहुन्न ।’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट राज्यमन्त्री बनेका मण्डलको मन्त्रालयमा राजपाकै मन्त्री छन् रामनरेश राय यादव । ११ साउनमा आफ्नो निर्वाचन क्षेत्रका अपाङ्गता भएका १३ जनालाई ह्वील चेयर वितरण गरेका राज्यमन्त्री मण्डल हालैको बाढीको घटनामा पीडितमाझ चर्चित रहे ।

मण्डल गरीब मतदाताका छोरीको विवाह गराउन पनि सक्रिय रहेको कल्याणपुर गाउँपालिका– ३, प्रसाहीका कुशे मल्लिक डोम बताउँछन् । पैसाको अभावमा रोकिन लागेको आफ्नै छोरी राधाको विवाह राज्यमन्त्री मण्डलले गत बैशाखमा सफल बनाइदिएको उनले बताए ।

मण्डल चुनावका बेला घरघरै पुगेर गरेको बाचा हर हालतमा पूरा गर्न आफू तत्पर रहेको राज्यमन्त्री मण्डल बताउँछन् । ‘मतदाताले मलाई भोट दिन पैसा मागेनन्’, उनी भन्छन्, ‘उनीहरुले परेको बेला सहयोग गर्न भनेका थिए, जुन म दिलोज्यानले गरिरहेको छु ।’

बारा र पर्सामा गत चैतमा हावाहुरी (टोर्नाडो)ले विनाश गर्दा राज्यमन्त्री मण्डलले सबभन्दा पहिला एक महिनाको तलव सहयोगको घोषणा गरेका थिए । त्यसपछि सबै मन्त्री र सांसदले एक हप्ताको तलव दिए ।

मण्डल २०५९ सालबाट राजनीतिमा आएका हुन् । सुरुमा नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुमा संगठित भएका उनी २०६२ मा मधेशी जनअधिकार फोरम, नेपालको विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष बने । सोही बर्ष पार्टी विभाजित हुँदा भाग्यनाथ गुप्ता समूहमा लागेका उनी अहिले मण्डल ३७ बर्षको उमेरमा राजपाका सह–महामन्त्रीसमेत बनेका छन् ।
मैले नगरे कसले गर्छ ?

अंग्रेजी र समाजशास्त्र बिषयमा स्नातकोत्तर राज्यमन्त्री मण्डल मूल्य मान्यताको राजनीति गर्ने बताउँछन् । ‘पढे–लेखेर राजनीतिमा आएको छु’ उनी भन्छन्, ‘मैले नगरे परिवर्तन कसले गर्छ ?’

उनका अनुसार, तराई–मधेशमा गरीबी, अशिक्षा बढी छ । त्यसमाथि मधेश आन्दोलनको क्रममा भएको शहादतले धेरै परिवारमा पीडा थपिएको छ, सयौंको संख्यामा अपांग भएका छन् । ‘आन्दोलनका अपांग र शहीद परिवारको अवस्था एकदमै नाजुक छ’ उनी भन्छन्, ‘उनीहरुका लागि काम गर्नु अति जरुरी छ ।’

राज्यमन्त्री मण्डलको राजनीतिक आदर्श महन्थ ठाकुर हुन् । उनलाई ठाकुरको चरित्र उदाहरणीय लाग्छ । खासगरेर व्यक्तिगत सम्पत्तिको लागि कति पनि आशक्ति नदेखाउने ठाकुरको स्वभावबाट आफू बढी प्रभावित भएको मण्डल बताउँछन् ।

संसदीय कोषबाट ‘पक्का काम’

प्रदेश २ मा संसदीय विकास कोषको रकम दुरुपयोग भएको समाचार सामान्य जस्तै छ । राज्यमन्त्री मण्डलले भने आफूले यस्तो गुनासोको मौका कसैलाई नदिएको बताउँछन् ।

आफूले संसदीय विकास कोषको रकमबाट ह्वील चेयर बाँडेको उनले बताए । ह्विल चेयरको महत्व कति हुन्छ भन्ने कुरा अपांगता भएका गरिबलाई सोध्नुपर्ने उनी बताउँछन् । ‘त्यो कोषबाट दलित वस्तीहरुमा सामुदायिक भवन पनि बनाएको छु’, मण्डल भन्छन्, ‘ती भवनहरुले दलित समुदायमा जन्ती आउँदा हुने समस्या समेत टारेका छन् ।’

आफ्नो निर्वाचन क्षेत्रका मुख्य चौराहा, हटियालगायत ३७ स्थानमा साँझमा आफै बल्ने र बिहान आफै निभ्ने सेन्सरयुक्त सोलार बत्ती जडान गरेको उनले बताए । उनले सिरहाको कल्याणपुर नगरपालिकामा एम्बुलेन्स ल्याउन १८ लाख रुपैयाँ उपलब्ध गराएका छन् । ‘बाँकी रकम विद्यालय, अस्पताल र सिञ्चाई योजनामा खर्च गरेको छु’, राज्यमन्त्री मण्डल भन्छन्, ‘जनताका लागि यस्तै कामलाई म पक्का मान्छु ।’

जथाभावी नबोल्न मन्त्रीहरुलाई सुझाव

केन्द्रमा प्रधानमन्त्री र सरकारका प्रवक्ता रहेका सञ्चारमन्त्री छुच्चो बोल्नमा कहलिएका छन् । प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुमा पनि विनम्रताको अभाव देखिएको राज्यमन्त्री मण्डल बताउँछन् । ‘बोलीमा नियन्त्रण छैन, अपशब्दसमेत बोलिरहन्छन्’ उनी भन्छन्, ‘यो त बडा खेदको कुरा हो ।’

संघीयता कार्यान्वयनको सुरुवातमा बोलीबचन समेत शालिन हुनुपर्ने उनको भनाइ छ । ‘बोलीबाटै विवादमा परिरहँदा जिम्मेवारीबोध नभएको देखाउँछ’, उनी भन्छन्, ‘त्यसले त कमीकमजोरी हटाउन होइन, बढाउन सघाउँछ ।’

नेपाली जनताको अपेक्षा अहिले निकै उच्च रहेको तर, सरकारको ‘डेलिभरी’ क्षमता त्यसअनुसार नरहेको राज्यमन्त्री मण्डल बताउँछन् । जनताको आकांक्षा र सरकारको सेवा प्रभाव नमिल्दा असन्तुष्टि बढ्ने उनले बताए ।

‘मधेश आन्दोलनमा हामीले नै आफ्नै शासन, प्रशासन, भाषा र विकासका भाषण गरेका थियौं’, मण्डल भन्छन्, ‘अहिले संघीयतामा बजेटलगायतका कारणले त्यो अनुसार ‘डेलिभरी’ हुन सकिरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment