Comments Add Comment

भोजपुर घटनापछि नेकपा फर्किए विप्लव समूहका नेता

१९ साउन, विराटनगर । भोजपरमा प्रतिबन्धित विप्लव समूहका ओखलढुंगा इञ्चार्ज र नेपाल प्रहरीको मृत्यु भएपछि विप्लव समुहका केही नेता नेकपा फर्किएका छन् ।

नेकपाको विप्लव समूहबाट नेकपा फर्किएका एकराज घिमिरेलाई आइतबार मुख्यमन्त्री शेरधन राई र नेकपा प्रदेश १ अध्यक्ष देवराज घिमिरेले पार्टी प्रवेश गराएका छन् ।

घिमिरे विप्लव समुहका भोजपूर सचिवालय सदस्य तथा जनसांस्कृतिक महासंघ सगरमाथा इञ्चार्ज हुन् । गत असार २५ गते विप्लव समुहका ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको थियो ।

रक्तपातले देशमा समृद्धि नआउने बताउँदै उनले पून मूल घर फर्किएको बताए । ‘एकीकृत जनक्रान्तिका लागि परिवार त्यागेर हिँडेको थिए, ११ दिन अघिसम्म एकीकृत जनक्रान्ति मार्फत परिवर्तन ल्याउन सकिन्छ जस्तो लाग्थ्यो’ उनले भने ‘बन्दुक र गोलीले देशलाई समृद्ध बनाउन सक्दैन, मैले बन्दुक र गोली बोक्ने झोलामा अब डायरी र कलम बोक्छु ।’

गोरेटोमो अल्झिएर हुँदैन : मुख्यमन्त्री

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गोरेटोमा अल्झिएर समृद्धि नआउने बताएका छन् । आफ्नो गृह जिल्लाका विप्लव समूहका नेतालाई नेकपामा फर्काएका मुख्यमन्त्री शेरधन राईले गोरेटोहरुमा अल्झिएर देशमा समृद्धि नआउने बताएका छन् ।

मुख्यमन्त्री राईले ढिलो–चाडो विप्लव समूह पनि मूलधारको राजनीतिमा आउने बताए । ‘गोरेटोमा अल्झिएर हुँदैन’ उनले भने ‘देशलाई समृद्ध बनाउन राजमार्गमा आउनुपर्छ ।’ देश समृद्धिको यात्रामा अघि बढेको बताउँदै उनले पुन आन्दोलनको विगुल फुक्नुको अर्थ नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment