Comments Add Comment

बैंकको सञ्चालक र सीईओ हुन उमेर हद तोकियो

सीईओको ६५ वर्ष, सञ्चालकको ७० वर्ष

२० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुका लागि अधिकतम उमेर हद तोकेको छ ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत कार्यविधि, २०७५ लाई संशोधन गर्दै सोमबार राष्ट्र बैंकले नयाँ उमेर हद तोकेको हो ।

राष्ट्र बैंकको गरेको नयाँ व्यवस्था अनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कायृकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैन । यसअघि नै सीईओ नियुक्त भइसकेको भए ६९ वर्षसम्ममात्रै काम गर्न पाउनेछन् ।

६९ वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको सीईओ पदमा बहाल रहन नसक्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो ।
यसैगरी राष्ट्र बैंकले बैंक सञ्चालकका लागि पनि उमेर हद तोकेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै सञ्चालक पदमा निर्वाचित हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ ।

७० वर्षअघि नै सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले सार्वजनिक फोरमहरुमा नै सञ्चालक र सीईओको उमेरहद तोक्ने बताउदै आएका थिए । राष्ट्र बैंकको यो कदमसँगै एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले अध्यक्ष पद त्याग्नुपर्ने देखिएको छ भने प्राइम कमर्सियल बैंकका सीईओ नारायणदास मानन्धरलाई समस्या परेको छ ।

उनीहरु दुबै जना राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार उमेरका कारण सो पदमा रहन योग्न हुने छैनन् । प्राइमका सीईओ मानन्धर केही दिन अघिमात्रै सीईओमा पुनःनियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment