Comments Add Comment

विप्लव समूहका नेता मोहन कार्की रिहा

२१ साउन, काठमाडौं । प्रतिबन्धित विप्लव समूहका नेता मोहन कार्की ‘जीवन्त’ रिहा भएका छन् । ०७५ चैत १ गते पक्राउ परेका कार्कीलाई प्रहरीले आइतबार रिहा गरेको हो ।

प्रहरी नियन्त्रणमा रहेका कार्कीमाथि अभद्र व्यवहारसम्बन्धी आरोप लागेको थियो । उनीविरुद्ध चलेको अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएपछि उनी थुनामुक्त भएकाे काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

‘जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीमाथि लागेको कसुरबारे फैसला गर्दै छाड्ने आदेश दिएपछि उनलाई २ दिनअघि नै रिहा गरेका छौं’, काठमाडौं परिसरका प्रमुख सुवेदीले अनलाइनखबरलाई भने ।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि कार्कीसँगै हेमन्तप्रकाश ओलीलगायतका उच्चस्तरका नेता पक्राउ परेका छन् ।  कार्की यीमध्ये रिहा हुने पहिलो नेता बनेका छन् । अन्य नेता थुनामै रहेका बेला कार्की रिहा हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कार्की विप्लव समूहका वार्ता पक्षधर नेताका रुपमा चिनिन्छन् । थुनामा रहेका उनले केही दिनअघि मात्रै वार्ताबाट समस्याको निकास खोज्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment