Comments Add Comment

संसदीय समितिको निर्देशन लत्याउँदै काभ्रेमा विमानस्थल निर्माणको तयारी

२१ साउन, काठमाडौं । संसदीय समितिले दिएको निर्देशन लत्याउँदै सरकारले काभ्रेमा विमानस्थल निर्माणको योजना अघि बढाएको छ । काठमाडौं नजिकै अर्को विमानस्थल आवश्यक नरहेको भन्दै संसदीय समितिले यो कार्यक्रम अघि नबढाउन निर्देशन दिएको थियो ।

सरकारले चालु आर्थिक वर्ष ०७६/७७ को बजेटमा नै काठमाडौं उपत्यका नजिकै वैकल्पिक विमानस्थल बनाउने योजना समेटेको छ । ‘उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक आन्तरिक आन्तरिक विमानस्थल निर्माण गरिने छ,’ बजेटमा उल्लेख छ । यही कुरा गत आव ०७५/७६ को बजेटमा पनि उल्लेख थियो ।

निकै हल्लाखल्ला गरी काभ्रेमा विमानस्थल निर्माण हुने साइट हेरियो । विज्ञ टोली गठन गरियो । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि यसको सुक्ष्म अध्ययन गरेको थियो । समितिले भने यस ठाउँमा विमानस्थल बनाउने उपयुक्त नहुने निष्कर्ष निकालेको छ ।

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आवका लागि बजेट निर्माण गरिरहेको छ । संघीय बजेटले समेटेको यस कार्यक्रमअन्र्तगत प्राधिकरणको बजेटमा काभ्रेमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलको विकल्प हुने गरी आन्तरिक विमानस्थल बनाउने योजना सरकारले लिएको हो ।

शक्तिशाली नेताले पहुँचका आधारमा अनुपयुक्त स्थानमा जबर्जस्ती आयोजना थुपार्दा देशको ढुकुटीको दोहन भइरहेको भन्दै सांसदहरुले आक्रोस पोखेका छन् । यो सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाको निर्वाचन क्षेत्रमा पर्छ ।

के छ समितिको निर्देशन ?

भविष्यमा लाभ लागतको राम्रो अध्ययन नगरी अति अपरिहार्य हुने अवस्था नरहेको स्थितिमा जथाभावी विमानस्थल निर्माणको निम्ति होडबाजी हुनु र जथाभावी अध्ययन टिम खटाउनु नहुने समितिको निर्देशनमा उल्लेख छ । अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा निर्माण भइसकेपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग मुलतः घरेलु विमानस्थलका रुपमा गर्न सकिने भएकाले काभ्रेको नाघीडाँडामा नयाँ आन्तरिक विमानस्थल बनाउन उपयुक्त नहुने उपसमितिको ठहर छ ।

‘यसरी खर्च गर्दा रकमको सदुपयोग नहुने र अनावश्यक खर्च हुने हुनाले जथाभावी विमानस्थल निर्माणको काममा नियन्त्रण गरिनुपर्छ । उदाहरणका लागि रकमको अभावमा मुगुको टर्मिनल काठको छाप्रोमा राखिएको छ भने अन्य ठाउँमा ५० करोडभन्दा बढी रकम आवश्यक नपर्ने स्थानको निम्ति अध्ययन गर्न छुट्याइएको छ’ समितिले भनेको थियो ।

आक्रोसित सांसद

समितिको निर्देशनलाई बेवास्ता गर्दै सरकारले बजेटमा काठमाडौं आसपास विमानस्थल निर्माण गर्ने कार्यक्रम समेटेपछि अन्तरराष्ट्रिय सम्बन्ध समितिका सासंदहरु भने आक्रोसित छन् । उनीहरुले नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराईसमक्ष कुनै पनि हालतमा उक्त विमानस्थल निर्माणमा बजेट नराख्न सुझाव समेत दिएका छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राविधिक र आर्थिक रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणको अध्ययनबाट उपयुक्त नठहरिएका विमानस्थलका लागि अनावश्यक लगानी नगर्न सुझाव दिए ।

‘पहुँच र शक्तिको भरमा जसले जहाँ–जहाँ माग्यो, त्यहाँ–त्यहाँ विमानस्थलको स्वीकृति नदिनुहोस,’ समिति वैठकमा उनको सुझाव थियो, ‘आफैं स्वतन्त्र रूपमा अध्ययन गर्नुहोस र आवश्यक देखिए मात्र लगानी गर्नुहोस ।’

नाफा नोक्सान, बनाइसकेपछि चल्ने नचल्ने, उपयुक्त–अनुपयुक्त सबै विषयवस्तु हेरेर मात्र विमानस्थलमा लगानी गर्नुपर्ने उनले बताए ।

सांसद दिव्यमणि राजभण्डारीले काठमाडौं नजिकै वैकल्पिक विमानस्थल आवश्यक नरहेको निष्कर्ष विज्ञ र समितिले निकाल्दा निकाल्दै सरकारले अटेर गर्नु दुःखद् रहेको बताउँछन् ।

‘समितिले तथ्य र अध्ययनको निष्कर्षसहित निर्देशन दिँदा पनि किन त्यो आयोजना पुनः बजेटमा आयो ?’ उनको प्रश्न छ, ‘यदि बजेट धेरै भएर बँचेको छ भने दूर्गम भेगका विमानस्थल पिच गर्न र स्तरोन्नति गर्न रकम छुट्याउनुहोस ।’

गत वर्ष नै छुट्याइएको थियो २५ करोड

त्रिभुवन विमानस्थलको चाप घटाउन ‘स्लट व्यवस्थापन (उडान–अवतरणको समय)’, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीव्रता तथा कम खर्चमा सम्भव हुने विमानस्थल व्यवस्थापनका उपाय पन्छाउँदै काभ्रेमा विमानस्थल बनाउने योजना अगाडि सारिरहेको छ । गत वर्ष नै सरकारले २५ करोड रुपैयाँ बजेट यस विमानस्थलका लागि छुट्याएको थियो । तर, काभ्रेमा विज्ञ टोली र नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बनाउन उपयुक्त स्थान भेटिसकेका छैनन् । सोही कारण सो वर्ष विनियोजन भएको रकम खर्च हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment