Comments Add Comment

पलायनलाई जितेर विस्तारै उठ्दैछ याङ्जाकोट

२१ साउन, पोखरा । हरिया पाखा, पखेरा देखिन्छन् कुनै सुन्दर पेन्टिङजस्तो । मध्य साउन हरिया छन्, डाँडाकाँडा । फाँट र टारी खेतमा धानको गाँज बढ्दैछन् ।

कतै खाल्डैखाल्डा त कतै हिलाम्मे छ, बाटो । पाखा पखेरा, नागबेली सडक छिचोल्दै, एउटा डाँडोमा पुगेर गाडीमा घ्याच्च ब्रेक लाग्छ । त्यही छेउमा एउटा भवन छ । जहाँ लेखिएको छ, मादी गाउँपालिकाको कार्यालय । मादी गाउँपालिका ३ याङ्जाकोटमै छ गाउँपालिकाको केन्द्र ।

याङ्जाकोट गुरुङ समुदायको बाहुल्यता भएको पुरानो गाउँ हो । यो गाउँ केही समयअघिसम्म पनि खासै उल्लास थिएन ।

गाउँका घरहरु खाली हुँदै गए । दशकौंदेखि नै गाउँका युवा अधिकांश ब्रिटिस, सिंगापुर र भारतीय सेनामा भर्ती भए । उनीहरु भर्ती भएर बिस्तारै सुविधाको खोजीमा गाउँ छाड्दै गए । पछि केही युवालाई खाडी लागे र उनीहरुको राजाइमा पनि गाउँ परेन । युरोप, अमेरिका, कोरिया, जापानले पनि गाउँका युवालाई लग्यो, उनीहरुलाई गाउँमा रोकिएनन् ।

गुल्जार गाउँ विस्तारै सुनसान हुँदै जान थाल्यो । सुविधाहरु गाउँ उक्लिँदै गयो । तर, सुविधा प्रयोग गर्ने मान्छेहरुले गाउँ छाड्दै गए । सडक, बिजुली, खानेपानी, सबथोक गाउँमा पुग्यो तर याङ्जाकोट रित्तिन छाडेन । गाउँका अधिकांश घरकाले पोखरा, त्यसको आसपास र अन्य ठाउँमा पनि घर जोडे ।

ढुंगाले छाएको पुराना शैलीका घर । ढुंगा बिच्छ्याइएका आँगन, गोरेटोहरु । शितल मौसम, मलिलो माटो । पुरानो दरबार । गुरुङहरुको पुरानै संस्कार र संस्कृतिले भरिएको याङ्जाकोट अचेल फरि जुर्मुराउन थालेको छ । गाउँमा होमस्टे सुरु भयो । गाउँपालिकाको केन्द्र याङ्जाकोटमै राखियो । जसका कारण याङ्जाकोट पुग्नेहरुको संख्या बढिरहेको छ ।

गाउँ छाडेकाहरुले घर र जग्गाजमिन बेचेका छैनन् । अधिकांशले सहरमा घर भएर पनि महिना महिनामा गाउँ फर्किएर घर धुँवार्ने काम गर्छन् । केही घर भने भग्नावषेश देखिन्छ । तर, गाउँमा चहलपहल देखिन्छ ।

याङ्जाकोट होमस्टेका अध्यक्ष रोशन गुरुङको अनुभवमा पहिलेभन्दा गाउँमा मान्छेहरुको कार्यक्रम पनि हुन थालेका छन् । हालै पोखराले एक हुल अक्षरयात्री याङ्जाकोट होमस्टे पुगे र शब्दमा त्यहाँको विशेषतालाई उनेर फर्किए । अरु गाउँमाजस्तो यो गाउँमा खेतीयोग्य जमिन बाँझो देखिएनन् । केही न केही खेतबारीमा उब्जनी भइरहेको छ ।

मौसम, गाउँको सत्कार, अर्गानिक खाना, त्यहाँबाट देखिने दृश्यले जो कोहीको पनि मन गर्छ । याङ्याकोट पोखरा काहुँखोलादेखि २० किलोमिटर दूरीमा पर्छ । यहाँ झन्डै ३ सयका हाराहारीमा घरहरु छन् । यहाँका घरहरुलाई अझै आधुनिकताले थिचिसकेको भने छैन । अझै पनि यहाँका घर, बाटो र संस्कृतिले मौलिकपन जोगाइरहेको छ ।

गाउँको मौलिकपन जोगाउने र त्यसलाई आयआर्जनमा जोड्ने नीति गाउँपालिकाले लिएको मादीका अध्यक्ष वेदबहादुर गुरुङ बताउँछन् । गाउँका पुराना व्यक्तिहरु भने दुर्लभ घाटु लोप भएकोमा थकथक मानिरहेका छन् । कास्कीको याङ्जाकोटमा मात्रै देखाइने कुसुन्डो घाटु लोप भएकोमा वीरसिंह गुरुङ चुक्चुकाइरहन्छन् । कुसुन्डो घाँटु बुझेका अहिले गाउँमा उनी एकमात्र हुन् । नयाँ पुस्ताले यसलाई बुझ्न र ग्रहण गर्न सकेका छैनन् ।

कृष्ण चरित्र, सोरठी भने जिवित रहेको याङ्जाकोटवासीले प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ संस्कृतिकर्मी जगमान गुरुङसँग भने केही अपेक्षा गरेका रहेछन् । भन्छन्, ‘अब यो गाउँको संस्कृति जोगाउने हो भने जगमान गुरुले पहल गरिदिनुपर्छ । देशैभरि नाम कमाउनुभयो । अब गाउँको लागि केही गरिदिनुस् ।’

गाउँमै बसेकाहरुलाई गाउँ नै प्यारो छ । गाउँ पनि अब गुल्जार हुन र होमस्टेबाटै आर्थिक आम्दानीसमेत मिल्न थालेपछि उनीहरुमा उत्साह थपिएको छ । होमस्टे पुगेर फर्किनेहरुलाई बिदाई गर्दै याङ्जाकोटका आमाहरु भन्छन्, ‘फेरि आउनु, माया नमार्र्नु है । अरुलाई पनि जान भनिदिनू ।’

तस्वीर : ध्रुव केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment