+
+

सुष्मा स्वराज : मोदीको आलोचकदेखि प्रशंसकसम्म

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते ९:३९

२२ साउन, काठमाडौं । सर्वसाधारणको पासपोर्ट बनाइदिन सहयोग गर्नेदेखि विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्नेसम्म काम गरेकी भारतीय नेतृ सुष्मा स्वराजको मंगलबार राति निधन भयो

सुष्मा स्वराज प्रखर वक्ता र कुशल प्रशासक थिइन् । एक समय त भाजपाको लोकप्रिय वक्ताको रुपमा अटल बिहारी वाजपेयीपछि सुष्माको नाम आउँथ्यो । संसद होस् या सडक सुष्माकै चर्चा हुन्थ्यो ।

विगतका चार दशकमा उनले ११ चुनाव लडिन्, जसमा चार पटक विधानसभामा विजयी भइन् । सात पटक त सांसद बनिन् । उनी चुनावी राजनीतिमा हरियाणा, दिल्ली, उत्तरप्रदेश, मध्यप्रदेश, कर्नाटक र झारखण्ड गरी ६ राज्यमा सक्रिय रहिन् ।

मोदीको आलोचक र प्रशंसक

राजनीतिक विश्लेषकहरु भन्छन्, सन् २०१३ मा नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु हुँदैन भन्ने लालकृष्ण आडवाणीको मतमा सुष्माले पनि आडवाणीलाई अन्तिमसम्म साथ दिएकी थिइन् । तर, सन् २०१४ को चुनावमा मोदीले जिते । जानकारहरु र मोदीका आलोचकहरुले भन्थे– सुष्माले त्यसको सजाय भविष्यमा पाउने नै छिन् ।

तर, अचम्म त के भयो भने मोदीकै प्रधानमन्त्रीकालमा सुष्मा विदेशमन्त्री बनिन् । मोदी पक्षका कतिपय भारतीय नेताहरु भन्छन्– मोदीले सुष्मालाई विदेशमन्त्री बनाएर बैगुनीलाई गुनले मारे । इन्दिरा गान्धीपछि भारतीय विदेशमन्त्री बन्ने दोस्रो महिलाको सूचीमा सुष्माको नाम अंकित भयो । यद्यपि मोदीको दोस्रो कार्यकालमा भने सुष्मा स्वराज मन्त्री बनिनन् ।

जीवनको अन्तिम घडीमा सुष्माले प्रधानमन्त्री मोदीप्रति निकै सम्मान भाव दर्शाएर ट्वीट गरेकी थिइन् । उनले काश्मीरबारे प्रधानमन्त्री मोदीले गरेको निर्णयप्रति लक्षित गर्दै उनले भनेकी थिइन्– तपाईंलाई अभिनन्दन गर्न चाहान्छु । म जीवनमा यही दिनको प्रतीक्षामा थिएँ ।

अटल बिहारी बाजपेयीको पालामा सुष्मा पहिलो पटक केन्द्रीय मन्त्री बनेकी थिइन् । सुरुमा सूचना एवं प्रसारण मन्त्रालय सम्हालेकी उनले पछि परिवार कल्याण मन्त्रालयको जिम्मेवारी पाइन् ।

सुष्माको काम : पासपोर्ट बनाइदिने, विदेशबाट उद्धार गरिदिने

सुष्मा स्वराज विदेशमन्त्री रहँदा संयुक्त राष्ट्रसंघको महासभामा हिन्दीमा भाषण गरेकी थिइन् । हिन्दीमा भाषण गरेपछि उनको निकै प्रशंसा भएको थियो ।

विदेशमन्त्री रहँदा सुष्मा स्वराज ट्वीटरमा धेरै सक्रिय हुन्थिन् । विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्न होस् या पासपोर्ट बनाइदिने काममा होस् सुष्माले दिल खोलेर सहयोग गर्थिन् । उनको सहयोगी भावना देखेर होला कतिपयले ट्वीटरमा सुष्मालाई मेन्सन गर्दै एकदमै सामान्य कुराहरुमा पनि मद्दत माग्थे । त्यस प्रकारका आग्रहलाई उनले मजाकमै उडाइदिन्थिन् ।

मनमोहनविरुद्ध उत्तेजक अभिव्यक्ति

यूपीए सरकारमा रहँदा भाजपा प्रतिपक्षमा थियो । सरकारको भ्रष्टाचारको कुरा सार्वजनिक भइरहन्थ्यो । त्यतिबेला लोकसभामा विपक्षी नेताको रुपमा सुष्मा खरो उत्रिन्थिन् । त्यसैले भन्ने गरिन्छ, भाजपालाई सत्तामा ल्याउन सुष्माको ठूलो योगदान छ ।

एकपटक तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहलाई सुष्माले संसदमै उत्तेजक हुँदै भनेकी थिइन्– तिमी एताउता कुरा नगर । यो कुरा भन– रक्षा दल किन लुट्यौ ?

त्यसको केही दिनपछि पनि यसै प्रसंगमा सुष्माले भनेकी थिइन्– म भन्दिन्छु– रक्षा दलमा लुट किन भयो, किनभने तिम्रा लुटेरालाई पोस्नु थियो ।’

सुष्माले भनेकी थिइन्– सोनिया प्रधानमन्त्री बनेमा भिक्षुणी बन्नेछु

सुष्मा स्वराजले यसै वर्षको अप्रिल महिनामा पनि कांग्रेस आईको नेता राहुल गान्धीप्रति कटाक्ष गरेकी थिइन् । उनले भनेकी थिइन्– जुन परिवारको दुई–दुई जना सदस्य आतंकवादको शिकार भए, त्यही परिवारको छोरोले भन्दैछ आतंकवाद कुनै मुद्दा होइन । राहुल जी, यदि आतंकवाद कुनै मुद्दा होइन भने तपाईंले सुरक्षा टोली किन राख्नु भएको छ ?’

सन् १९९९ मा चुनावको बेला थियो । सोनिया गान्धीले कांग्रेसको नेतृत्व सम्हालेको करिब एक वर्ष भएको थियो । २९ अक्टुबर १९९९ मा सोनिया गान्धीले उत्तर प्रदेशको अमेठी र कर्नाटकको बेल्लारी दुई स्थानबाट लोकसभा चुनाव लड्ने घोषणा गरिन् ।

भाजपाले सोनिया गान्धीलाई चुनौती दिन सुष्मालाई बेल्लारी क्षेत्रमा उम्मेदवार बनायो । बेल्लारी कांग्रेसको गढ थियो । सुष्मा सोनियासँग ५६ हजार मत अन्तरले पराजित भइन् । त्यतिबेला चुनावी भाषणमा सुष्माले भनेकी थिइन्– यदि सोनिया गान्धी प्रधानमन्त्री बनेमा म कपाल खौरिएर, सेतो सारी लगाउने छु, भिक्षुणी बनेर जमिनमा सुत्नेछु ।

पहिले बाजपेयी र त्यसपछि नरेन्द्र मोदीको पहिलो कार्यकालमा केन्द्रीय मन्त्री बनेकी सुष्मा भाजपाको एक खम्बासरह रहिन् । देशका महिलाहरुलाई संगठनमा जोड्ने अभूतपूर्व काम गरेको जस पनि उनलाई दिने गरिन्छ । विदेशमन्त्री रहादा पाकिस्तानका नागरिकहरुलाई समेत उद्धार गरिन् जसबाट उनीहरु भारतमा आएर ढुक्कले आराम गर्न पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?