Comments Add Comment

श्रीमान विदेशमा, श्रीमतीमाथि परिवारबाटै यौन हिंसा !

  • श्रीमान् विदेश गएको छ महिना मात्र भएको छ तर, परिवारका सदस्यहरूले अनेक लान्छना लगाउन थालेका छन् । सबैभन्दा अप्ठयारो त ससुराको व्यवहार छ । सानो छोरालाई स्तनपान गराइरहेको बेलामा सुटुक्क कोठामा पस्छन्, विरामी भएर उपचार गर्न जाँदा मलाई किन नलगेको जस्ता कुरा गर्छन् ।
  • विवाह भएको १७ वर्ष भयो । दुई छोरी र एक छोरा छन् । श्रीमान बाहिर जान थालेको पनि १२ वर्ष भइसक्यो तर, आजसम्म पनि पैसा पठाउने बेलामा विभिन्न शंकालु कुरा गर्नुहुन्छ । गाउँका मान्छेलाई फोन गरेर मेरोबारे सोधीखोजी गर्नुहुन्छ ।
  • श्रीमान वैदेशिक रोजगारमा जान थालेको १२ वर्ष भयो । छोरा जनकपुरको बोर्डिङ स्कुलमा पढ्छ । छोरालाई भेट्न, श्रीमानले पठाएको पैसा झिक्न भदैलाई साथी लैजाने गरेको छु । तर मान्छेहरु आफ्नै भदैसँग अनैतिक सम्बन्ध रहेको भनी श्रीमानलाई कुरा लगाइदिँदा रहेछन् । यसले बेलाबेला विवाद हुन्छ ।

माथि उल्लेखित घटना पुरुषहरु बैदेशिक रोजगारीमा जाँदा श्रीमतीहरुले भोग्नुपरेको हिंसाका प्रतिनिधिमूलक घटना मात्र हुन् । पुरुष रोजगारीमा जाँदा उनका श्रीमतीहरुले चुकाउनु परेको सामाजिक मूल्यमध्ये यौन हिंसा डरलाग्दो छ ।

महिलाहरु सामाजिक, आर्थिक, घरेलु मात्र होइन, यौन हिंसाको समेत शिकार हुने गरेका छन् ।

‘बैदेशिक रोजगारीमा गएका पुरुषहरुको श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य’बारे मानवअधिकार आयोगले गरेको अध्ययन अनुसार बहुसंख्यक बुहारी बर्ग सामाजिक हिंसामा पर्न गरेका छन् । जसको श्रीमान विवाह गरे लगतै वैदेशिक रोजगारीमा जान्छन्, उनीहरुलाई छिमेकी र परिवारकै सदस्यले विभिन्न लान्छना लगाउने, जिस्क्याउने र श्रीमानलाई नकारात्मक कुरा लगाइदिने गरेका छन् ।

यस्तै पीडित हुन् सिन्धुपाल्चोककी जसु लामा ।

उनको विवाह हुने बित्तिकै श्रीमान् विदेश गएका थिए । भूकम्प जाँदा पनि श्रीमान घरमा नभएकाले सबै काम आफैंले गर्नु पर्‍यो । परिवारका सदस्यले भने अनेक आरोप लगाउँथे । ‘एक पटक मुर्छा परेर ढलेछु । भाइले हस्पिटल लग्यो’ उनले अध्ययन टोलीसँग भनेकी छन्, डाक्टरले कमजोरी भन्यो तर परिवारका सदस्यले अवैध गर्भपतन गरी भन्ने आरोप लगाएर घरमा हेँला गर्न थाले ।’

अध्ययनका क्रममा सिन्धुपाल्चोकमा भएको सामूहिक छलफलमा सहभागीले ‘फलानोको श्रीमान वैदेशिक रोजगारीमा गएको छ । उसको श्रीमतीलाई फकाएर घुमाउन लैजान पर्‍यो भन्ने दाउमा एउटा समूह नै छ’ भनेको रिपोर्टमा उल्लेख छ ।

सिन्धुपाल्चोकका साथै धनुषामा गरिएको अध्ययनले सानै उमेरमा विवाह भएका केटीहरु, जसको श्रीमान बैदेशिक रोजगारीमा छन्, उनीहरु बढी सामाजिक हिंसाको शिकार हुने गरेको पाइएको छ । एउटै महिलालाई विभिन्न प्रकारका हिंसा पनि हुने गरेको पाइएको छ’ आयोगको रिपोर्टमा उल्लेख छ ।

  • श्रीमान् विदेशमै रहँदा घरमा छुट्टियौं । ऋण पनि हाम्रो भागमा परेको थियो । अब भाइ आउँदैन, भाइको भागको ऋण तिरेर उसको भागमा परेको ३ धुर जमिन पनि आफ्नो नाममा गर भनेर ससुराले भन्नुभयो । जग्गा पनि जेठाजुको नाम गरेर मलाई र छोरीलाई घरबाट निकालिदिए । ३ वर्ष भइसक्यो श्रीमान्ले फोन नगरेको पनि । माइतीमा आउँदा पनि दाइ भाउजुले गाली गर्छन् । भाइले जहाँ देख्यो, त्यही पिट्छ । मेरै कारणले दाइ, भाइ र भाउजुहरूले बचन लाउन थालेपछि आमाले पनि घरबाट निस्केर जा भन्नुभयो ।

पुरुष विदेशमा रहँदा श्रीमतीहरुमाथि हुने अर्को हिंसा आर्थिक हो । एकातिर श्रीमानले पैसा नपठाउने र अर्कातिर घर परिवारले खान–लाउन नदिने समस्या छ ।

सबै जना एउटै टहराको फरक विस्तारामा सुत्ने गर्थे । साँझमा प्रायः रक्सी खाएर आउने ससुरा मसँग शारीरिक सम्बन्ध राख्न खोज्थे । ससुराले आफ्नै विस्तारमा कपडा खोलेर शारीरिक सम्बन्धका लागि मेरो विस्तारामा आएका रहेछन् । मैले थाहा पाएपछि गालामा एक चड्कन लगाएर धकेलेँ ।

अध्ययनमा सहभागी महिलाहरुका अनुसार धेरैजसो महिलाका श्रीमानले उनीहरुकै नाममा पैसा पठाउने गरेको बताए । केहीले भने नागरिकता नभएका कारण अरुकै नामा पैसा आउने गरेको बताए । जसको नाममा पैसा आएपछि आफ्नो आवश्यकताअनुसार खर्च गर्न नपाउने उनीहरुको गुनासो छ । एक जनाले विदेशमा कमाउने र खाने मुुख धेरै हुने भएकाले ऋण चुक्ता गर्न मुस्लिक भएको अध्ययनमा सहभागीहरु अधिकांश महिलाले बताएका छन् ।

कतिपयको अवस्था भने फरक छ । विवाह गरेर विदेश गएका श्रीमानले सुरुमा आफ्नो नाममा पैसा नपठाउने तर बच्चा जन्मिएपछि भने पठाउने गरेको अनुभव छ ।

पुरुष वैदेशिक रोजगारीमा जाँदा श्रीमतीहरु यौन हिंसामा पनि गरेका छन्, त्यो पनि बाहिरी पुरुषभन्दा घरकै संरक्षक भनिने ससुरा, जेठाजु, देवर जस्ताबाट ।

कतिसम्म भने श्रीमान वैदेशिक रोजगारीमा जाने बेला नै उसको कोसँग शारिरीक सम्बन्ध बनाउने भन्ने तय भएको हुने अनौठा तथ्यसमेत फेला परेको छ । यसमा श्रीमान श्रीमती दुबैको सहमति हुन्छ । श्रीमानी नहुँदाका लागि राखिने शारीरिक सम्बन्ध घर परिवारभित्रकै परिवारका सदस्यहरुको हुने गरेको पाइएको भन्दै प्रतिवेदनमा भनिएको छ, ‘जो महिला यस विषयमा आवाज उठाउँछन्, उनीहरुलाई विभिन्न लान्छना लगाउने गरेको पाइएको छ ।’

अधिवक्ता रेखा झाले धनुषामा परिवारभित्रै हुने यौन हिंसाको उच्च रहेको बताइन् । उनले भनेकी छन्, ‘जब एक युवती विवाह गरेर जान्छिन्, त्यसै पनि उनी जेठाजु, देवर तथा ससुराको नजरमा परिसकेकी हुन्छिन् ।’ श्रीमान वैदेशिक रोजगरीमा गएपछि उनी पारिवारिक यौन हिंसाको उच्च जोखिममा पर्ने उनले बतान् ।

  • श्रीमान् वैदेशिक रोजगारीमा गएपछि परिवारमा नन्द, देवर अनि ४१ वर्षका ससुरा थिए । वैशाख २०७२ को भूकम्पले घर भत्किएपछि हाम्रो परिवार टहरामा बस्न थाल्यौं । सबै जना एउटै टहराको फरक विस्तारामा सुत्ने गर्थे । साँझमा प्रायः रक्सी खाएर आउने ससुरा मसँग शारीरिक सम्बन्ध राख्न खोज्थे । ससुराले आफ्नै विस्तारमा कपडा खोलेर शारीरिक सम्बन्धका लागि मेरो विस्तारामा आएका रहेछन् । मैले थाहा पाएपछि गालामा एक चड्कन लगाएर धकेले । ‘तँलाई शारीरिक सम्बन्धकै लागि बिहे गरेर ल्याएको हो, जसले शारीरिक सम्बन्ध राखे पनि के भयो’ भनेर जबरजस्ती गर्न लाग्नुभयो । त्यहाँबाट भाग्दा पछ्याएपछि तर्साउन काठ उचालेर हान्दा उहाँ भुइँमा ढल्नुभयो । त्यसको तीन दिनपछि मृत्यु भयो । ससुरा मारेको आरोपमा मलाई जिल्ला प्रहरी कार्यलयमा सानो बच्चासहित थुनेर राखिएको छ ।

मानवअधिकार आयोगको अध्ययन प्रतिवेदनका अनुसार श्रीमान वैदेशिक रोजगारीमा रहँदा घर परिवारबाटै यौन हिंसा भोग्नेहरुको पीडा आंकलन गर्नै नसकिने अवस्था छ ।

श्रीमान रोजगारीका लागि गएपछि श्रीमतीहरुले घरेलु हिंसा पनि बढी नै भोग्नु परेको पाइएको छ । खासगरी सासु र बुहारीको असमझदारीकै कारण हिंसा हुनेछ ।

सासुले बुहारीको लवाइखवाइ, हिँडडुल र साथीहरुसँगको मेलमिलाप तथा दाइजो जस्ता विषयमा विवाद गर्ने गरेका छन् । यही क्रममा सासुले हातपात गर्दा प्रतिकार गरे चरित्रहीनको संज्ञा दिने गरेको अध्ययनमा सहभागीहरुले बताएका छन् । घरेलु हिंसाका कारण कतिपयले त घर नै छाडेर हिड्ने गरेको पाइएको छ ।

बैदेशिक रोजगारमा रहँदा श्रीमतीका बारेमा घरपरिवार र छरछिमेकी तथा आफन्तले नकारात्मक र भ्रामक कुरा सुनाइदिँदा पतिपत्नीबीच विश्वासको संकट आउने ध्ययनका क्रममा सहभागीहरूले बताएका छन् । कतिपय श्रीमानले घरपरिवार, छरछिमेकीसँग श्रीमतीको चियोचर्चो गरिदिन आग्रह गर्ने समस्या पनि छ ।

मानवअधिकार आयोगले बैदेशिक रोजगारमा रहेका युवाका श्रीमतीहरूले चुकाउनुपरेको सामाजिक मूल्यबारे राष्ट्रव्यापी अध्ययन गरी आवश्यक कदम चाल्न सरकारलाई सिफारिस गरेको छ । साथै महिलाहरू सामाजिक, तथा पारिवारिक बहिष्कारसम्मको स्थितिमा रहेको भन्दै आवश्यक कदम चाल्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment