+
+

प्रभु-पेमार्फत अस्पतालको टिकट मोबाइलबाटै काट्न सकिने

ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते १७:५६

२२ साउन, काठमाडौं । सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने वित्तिकै धेरैले लामो लाइन बसेर टिकट काट्न गर्नुपर्ने दुःख सम्झन्छन् । तर, अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । प्रभु-पे मोबाइल वालेट मार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात सिभिल अस्पतालबाट भएको छ ।

टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ। अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन्।

मेडीफ्लो सोलुसनले प्रभु-पे मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था सुरु गर्ने सिभिल अस्पताल पहिलो भएको हो । मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल बालेट सँगको सहकार्यमा सुरु गरेको छ ।

अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु-पे मोवाइल वालेट मार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दीर्घराज आरसीले जानकारी दिए ।

‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेका छौं। अब मोबाइल एपबाट नै काट्न सकिने भएपछि बिरामीले घरबाट नै टिकट काट्न सक्ने भएका छन् ।’

कार्यकारी निर्देशक डा आरसीका अनुसार अस्पतालमा हाल दैनिक ८०० सय बिरामी ओपिडीमा आउने गरेका छन् ।

अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे मोबाइल बालेट ब्ााट यो सेवा लिने ग्राहकको लागि बिशेष सहुलियतको ब्यबस्था गरिने प्रभु टेक्नोलोजीका जीेएम खुशल रेग्मीले जानकारी दिए।

प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ । हस्पिटल बटन भित्र प्रवेश गरेपछि निजामती अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ ।

सिभिल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ । त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्नुपर्छ । त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ ।

यो प्रक्रियापछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको मूल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ ।

अस्पतालले हाललाई जनरल ओपिडी टिकट काट्नका लागि अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म राखेको छ । तर, यो समय पनि क्रमशः आवश्यकता अनुसार बढाउँदै लैजाने कार्यकारी निर्देशक डा. आरसीले जानकारी दिए ।

उनका अनुसार पेइङ क्लिनिक तर्फ मोबाइल मार्फत टिकट काट्नका लागि भने हाललाई अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षणण गर्ने दिन बिहान १० बजेसम्मका लागि तोकिएको छ। यो समयपनि विस्तारै बढाउँदै लैजाने कार्यकारी निर्देशक आरसीले बताए ।

यसका साथै अस्पतालले अस्पताल  हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’ बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको छ ।

यसगरी, अस्पतालले ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने व्यवस्था समेत सुरु गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?