Comments Add Comment

स्वास्थ्य जीवनको तीन कडीः आहार, विहार र विचार

हामी निरोगी जीवन बाँच्न चाहन्छौं । सधै तन्दुरुस्त र जवान रहन चाहन्छौं । कुनैपनि रोग, कष्ट आदिबाट टाढा रहन चाहन्छौं । अस्पताल धाउनुपर्ने, औषधी खानुपर्ने, शल्यक्रिया गर्नुपर्ने, उपचार गर्नुपर्ने यावत् प्रक्रियाबाट मुक्त रहन चाहन्छौं । हामी चाहन्छौं, जीवनभर अस्पताल जान नपरोस् । औषधी सेवन गर्न नपरोस् । प्राकृतिक रुपमै निरोगी र तन्दुरुस्त जीवन विताउन पाइयोस् ।

अतः कसरी पाउने यस किसिमको जीवन ?

यसका लागि तीन वटा कडी छ, आहार, विहार र विचार । अर्थात उचित आहार, उचित विहार र उचित विचार ।

अहिले हामी स्वास्थ्यप्रति निकै सचेत भएका छौं । कस्तो खानपान गर्दा शरीर निरोगी हुन्छ भनेर खोजी गर्न थालेका छौं । आफ्नो छाकमा पोषिलो एवं सन्तुलित खानपान मिलाउने प्रयास गर्न थालेका छौं । यसैगरी व्यायाम, योग आदि गर्न थालेका छौं । यसरी हामी रोगमुक्त जीवन बाँच्ने प्रयासमा छौं । यद्यपि बेलाबखत हामी रोगको चपेटामा पर्ने गर्छौं । आखिर के कुरामा तालमेल मिलिरहेको छैन ?

खासमा समग्र शरीरलाई हामीले शुद्धिकरण गर्नुपर्छ । खानपानको माध्यामबाट, शारीरिक व्यायामको माध्यामबाट, सोंच-चिन्तनको माध्यामबाट । मूलत यही तीन कुरामा हामी संयमित एवं अनुशासित भए पुग्छ ।

उचित आहार

उचित आहार अर्थात सही खानपान । शरीरका लागि उचित खानपानको छनौट गर्नुपर्छ । उचित खानपान भनेको शरीरलाई आवश्यक पोषक तत्व भएको, सन्तुलित र सुपाच्य । खानाकै कारण शरीर निरोगी र जवान हुन्छ भने खानाकै कारण रोगको भण्डार पनि बन्छ । उचित खानपान औषधी सामान हो । अनुचित खानपान विष समान हो ।

खाना कस्तो खाने भन्ने कुरा हाम्रो पूर्खाहरुले तय गरिदिएकै छन् । आफु बसेको वातावरण, भूगोल अनुसार स्थानिय उत्पादन हाम्रो शरीरका लागि उपयोगी हुन्छ । साथै मौसमी खानेकुरा आवश्यक हुन्छ ।

खानपानको दैनिक तालिका पनि निर्धारण गरिएको छ । बिहानको खाना पर्याप्त र त्यसपछि क्रमस खानाको मात्रा घटाउँदै जानुपर्छ । सुत्नुभन्दा तीन घण्टा अघि भोजन गरेको उत्तम हुन्छ ।

यसरी उचित आहार अर्थात सही खानपान गरियो भने शरीर निरोगी र जवान रहन्छ । शरीरभित्र अनावश्यक विकार जम्न पाउँदैन ।

उचित विहार

विहार अर्थात यात्रा । यसलाई दिनचर्या भनेर बुझ्न सकिन्छ । उचित दिनचर्या भनेको हाम्रो उठ्ने, बस्ने, खाने, खेल्ने, काम गर्ने, विश्राम गर्ने उचित तालिका हो ।

कतिबेला उठ्ने, कतिबेला सुत्ने, कतिबेला खाने, कतिबेला विश्राम गर्ने भनेर प्रकृतिले पनि तय गरिदिएको छ । प्रकृतिको लय अनुसार हामीले दिनचर्यालाई डोहोर्‍याउन सकेमा जीवन सुखी हुन्छ ।

विहान सूर्योदयअघि उठ्ने, योग, ध्यान, व्यायाम गर्ने, सही समयमा खानपान गर्ने, उचित शारीरिक श्रम गर्ने, सही समयमा विश्राम गर्ने । यस किसिमको सन्तुलित, अनुशासित जीवनशैलीले हामीलाई सुखी राख्छ । खुसी राख्छ ।

उचित विचार

खानपान र दिनचर्या मात्र अनुशासित भएर पुग्दैन । शरीर शुद्धिकरण गरेर मात्र पुग्दैन । मन पनि शुद्ध हुनुपर्छ । मन प्रफुल्ल, शान्त र सकारात्मक हुनुपर्छ । यसका लागि खराब विचार त्याग्नुपर्छ । दम्भ, इष्र्य, लोभ, कामवासना, अहंकार जस्ता विकार त्याग्नुपर्छ । जब हामी यी विकार हटाउँछौं, मनमा करुणा, प्रेम, श्रद्धा, कृतज्ञता पलाउँछ ।

सकारात्मक सोंच र चिन्तनले हामीलाई मानसिक रुपमा स्वस्थ्य बनाउँछ । मन र शरीरवीच आपसमा गहिरो सम्बन्ध हुन्छ । त्यसैले शरीरसँगै मनलाई शुद्धिकरण गरेर हामी निरोगी जीवन पाउन सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment