Comments Add Comment

गोलीकाण्ड मच्चिएको क्षेत्रमा ट्रम्प, एल पासोमा विरोध

२३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोलीकाण्ड मच्चिएको   एल पासो र ओहायोको डेटन पुगेर त्यसका घाइते तथा आफन्तसँग भेटघाट गरेका छन् ।

शनिबार बन्दुकधारीले अन्धाधुन्ध गोली वर्षाउँदा एल पासोमा २२ र डेटनमा ९ जनाको ज्यान गएको थियो । घटनामा कैयन घाइते छन् । दुवै घटना हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका मानिसहरूलाई लक्षित गरेर घटाइएको बताइएको छ ।

बीबीसीका अनुसार, ट्रम्प सुरुमा ९ जनाको ज्यान लिनेगरी गोलीकाण्ड मच्चिएको डेटन पुगेका छन् । त्यहाँ उनले गोली लागेर घाइते भएकाहरूलाई भेटेर ढाडस दिएका थिए ।

डेटनपछि ट्रम्प सोझै एल पासो गएका थिए । त्यहाँ आफूले विश्वकै ठूला व्यक्तिसँग भेटघाट गरेको ट्रम्पले ट्विटरमार्फत जनाएका छन् ।

तर, त्यहाँका हिस्पानिक समुदायले ट्रम्पको विरोध गरेका छन् ।

हिस्पानिक विभेदमा पर्दै आएको अमेरिकी समूदाय हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंमामाथि समेत हिस्पानिकप्रति घृणाभाव फैलाएको आरोप लाग्दै आएको छ । यही कारण गोलीकाण्ड प्रभावित क्षेत्रको अवलोकन गर्न एल पासो जाने ट्रम्पको योजनाको विरोध भएको छ ।

एल पासोको प्रतिनिधित्व गर्ने विपक्षी डेमोक्र्याटिक पार्टीकी कंग्रेस सदस्य भेरोनिका एस्कोबारले नै उनीसँग भेट गर्न इन्कार गरेको बीबीसीले जनाएको छ । ट्रम्पको जातीवादी तथा घृणा र द्वेषजनित शब्दले आफ्नो समूदायमाथि पीडा पुगेको भन्दै उनले नभेट्ने घोषणा गरेकी हुन् ।

तर, ट्रम्पले गोलीकाण्ड भएका क्षेत्रको अवलोकन गर्नुअघि गोरा र अरू कुनै प्रकारको सर्वोच्चताको पक्षमा आफू नरहेको प्रष्ट पारेका छन् ।

अनुसन्धान हुँदै

दुवै गोलीकाण्डका घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । यद्यपि, अहिलेसम्म प्रहरीले घटनाबारे ठोस निष्कर्ष निकाल्न सकेको छैन । तर उसले गोली चलाउने व्यक्तिले कुनै हिंसात्मक सिद्धान्तको अनुसरण गरिरहेको तथ्य भेटेको जिकर गरेको छ ।

मानसिक रोगका कारण पछिल्ला गोलीकाण्ड भएको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको छ । बुधबार मात्रै ट्रम्पले बिरामी मान्छेहरूका हातमा बन्दुक देख्न नसक्ने बताएका थिए । यद्यपि, यसमा स्वास्थ्यकर्मीहरू असहमत देखिएका छन् । पछिल्ला गोलीकाण्डमा ट्रम्पले दाबी गरेजस्तो मानसिक रोग जिम्मेवार नरहेको स्वास्थ्यकर्मीहरूको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment