Comments Add Comment

कांग्रेस-कम्युनिष्टको गुटबन्दीले गणतन्त्र कमजोर

संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन जसरी सबै दलवीच सहकार्य भयो, त्यसैगरी गणतन्त्रलाई संस्थागत गर्दै देशमा सुशासन, शान्तिसुरक्षा र समृद्धिको प्रत्याभूति गर्न सबै आन्दोलनकारी दलहरू लागेेको देखिँदैन । आखिर किन ? यसको मूल कारण हरेक राजनीतिक दलको नेतृत्वगण गुटगत स्वार्थभन्दा माथि उठन नसक्नु र व्यक्तिगत स्वार्थमा रुमलिनु नै हो ।

राष्ट्रको सर्वोपरि हित एवं लोक कल्याणकारी राज्यको स्थापना, संविधानको भावनाअनुसार समाजवादमा आधारित भएर समृद्धि राष्ट्र निर्माण गर्ने अभियान दलहरुले पूरा गरेको देखिँदैन । संविधानमा उल्लेखित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, शुसासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न राजनीतिक दलहरुले किन सकेनन् ? अहिले जनताले प्रश्न गरिरहेका छन् ।

हामीले गणेशमान सिंहको नेतृत्वमा संयुक्त वाममोर्चासहित गरी ०४६ सालको जनआन्दोलनमा ३० वर्षे पञ्चायत व्यवस्थाको अन्त्य गरेको गौरवमय इतिहास ताजै छ । ०६२/०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठक ०६५ जेष्ठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको हो । गणतन्त्र आएको करिव १२ वर्ष भैसकेको छ । तर, यसको संस्थागत विकासको रथलाई हामीले अगाडि लैजान सकेका छैनौं ।

जनआन्दोलनका उपलब्धिहरू संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र मिश्रति निर्वाचन प्रणाली हामीले अवलम्वन त गर्‍यौं । तर, यसको कार्यान्वयन गर्न अझै सकेनौं । शासन पद्दति फेरियो, राजाको स्थानमा हामीले राष्ट्रपतिको स्थापना गर्‍यौं । तर, राष्ट्रपतिको भूमिका अगाडि लैजाने कुरामा हामी चुकेका छौं । आखिर किन नेपालमा गणतन्त्रको स्थापनापछि विकासका क्रियाकलाप र सेवा प्रभावकारी भएनन् ?

गणतन्त्रको पहिलो आधार सार्वभौमसत्ता जनतामा निहीत हुनु हो । मुलुकमा शान्ति स्थापना भई समृद्धि आउनु हो । तर, गणतन्त्रको वास्तविक सुन्दरताको अनुभूति जनताले गर्न पाएका छैनन् । यसका लागि राजनीतिक दलका नेता नै वढी जिम्मेवार छन् । किनभने, नेपालमा गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी पनि राजनीतिक दलका नेताहरूको नै हो । उनैैको हातमा अधिकारको डाडु-पन्यू छ । त्यसैले आ-आफ्नो गुटगत तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका लागि कार्य गर्ने जिम्मेवारी पनि उनीहरुकै हो ।

गणतन्त्रको स्थापना गरी संघीय संरचनाअनुरुप तीनै तहको सरकार क्रियाशील छ । तर, नेपाली जनताले देखेको मीठो सपनाअनुरुप सरकार हिँडिरहेको छैन । लोकतान्त्रिक मूल्य, मान्यता र आचरण पनि सरकारले देखाउन सकेको छैन । सर्वभौमसत्ता सम्पन्न जनताले सिंहदरवारको अधिकार गाउँघरमा पुगेको अनुभूति पाएका छैनन् ।तर, देशमा अहिले अनियमितता र भष्टाचार बढेको छ । प्रजातान्त्रिक सरकारका हरेक क्रियाकलाप पारदर्शी र जवाफादेही हुन्छ र त्यहाँ भ्रष्ट्राचार मौलाउन सक्दैन भन्ने सोच पनि आज विफल भएको छ । लोकतान्त्रिक गणतन्त्रमा जनताका आकांक्षा भाँडिएका छन् ।

गणतन्त्रमा चरित्र र प्रणालीको शासन हुनुपर्छ । वीपी कोइरालाले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताले मात्र देश बलियो हुन्छ र त्यो लोकतन्त्रमा मात्र सम्भव छ भनेका थिए । अहिले देशमा विकास र समृद्धि ल्याउने कुरामा सबै दलका वीचमा एकापसमा सहमति, सहकार्य र सहिष्णुताको वातावरण बन्नुपर्ने थियो । तर, यति ठूलो परिवर्तनको नेतृत्व गर्ने सहयात्री दलका वीचमा राष्ट्र र नेपाली जनतालाई समृद्ध बनाउने कुरामा न्यूनतम सहमति र सहकार्य खोई ?

आज विशेष गरेर नेपालको राजनीतिमा वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई अवलम्वन गर्ने नेपाली कांग्रेस, मार्क्सवाद र लेनिनवादलाई मूल आदर्श मान्ने नेकपा दुई मुख्य विम्व हुन् । दुईतिहाई सरकारको नेतृत्वमा प्रधानमन्त्री केपी ओली छन् भने प्रतिपक्षी दलको नेतृत्वमा शेरबहादुर देउवा छन् । यी दुवै सत्तापक्ष र प्रतिपक्षको पहिलो भूमिका राष्ट्रको सार्वभौमसत्ता, अण्डता र स्वाधिनताको रक्षा गर्दै समाजवाद उन्मुख भई जनताको सर्वोपरी हितमा लाग्नु नै हो । तर, त्यस्तोखालको अनुभूति नेपाली जनताले अझै गर्न पाएका छैनन् ।हरेक राजनीतिक दलको नेतृत्व गणले देशको परिस्थिति परिवर्तन, जनचाहाना अनुरुप अगाडि बढ्न सकेमा मात्र लोकतान्त्रिक व्यवस्था वलियो हुन सक्छ । तर, आज त्यो हुन सकेको छैन । अहिलेसम्म जुनसुकै राजनीतिक दल सरकारमा रहँदा पनि लोकतान्त्रिक भावनालाई बिर्सेर दलगत स्वार्थमा लाग्ने गरेको पाइन्छ ।

सरकारको नेतृत्वमा केपी ओली छन् । प्रतिपक्षमा शेरबहादुर देउवा छन् । सत्तापक्ष र प्रतिपक्ष दुवै जनताको सर्वोपरी हितमा लाग्नु पर्नेमा त्यस्तो अनुभूति जनताले गर्न पाएका छैनन्

निर्वाचन दलको अग्नि परीक्षा हो, कहिले जित हुन्छ, कहिले हार । जनता कसैका पनि हुँदैनन् । सरकारमा रहँदा जुन दलले जनताका लागि राम्रो काम गर्‍यो, त्यसैका लागि जनताले मतदान गर्छन् राम्रो काम नगरे जनता जनार्दनले सजायँ दिएको पाइन्छ ।

नेपालको राजनीतिमा विचारधाराको आधारमा हेर्ने हो भने विशेषः गरी तीनवटा विचारधारा- प्रजातन्त्रवादी, वामपन्थी र दक्षिणपन्थी आदि हुन् । पृष्ठभूमि हेर्ने हो भने लोकतान्त्रिक विचारधाराको पुञ्ज नेपाली कांग्रेस मानिन्छ । कांग्रेसले वि.सं. २००३ सालदेखि नै जनताको सार्वभौसत्ता, राष्ट्रियता र स्वधिनताको रक्षाको लागि अहम भूमिका खेलेको छ । आज तत्कालीन एमाले र माओवादी एकीकरण भई एकीकृत कम्युनिष्ट पार्टी बनेको छ । चाहे कांग्रेस हुन्, चाहे कम्युनिष्ट, दुबै दलहरु यही संघीय लोकतान्त्रिक गणतन्त्रको जगबाट नै निर्वाचित भएर शासन सत्ता र प्रतिपक्षमा छन् ।

तर, अहम प्रश्न यी दुवै जनआन्दोलबाट आएका पार्टीका नेताहरुको नेतृत्व शैली, आन्तरिक लोकतन्त्र, सांगठनिक संरचना, कार्यकर्ता र नेता जनतासँगकोे सम्बन्धलाई हेर्दा त्यति लोकतान्त्रीकरण नभएको एवं राष्ट्र बनाउने संकल्पलाई भन्दा दलीय स्वार्थ र गुटवन्दीमा लागेको देखिन्छ ।

नेपाली कांग्रेस वीपी कोइरालाले गरेको नेतृत्व गरेको पार्टी वीपी, मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, सुशील कोइराला, शेरबहादुर देउवासम्म आइपुग्दा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुटमा परिणत हँुदै आपसी मेलमिलाप एवं भावनात्मक एकतामा बाँधिएको देखिँदैन । एकचोटि विभाजनको चोट भोगिसकेर फेरि एकीकरण भएको कांग्रेस ६०/४० को भागवण्डामा रुमलिँदा पार्टीको संगठन कमजोर हुँदै आन्तरिक लोकतन्त्र पनि बलियो हुन सकेको छैन ।

एकपटक ठूलो पराजय भोगिसकेको कांग्रेसले अझै पनि हण्डर खाएर निर्वाचनबाट पराजित भएको पीडालाई शक्तिमा रुपान्तरण गर्न सकेन भने जनताको एकमात्र बलियो पार्टी बन्न सक्ला ? त्यसैले कांग्रेसभित्र अहिलेको गायत्री मन्त्र भनेको वृहत एकता, सहकार्य र सहमति नै हो र हुनुपर्छ । कांग्रेस सुधि्रएन भने संघीय लोकतान्त्रिक गणतन्त्रबाट जनताले गरेका अपेक्षा अवश्य कमजोर हुन्छ ।

यस्तै, सत्ताधारी दल नेकपा कम्युनिष्ट पार्टीको विगतको इतिहासलाई हेर्ने हो भने तत्कालीन एमालेका पुष्पलालले नेतृत्व गरेको पार्टीमा मनमोहन अधिकारी, मदन भण्डारी, झलनाथ खनाल र माधवकुमार नेपाल हुँदै केपी ओलीसम्म आइपुग्दा आपसी झगडा र गुटवन्दी अहिले पनि कायम छ । दुवै पार्टी एकीकरण भई वनेको नेकपामा प्रधानमन्त्री केपी ओली र प्रचण्डवीच मनमुटाव र खिचातानी सकिएको छैन । आज एकीकृत हुँदा र दुई तिहाई सरकारको नेतृत्व गर्दा पनि नेकपा नेताहरुले राष्ट्र र जनताको बारेमा सोच्न सकेका छैनन् ।

यी सबै घटनाक्रमलाई हेर्ने हो भने पार्टीका नेताहरु आफ्नो व्यक्तिगत स्वार्थका कारण फुट्ने अनि जनता र राष्ट्रको पक्षमा ध्यान दिनुभन्दा पनि आ-आफ्नै गुट बनाउने कार्यमा लिप्त हुने प्रवृत्तिले गर्दा नै यस्तो भएको हो । दुईवटा ठूला पार्टी नेपाली कांग्रेस नेकपा कम्युनिष्ट पार्टी दुबैका बारेमा सूक्ष्म अध्ययन गर्ने हो भने सांगठनिक संरचना निर्माण गर्ने, पार्टीलाई वैचारिकरुपले अगाडि लैजाने, कार्यकर्ताको मूल्याङ्कन गरेर पदीय जिम्मेवारी बाडफाँट गर्ने वा राष्ट्रिय मुद्दामा राष्ट्रिय बहस गर्नेभन्दा पनि आफ्नै आन्तरिक किचलो र गुटवन्दीमा लागेको देखिन्छ ।

लोकतन्त्रमा गुट, समूह हुन्छन् । तर, गुट विचार र नीतिका आधारमा बन्नुपर्छ त्यो आजसम्म नेपालको राजनीतिमा कुनै पनि दलभित्र पनि देखिएको छैन । त्यसैले राष्ट्र हितको सवाल, कुटनीतिक सवाल, विपतका बेला जनतालाई राहत दिने सवाल, जनताको जनसवाल, जनजीवीका, जनसरोकार र समृद्ध जनता बनाउने मुद्दामा चाहे सत्ता पक्ष होस वा प्रतिपक्ष, एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता हो ।

राष्ट्र बनाउने अठोट, गहनतम जिम्मेवारी र सबैमा एकताको समभावले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गरी अगाडि लैजान सकिन्छ । यसका लागि पार्टीभित्र भावनात्मक एकता हुनुपर्छ । गुटगत स्वार्थको त्याग गर्नुपर्छ । व्यक्तिवादी चरित्रको अन्त्य गर्दै हरेक विषयलाई राजनीतिक चश्माले हेर्ने प्रवृत्ति हटाइनुर्छ । जनता र राष्ट्रप्रति उत्तरदायी र जवाफदायी नहुने हुनुपर्छ । आफ्नै पार्टीभित्र आफ्नै नेताहरुलाई गालीगलौच गर्ने प्रवृत्ति हट्नुपर्छ । कार्यकर्ताको मूल्याङ्कनअनुरुप पदीय जिम्मेवारी र भूमिका दिइनुपर्छ । वुद्धि विचार र विवेकभन्दा पैसालाई महत्व दिने प्रवृत्ति हट्नुपर्छ । राष्ट्रिय मुद्दाहरुमा अन्य पार्टीसँग सहकार्य गर्ने बानीको विकास गर्नुपर्छ ।

यी कुराहरुमा सबै दलले सुधार गरेर अगाडि बढेमा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्छ । राजनीतिक दल र त्यस दललाई नेतृत्व गर्ने नेताहरु तब मात्र सफल हुन्छन्, जब उनीहरुले जनभावना अनुसार शक्ति र सत्तामा रहँदा जनताका लागि कार्य गर्छन् । जनभावनालाई संस्थागत गर्न नसक्दा लोकतन्त्र कमजोर हुनका साथै अधिनायकवादी निरंकुशताले जन्म लिन्छ । संसदीय व्यवस्थामा राजनीतिक दलको सक्रिय भूमिकाविना लोकतान्त्रिक शासन फस्टाउन सक्दैन ।

(कांग्रेस नेतृ संग्रौला प्रतिनिधिसभा सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment