Comments Add Comment

विवाहपछि पनि आमाको प्यारो बन्ने छोरा

जसरी छोरी जवान भएपछि विवाह गरेर ज्वाइँको हातमा सुम्पिनु पर्छ, त्यसैगरी छोरा पनि जवान भएपछि बुहारीलाई सुम्पिनु पर्छ । छोरी विवाह भएर अर्काको घर जान्छे, छोरा आफ्नो आँखा अगाडि हुन्छ, फरक त्यति हो ।

के विवाह भएपछि आफ्नो छोरा र छोरीको मायामा कमी आउछ र ? वास्तवमा विवाहपछि पनि छोरा-छोरीको माया उस्तै हुन्छ । अझ कति छोराहरु त विवाहपछि पनि हरेक कुराको लागि आमामा नै निर्भर हुन्छन् ।

यस्तो स्थितिमा नयाँ श्रीमतीले आमा र छोराबीचको प्रेमलाई खुल्ला मनले स्वागत गर्नु बुद्धिमानी हुन्छ । आफ्नो मनमा यी सम्बन्धलाई लिएर कुनै प्रकारको गुनासो राख्नु हुँदैन । आमा-छोराको मायाप्रेमको सम्बन्ध सहज र स्वाभाविक नै हो । यस्तो स्थितिमा श्रीमतीले बिस्तारै उनीहरुको बीचमा आफ्नो ठाउँ बनाउनु पर्छ ।

यदि तपाईंको श्रीमानको पनि आमाप्रति निर्भर हुने र प्रगाढ प्रेम छ भने त्यसलाई समस्याको रुपमा लिएर माइतीमा गएर गुनासो गर्नु हुँदैन । त्यस्तै श्रीमानले पनि विवाहपछि श्रीमतीको भावनालाई बुझ्नु पर्छ । आमा र श्रीमतीबीच सन्तुलन राख्ने कोसिस गर्नुपर्छ ।

श्रीमतीलाई पनि केही कुराको जिम्मेदारी दिनु पर्छ । आमासँगै श्रीमतीलाई पनि माया-प्रेमका साथै आफूप्रतिको अधिकार प्रयोग गर्न दिनुपर्छ ।

यसो गर्दा श्रीमतीलाई तपाईंको मायाप्रतिको प्रेममा कुनै गुनासो हुँदैन । तर यदि तपाईंले विवाहपछि पनि पहिलेझैं हरेक कुराको लागि आमामा निर्भर हुने, श्रीमतीले केही गर्न खोज्दा आमाले गरेको जस्तो भएन भनेर तुलना गर्ने, आफ्ना सबै आवश्यक कुराका लागि आमाको मुख हेर्ने जस्ता क्रियाकलाप गर्नु भयो भने तपाईंको श्रीमतीको मनमा आमाप्रति प्रतिस्पर्धाको भावना जागृत हुन थाल्छ ।

त्यस्तो आमाले पनि छोराको विवाहपछि बुहारीको भावना बुझ्नु पर्छ । आफूले पूरा गर्दै आएको छोराका आवश्यकता अब बुहारीलाई सुम्पिनु पर्छ । नजानेको र थाहा नभएको कुरा आफूसँगै राखेर सिकाउने गर्नु पर्छ । यसको साथै छोरालाई पनि अब उनको हरेक आवश्यक कुराहरुको लागि आफ्नै श्रीमतीलाई भन्नु पर्छ भन्ने सम्झाउनु पर्छ । यसले सासु-बुहारीको सम्बन्धलाई बलियो बनाउँछ ।

सहज र स्वाभाविक

श्रीमानको जीवनमा आमाको धेरै भूमिका देखेर कतिपय श्रीमतीलाई नराम्रो लाग्नु स्वाभाविक नै हो । आफ्नो श्रीमानका हरेक साना-ठूला जिम्मेदारीहरु पूरा गर्ने चाहाना सबै श्रीमतीको हुन्छ । विवाहको शुरुआती दिनमा एक-अर्काको स-सानो काम गर्दा असिम सुख प्राप्ति हुन्छ ।

तर विवाहपछि पनि आफ्नो श्रीमान् आमाप्रति नै निर्भर हुँदा हरेक श्रीमतीको मन दुख्नु स्वाभाविक नै हो । तर बाल्य अवस्थादेखि नै छोरा-छोरी आमामा निर्भर हुन्छन् । युवा अवस्थामा आएपछि पनि उनीहरुको झुकाव आमातिर नै बढी हुन्छ । आमाले सबै आवश्यक कुराहरु पूरा गरिदिने भएकाले आमा सर्वेसर्वा  हुन्छिन् । आमासँग आफ्ना हरेक कुरा शेयर गर्ने भएकाले आमा र छोराबीचको प्रेम सहज र स्वाभाविक हुन्छ । त्यसैले बुहारीले यसलाई अन्यथा सोच्नु हुँदैन र रिसाउनु पनि हुँदैन । यदि तपाईं आमा-छोरा खुशी रहुन् र उनीहरुको बीचमा आफ्नो पनि ठाउँ सुरक्षित होस् भन्ने चाहानु हुन्छ भने आफूलाई पनि यही वातावरणमा ढाल्ने कोसिस गर्नुहोस् ।

श्रीमतीको व्यवहार

प्रायः पुरुषहरु आफ्नो काम आफैं गर्दैनन् । उनीहरु आफ्ना हरेक साना-ठूला कामको लागि आमालाई नै खोज्छन् । पुरुषको जीवनमा विवाहले ठूलो परिवर्तन ल्याउँछ । यो नयाँ जीवनमा उसलाई पाइलैपिच्छे आफ्नो चिर-परिचित सहयोगीको आवश्यकता हुन्छ । २५ देखि ३० वर्षसम्म आफ्ना हरेक साना-ठूला आवश्यकताका लागि जुन महिलाप्रति निर्भर थिए, अचानक उनीबाट टाढा हुन गाह्रो हुन्छ । श्रीमतीसँग खुल्न पनि केही समय लाग्नु स्वाभाविक नै हो ।

जति अधिकारले उसले आफ्नो आमासँग हरेक कामका लागि भन्न सक्छन्, त्यति श्रीमतीसँग सक्दैन । त्यसैले श्रीमान्लाई केही समय श्रीमतीलाई काम गराउन हिचकिचाहट हुनु स्वाभाविक नै हो । त्यसैले आफ्नो श्रीमानलाई केही समय दिनु आवश्यक हुन्छ ।

प्रायः सासूहरुले विवाहपछि छोराको निजी कार्यबाट स्वयं अलग हुन्छन् र सबै जिम्मेदारीहरु बुहारीलाई सुम्पिदिन्छन् । तर कतिपय सासुहरु छोराको जिम्मेदारी तुरुन्त छोड्न मानसिक रुपले तयार हुँदैनन् । त्यस्तो स्थितिमा बुहारीले सासुलाई केही समय दिनु पर्छ । त्यसो गर्दा सासु र बुहारीको सम्बन्ध सुमधुर रहन्छ ।

प्राय आमाहरु आफ्ना छोराप्रति धेरै हक जनाउने गर्छन् । कुनै न कुनै बहाना बनाएर आफूसँगै राख्न चाहन्छन् । आमाहरुमा छोराको विवाह भएपछि छोरा बुहारीको हुन्छ र आफूलाई वास्ता गर्दैन भन्ने त्रास रहन्छ । त्यसैले बुहारीले सासुको यो त्रासलाई हटाउनु आवश्यक छ । सबै परिवार सुख-दुःखमा एक अर्काको पूरक हुन् भन्ने कुराको महसुस गराउनु पर्छ ।

अधिकांश घरहरुमा छोराको तलबलाई लिएर समस्या उत्पन्न हुन्छ । विवाह अगाडि छोराले आफ्नो सबै कमाइ आमालाई दिने गरेकोमा विवाहपछि श्रीमतीले श्रीमानको सबै कमाइमा केवल आफ्नो मात्र अधिकार छ भन्ने सोच्छिन् । त्यस्तो सोच्नु गलत हो । श्रीमानको कमाइमा श्रीमतीसँगै आमाको पनि उत्तिकै अधिकार हुन्छ । यदि घरको सबै खर्च एकै ठाउँबाट हुन्छ भने श्रीमतीले त्यस्ता कुरामा आपत्ति जनाउनु गलत कुरा हो ।

घर बाहिर जाँदा आमाको स्वीकृति लिनु र आमालाई सूचित गर्नु अत्यन्त आवश्यक कुरा हो । त्यसैले तपाईंको श्रीमानले घर बाहिर जाँदा आमालाई सुचित गर्छ भने यसलाई अन्यथा लिनु हुँदैन ।

आमा-छोराको प्रेमप्रति अनावश्यक रोकटोक गर्नुभन्दा श्रीमानलाई मायाले सम्झाउनु पर्छ । यदि आमा-छोराको सम्बन्धप्रति व्यंग्य गर्ने, नराम्रो शब्द प्रयोग गर्ने जस्ता कुराले तपाईंको श्रीमान् तपाईंप्रति नकारात्मक हुन सक्छन् र त्यही काम गर्न थाल्छन्, जसले तपाईंलाई रिस उठ्छ ।

यदि श्रीमान्ले धेरै आमा आमा मात्र गर्छ भने तपाई पनि सासुको प्यारी बन्ने प्रयास गर्नु पर्छ । तपाईको श्रीमान् हरेक कुरामा आमालाई महत्व दिन्छ भने तपाई पनि हरेक कुरा गर्नु अगाडि सासुसंग सल्लाह लिनु पर्छ ।

विवाहपछि पनि तपाईंको सासु छोराको निजी काम गर्न चाहन्छिन् भने गर्न दिनुहोस्, किनभने पहिला यी सबै उनको दिनचर्याको एउटा अंग रहने गर्थ्यो । सासुलाई दिनचर्या परिवर्तन गर्न केही समय दिनुहोस्, रोकटोक गरेर आफ्नो सम्बन्ध विगार्ने गल्ति नगर्नुहोस् ।

श्रीमानको भूमिका

सासु र बुहारीबीचको कडी छोरा हुन्छन् । त्यसैले छोराको भूमिका सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । हरेक सम्बन्धको महत्व बुझ्ने र हरेक सम्बन्धमा कसैलाई पनि गुनासो गर्ने मौका नदिने पुरुषलाई समझदार मानिन्छ ।

श्रीमानले विस्तारै-विस्तारै घरव्यवहारको जिम्मेदारी आमाको हातबाट श्रीमतीको हातमा सुम्पिदिनु पर्छ । तर यो काम माया र होशियारीकासाथ गर्नुपर्छ । छोराले आमालाई सम्झाउनु पर्छ । अब आमाले आराम गर्नु पर्छ, आमाले अहिलेसम्म धेरै गर्नुभयो जस्ता कुरा गरेर आमाको मन जित्नु पर्छ ।

आमाको भूमिका

विवाहपछि छोरामा बुहारीको अधिकार बढी हुन्छ भन्ने कुरा सबै आमाहरुले मनबाट स्वीकार गरिसकेका हुन्छन् । त्यसैले हरेक आमाले विवाहपछि छोरासँग सम्बन्धित हरेक निजी जिम्मेदारी बुहारीलाई सुम्पिदिनु पर्छ । बुहारीलाई छोराको हरेक आवश्यकता र रुचिको बारेमा सम्झाउनु पर्छ । त्यस्तै छोराले पहिलेजस्तै विवाहपछि पनि सबै कमाइ आफूलाई दिन्छ भने केही कमाई श्रीमतीलाई पनि दिन लगाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment