Comments Add Comment

हवाई इन्धनको मूल्य घटाउन पर्यटन मन्त्रालयको पहल

२३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य अधिक भएको पाइएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको समीक्षा गरेको छ । मन्त्रालयले मूल्य घटाउने प्रस्ताव राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा लैजाने निर्णयसमेत गरेको छ ।

पर्यटन मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले उक्त निर्णय गरेको हो । अघिल्लो बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बैठकको अध्यक्षता गरेका थिए । उनी १५ साउनमा मन्त्रालय नेतृत्वमा आएका हुन् ।

वायुसेवा सञ्चालन गर्दा कूल लागतको कम्तिमा ३० प्रतिशत हवाई इन्धनका लागि खर्च हुन्छ । अर्कोतर्फ विश्वव्यापी रुपमा हवाई यातायातको क्षेत्रमा वायुसेवा कम्पनीबीच तिब्र प्रतिस्पर्धा रहेको भन्दै मन्त्रालयले हवाई इन्धनको मूल्य घटाउनुपर्ने प्रस्ताव गरेको हो । आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भएका कारण यो विषयलाई राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा लैजाने निर्णय भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

‘हामीले हवाई उद्योगको तर्फबाट यो प्रस्ताव गरेका हौं,’ उनले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय मूल्यमा नै इन्धन भर्न पाउनु पर्छ भन्ने हाम्रो प्रस्ताव छ ।’

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक प्रधानमन्त्रीको अध्यक्षतामा बस्छ । राष्ट्रिय योजना आयोग यो बैठकको आयोजक हुन्छ । आयोगको अध्यक्ष प्रधानमन्त्री रहने प्रावधान रहेको छ । विभिन्न मन्त्रालयबाट आएका एजेण्डालाई छलफल गरी समस्या समाधानको पहल यस बैठकमा हुने गर्छ ।

मूल्य कति फरक पर्छ ?

अहिले नेपाल आयल निगमले नेपालमा हवाई इन्धनको मूल्य आन्तरिक जहाजका लागि ९४.५० रुपैयाँ प्रतिलिटर तोकेको छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजका लागि भने १०५० अमेरिकी डलर÷किलोलिटर मूल्य तोकिएको छ । नेपाल आयल निगमका अनुसार निगमलाई हवाई इन्धनमा नाफा छ । हवाई इन्धनको बिक्रिमा निगमले प्रतिलिटर १५ रुपैयाँ नाफा राख्ने गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

निगमले नेपालमा बिक्री गर्ने हवाई इन्धन भारतको नयाँ दिल्लीस्थित विमानस्थलमा खरीद ग¥यो भने वायुसेवा कम्पनीलाई प्रतिकिलोलिटर झण्डै १७ हजार ५ सय ४ रुपैयाँ सस्तो पर्न जान्छ । भारतीय आयल कर्पोरेशनका अनुसार दिल्लीमा हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ६३ हजार २ सय ९५ भारतीय रुपैयाँ रहेको छ । नेपाल आयल निगमको पाक्षिक विवरण अुनसार हवाई इन्धनबाट निगमले १ असार देखि १६ असारको बीचमा ४८ करोड ४३ लाख रुपैयाँ नाफा गरेको छ ।

इन्धनको मूल्य घट्दा विजनेस बढ्छ

वायुसेवा कम्पनीहरुका अनुसार इन्धनको मूल्य घ्टदा नेपाल आयल निगम र वायुसेवा कम्पनी दुवैको विजनेस बढ्छ । किनकी प्रतिलिटरमै ठूलो मूल्य फरक पर्ने भएकाले कतिपय वायुसेवा कम्पनीका जहाजले ‘टू–वे’ कै लागि पुग्ने गरी इन्धन बोकेर आएका हुन्छन् ।

इन्धनको मूल्य समान भएमा जहाजले इन्धनको मात्र घटाएर कार्गो बढाउन सक्छ । यात्रु आकर्षित गर्न व्यागेजको तौलमा पनि बढी सुविधा दिन सक्छ । नेपालभित्रका वायुसेवाले पनि विदेशी वायुसेवा कम्पनीसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment