Comments Add Comment

गुल्मीका पहिरो पीडित भन्छन् : घर फर्किए त्यहीँ मरिएला

२३ साउन, बुटवल । गुल्मीको सत्यवती गाउँपालिका ३ कुरहका ६७ बर्षीय चित्रहादुर सिञ्जाली मगर करिब ७ घण्टा पहिरोमा च्यापिए । टाउकोबाहेक शरीरको बाँकी भाग पहिरोले पुरिएको थियो ।

६ साउनदेखि परेको भीषण बर्षाले ७ गते बिहान ५ बजेतिर उनको घरगोठ, बस्तुभाउ सबै बगायो । उनी भने भाग्यले बाँचे । विहान ५ बजेदेखि उनलाई पहिरोले थिचेको थियो । दिउँसो ११ बजेपछि मात्रै उनलाई प्रहरी र स्थानीयवासिन्दाको सक्रियतामा जिवितै उद्धार गरिएको थियो ।

पहिरो खस्ने समयमा परिवारका अन्य सदस्य भने घर बाहिर रहेकोले बाँच्न सफल भएको उनले सुनाए । पहिरोमा परी सोही दिन सत्यवतीमा १३ जनाले ज्यान गुमाए ।

हाल उनीहरु स्थानीय धर्म माविमा आश्रय लिएर बसेका छन् । त्यहीँ भेटिएका सिञ्जालीले भने, ‘म त मरेर बाँचेको हुम्, भाग्य बलियो रहेछ, पहिरोले च्यापेर शरीरका सबै हर नचल्ने भा छ, जीउ करकरी दुखिरहन्छ, हातखुट्टा सुन्निएर थला परेको छु ।’

उनले भक्कानिँदै अगाडि भने ‘दुख गरेर बनाएको घर पहिरोले सोहोर्‍यो, अब कहाँ जाने, घर फर्कने मन त छ, तर फेरि यस्तै पानी परे भने त्यही मरिन्छ ।’

आफूहरुले ज्यानबाहेक सबैकुरा गुमाएको ६२ बर्षीया शिवकली थापा बताउँछिन् । ‘घरको माया त सन्तानको जस्तै लाग्छ, तर मनले जान खोजे पनि त्यहाँ फर्किन सकिएन’ उनले भनिन् ।

शिवकली थापा

पहिरो खसेको दिन सम्झँदै शिवकलीले भनिन्, ‘खेतीपातीसहित खेती योग्य जमिन सबै बगायो । गाईवस्तुसहितको गोठसमेत बगायो । केही बाँकी छैन ।’

स्थानीय दिलमाया तरामुलाई पनि घर फर्किने कुरा सम्झिँदा डर लाग्छ । स्थानीय हरिकला विकको घरबाहेक केही बाँकी छैन । बारी र बगर एउटै भएको उनले सुनाइन् । ‘घरमा बस्न सकिन्न, अब कहाँ बस्ने ? छिटो भन्दा छिटो सरकारले व्यवस्था गरिदेओस्’ उनले भनिन् ।

पहिरोले घरवारविहीन बनाएपछि स्कूलमा बस्दै आएका स्थानीय खगी सिञ्जालीले घरबासको व्यवस्था तत्काल मिलाउन सरकारसंग आग्रह गरे ।

६७ बर्षका नेत्रलाल राहदीले सरकारले सुरक्षित स्थानमा राखेर जनताको जीउधनको सुरक्षा गर्नुपर्ने बताए । नेत्रलालका अनुसार यसअघि २०१८ सालयता यस्तै ठूलो पवहिरो जाँदा ३ जनाको मृत्यु भएको थियो ।

पहिरोग्रस्त क्षेत्रमा प्राविधिक टोलीले अध्ययन गरेर मात्रै विस्थापितलाई फर्काउने व्यवस्था मिलाउनुपर्ने स्थानीय युवक सुमन रानाले बताए । घर क्षति नभएकाहरुमा पनि पहिरोको त्रास रहेको उनको भनाइ छ ।

विस्थापितलाई घर फर्काउनुअघि पहिरो प्रभावित क्षेत्रमा भुगर्भविदको टोलीले अध्ययन गर्ने वडाअध्यक्ष रुकबहादुर रानाले बताए । संघ र प्रदेश सरकारसंग समन्वय गरेर मात्रै विस्थापित परिवारलाई कहाँ लैजाने भन्ने निर्णय गरिने उनको भनाइ छ ।

पहिरोले सो क्षेत्रमा ३०७ घर प्रभावित भएका छन् । वडा ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा गरी १ हजार २६० जना प्रभावित भएका छन् । पहिरोले १७ वटा घर, ६१ वटा गोठ र ३६ वटा शौचालयमा पूर्ण क्षति भएको छ

त्यस्तै १८ वटा घर, २३ वटा गोठ, १८ ओटा शौचालय आंशिक क्षति भएका छन् । पहिरोमा परी २८ वटा भैँसी, १ वटा गाई, ६७ वटा बाख्रा, २१९ वटा कुखुरा र १९ वटा बंगुरसमेत मरेको गाउँपालिकाले जनाएको छ ।

सुरक्षित आवास बनाउने तयारी गर्दैछौं : मन्त्री बराल

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सत्यवतीका पहिरो पीडितलाई सरकारले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने बताए । गाउँपालिकाको पहिरो ग्रस्त क्षेत्रमा भूगर्भविद्को टोलीले अध्ययन गरिसकेको छ । भूगर्भविद राजेन्द्र आचार्यले ठूलोलुम्पेकमा पहिरोको जोखिम बढी रहेको बताए ।

एउटै प्रकृतिको चट्टान, पहाडको झुकावलगायतका कारणले सो ठाउँमा पहिरोको बढी जोखिम रहेको उनले बताए । ठाडो उकालो पहाडी क्षेत्र रहेको वस्तीमा विकासको नाममा अवैज्ञानिक ढंगले डोजर प्रयोग गरी सडक खन्दा सिंदी क्षेत्रमा बढी क्षति पुगेको आचार्यले बताए ।

पहिरो प्रभावितलाई १६ स्थानमा अस्थायी शिविर

पहिरो प्रभावितलाई गाउँका विभिन्न १६ स्थानमा अस्थायी शिविर राखिएको छ । तत्कालका लागि विद्यालयमा शिविर स्थापना गरी प्रभावितलाई व्यवस्थापन गरिएको छ । तर विद्यालय साउन २६ गते देखि सञ्चालनमा आउने भएकाले विस्थापितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती बढेको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस कक्षा ४ मा पाक्छ दैनिक ६० किलो चामल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment