Comments Add Comment

जंगलको काखमा सवा अर्बको लगानीमा अत्याधुनिक रिसोर्ट

२४ साउन, पोखरा । ‘अहो तपाईं त पोखराजस्तै शितल मान्छे,’ काठमाडौंका साथीले पोखराका व्यवसायी ध्रुव थापालाई भन्दै थिए । थापा लायन्स क्लब अफ २ सय २५ बि वान गर्भनर थिए । कार्यक्रममा काठमाडौं भइरहन्थे । काठमाडौंका धेरै जनाले पोखराको प्रशंसामात्रै गर्थेनन्, पोखरासँग जोडिनै चाहन्थे ।

जोडिने कसरी त ? ‘पोखरा भन्नेबित्तिकै पर्यटकीय नगरी भइहाल्यो । पर्यटनकै क्षेत्रमा केही गनुपर्छ भन्ने कुरा हुन्थ्यो,’ ध्रुवले भने । एक कार्यक्रमपछि धुर्वलाई काठमाडौंका व्यवसायी सुनीलभक्त श्रेष्ठले प्रस्ताव गरे, ‘पोखरामा रिसोर्ट खोलौं ।’

जलविद्युत, बैंकमा लगानी गरिरहेका काठमाडौं प्लाजा, आरबी कम्लेक्स, चलाइरहेका सुनीललाई पोखराले तानिरहन्थ्यो । सुनीललाई पनि काठमाडौंमा होटल चलाइरहेका उत्तम कायस्थ र ट्राभल चलाइरहेका सिवेश श्रेष्ठले पोखरामा रिसोर्ट चलाउने प्रस्ताव गरे ।

सुनील, उत्तम, सिवेसको पोखरामा रिसोर्ट खोल्ने चाहनामा पोखराका व्यवसायी धु्रुव जोडिए । उनीहरुसँगै अरु ४ जना टोलीमा थपिए । ८ लगानीकर्ताको समूहले सुनीलभक्तलाई अध्यक्ष चुन्यो ।

‘यस्तो ठाउँमा लगानी गरौं, जुन पोखरा नै होस् तर ठाउँ र वातावरण गाउँजस्तै होस् भन्ने सल्लाह भयो,’ व्यवसायी सुनीलभक्तले भने, ‘उत्तम, सिवेस, ध्रुवहरु जग्गाको खोजीमा लाग्नुभयो ।’

पोखरा–२१ दोबिल्ला । जग्गा भनेजस्तै भेटियो । पोखराभित्रैको एक छेउ तर कतै सहर बाहिर गएजस्तो । २ तिर हरिया डाँडा पाखा । सामुन्ने लामो रेन्जमा देखिने अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमशृंखला । चराहरुको चिरबिर आवाज । खोला कलकल बगेको पानीको संगीत । अनि यस्तो ठाउँमा एउटा सुविधासम्पन्न रिसोर्ट थपिएपछि त पुगिहाल्यो । अनि निश्कर्ष निक्ल्योे, ‘यही ठाउँ नै रिसोर्टको लागि उपयुक्त हो ।’

‘रिसोर्टका लागि जग्गा पनि भनेजति नै पाइयो । ७२ रोपनी जग्गा किनेर काम थालिहाल्यौं,’ व्यवसायी सुनीलभक्तले अनलाइनखबरसँग सुनाए । रिसोर्टको नाम दिइयो, माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा ।

रिसोर्टका लगानीकर्ता काठमाडौंका होटलमा अनुभव प्राप्त गरेका व्यक्तिदेखि पोखराका अटो क्षेत्रका व्यवसायीसम्म छन् ।

‘फरक फरक क्षेत्रमा व्यवसाय गरिरहेका ८ जना व्यवसायीले लगानी गरेका छौं,’ होटलका निर्देशक ध्रुव थापाले भने, ‘रिसोर्ट पूर्ण रुपमा सञ्चालनमा आएको छ ।’ रिसोर्ट व्यावसायिक, रोयल घराना तथा सम्पन्न परिकारका नेपाली र विदेशी पर्यटकको आकर्षण बन्ने निर्देशक थापाको भनाइ छ । रिसोर्टको एउटा कोठा नेपालीका लागि न्यूनतम १० हजार रुपैयाँ पर्छ भने विदेशीका लागि १ सय ५० डलर ।

पोखरा बजारदेखि नजिकै तर कुनै गाउँजस्तो मौसम र वातावरणमा अहिले लक्जिरियस् रिसोर्ट सञ्चालनमा आएको छ । दोबिल्ला नजिकै रहीचौरमा १ अर्ब १५ करोड रुपैयाँको लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।

रिसोर्ट पूर्ण रुपमा सञ्चालनमा नआउँदै पूर्व राजा ज्ञानेन्द्र शाहको रोजाइमा पर्‍यो । गएको मंसिरमा पोखरा आउँदा त्यही ज्ञानेन्द्र हप्तादिन बढी बसेपछि रिसोर्ट चर्चामा आयो ।

रिसोर्टका एकातर्फ जंगल र अर्कोतर्फ खोला छ । रिसोर्टमा ६४ कोठा छन् । ज्ञानेन्द्र परिवारले त्यहीबेला २४ वटा कोठा बुक गरेर बसेका थिए ।

रिसोर्टमा ठूला साना गरी ४ वटा हल छन् । आन्तरिक तथा बाह्य उच्च वर्गका पर्यटकलाई लक्षित गरी यो रिसोर्ट सञ्चालनमा ल्याइएको हो । यो रिसोर्ट पोखरा विमानस्थलदेखि ७ किलोमिटर दूरीमा छ ।

एकान्तमा बस्न र जंगलको समेत स्वाद लिन चाहनेका लागि रिसोर्ट उपयुक्त रहेको लगानीकर्ता बताउँछन् । रिसोर्टमा ६ वटा ब्लक र ६ वटा भिल्ला छन् । एउटा प्रेसिडेन्टल रुम र एउटा स्वीट छ । अरु सबै सुपर डिलक्स रुम छन् ।

स्विमिङ पुल र बारको सुविधासहित रिसोर्टको आकर्षक डिजाइन छ । रिसोर्टबाट हिमालको फूट हिलसहित धौलागिरि, अन्नपूर्णदेखि मनासलु हिमालसम्म दृश्यावलोकन गर्न सकिन्छ । कोठा र बाथरुमबाटै हिमाली दृश्य देख्न सकिने यो रिसोर्टको डिजाइन गरिएको छ ।

रिसोर्टमा फुट ट्रयाक र साइकल ट्रयाकसमेत छ । रिसोर्टले स्वदेशी र विदेशी पर्यटकको ध्यान खिच्न सफल भएको निर्देशक थापाले बताए । ‘यहाँको सेवासुविधा तथा सौन्दर्यले नै पर्यटकलाई आकर्षित गरिरहेको छ,’ उनले भने ।

केही समयपछि रिसोर्टमा लगानी बढाएर १ सय कोठा पु¥याउने उनीहरुको योजना छ । रिसोर्ट पोखरा विमानस्थलबाट ७ किलोमिटर र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ किलोमिटर दुरीमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment