
१ साउन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका तथा आसपासका क्षेत्रहरूमा नेपाल टेलिकमको नेटवर्कमा लामो समयदेखि समस्या देखिंदै आएको छ ।
विशेषगरी इस्मा गाउँपालिका वडानम्बर–१ र २ का विभिन्न बस्तीहरूमा टेलिकमको सेवा अवरुद्धजस्तै हुँदा स्थानीय नागरिकहरू सञ्चार सेवाबाट बञ्चित हुन थालेका छन् ।
इस्माा गाउँपालिका वडानम्बर–१ का गुरुवा, राहले, झरना, छिनुवा, हुलाकेलगायतका तल्लो भेगका बस्तीहरूमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ । यस्तै, वडा नम्बर–२ का छल्दि टारी, पालुखा, सिल्तुङ, स्याला, रातचौर, रातडाँडा लगायत क्षेत्रहरूमा पनि फोन सम्पर्क गर्न गाह्रो भइरहेको स्थानीयले गुनासो गरेका छन् ।
त्यसैगरी, रेसुङ्गा नगरपालिका–४ स्थित पनाघाट क्षेत्रका बासिन्दाहरूले पनि लामो समयदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर हुँदै गएको जनाएका छन् ।
नेटवर्क समस्या हुँदा मोबाइलबाट फोन सम्पर्क, इन्टरनेट प्रयोग, एसएमएस सेवालगायतका नियमित कार्यमा समेत बाधा पुगिरहेको इस्मा–२ छल्दीका राजन कुँवरले बताए ।
उनले फोन गर्दा समयमै नलाग्ने फोन लागि हालेमा राम्रोसँग कुराकानी नहुने बताए । सामान्य कुराकानी गर्न वा आपत्कालीन अवस्थामा समेत मोबाइल प्रयोग गर्न नसक्दा अत्यावश्यक सेवामा असर परिरहेको कुँवरले बताए । यसबारेमा पटकपटक गुनासो गर्दै आए पनि कतैबाट पनि समस्या समाधान नभएको स्थानीयको भनाइ छ ।
नेपाल टेलिकमको नेटवर्क समस्याले इस्मा–२ को वडा कार्यालयमै फोन नलाग्ने समस्या छ । जसले गर्दा सेवा लिन जाने सेवाग्रही समेत समस्यामा छन् ।
नेपाल टेलिकमको नेटवर्क समस्याले अहिलेको समयमा बाँदर धपाउन वारी पारि सम्पर्क समेत गर्न नपाएको इस्मा–१ का ऋषिराम खत्रीले बताए ।
फोन नलाग्ने समस्याले गर्दा बाँदर धपाउन बोलाउन नपाउँदा दैनिक समस्या हुँदै आएको खत्रीले बताए । उनले अरु समयमा भन्दा अत्यावश्यक कामकै लागि मोबाइल फोन प्रयोग गर्न नपाएको गुनासो गरे ।
नेटवर्क सुधारतर्फ नेपाल टेलिकमको ध्यानाकर्षण गराइएको इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्यले बताए ।
उनले अघिल्लो वर्ष नै नेपाल टेलिकिमका प्राविधिकले स्थलगत अनुमन समेत गरेर नेवटर्क सुधार्नका निम्ति छलफल भएपनि काम भने नभएको बताए । जसले गर्दा स्थानीयलाई समस्या हुँदै आएको आचार्यले बताए ।
यसक्षेत्रमा नजिकै नेपाल टेलिकिमको टावर नभएकाले खोला क्षेत्रमा नेटवर्कको समस्या हुने गरेको छ ।
नेपाल टेलिकमले यस क्षेत्रलाई समेट्ने गरी टावर राख्ने गरी अध्ययन गरेर गए पनि अहिलेसम्म त्यसको व्यवस्था हुन नसकेको वडाअध्यक्ष आचार्यले बताए ।
टेलिकमका प्राविधिकले पालुखा क्षेत्रमा टावर राख्ने गरी अध्ययन समेत गरेर गएका थिए ।
प्रतिक्रिया 4