Comments Add Comment

धरहरा पुनर्निमाण : बाटोको विवाद मिले पनि काम सुस्त

२४ साउन, काठमाडौं । ०७२ वैशाखको भूकम्पले ढालेको भोलिपल्टदेखि नै यसलाई उठाउने चर्चा सुरु भयो । तर, काम थाल्नै चार वर्ष लाग्यो ।

सात महिना अगाडिदेखि धरहराको पुनर्निमाण सुरु भएको छ । तर, कामको गति सन्तोषजनक छैन । दुई वर्षमा सक्ने लक्ष्य राखिएको काम अहिलेसम्म २० प्रतिशत मात्र सकिएको पुननिर्माण प्राधिकरण बताउँछ । निर्धारित लक्ष्यमा सक्नलाई कामको गति ब्यापक बनाउनुपर्ने हुन्छ ।

यतिबेला धरहराको चारैतर्फ घेराबन्दी गरेर धमाधम काम भइरहेको छ । करिब दुई दर्जन कामदार धरहरामा खटिएका छन् । प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरे विभिन्न व्यावधानका कारण यसअघि धरहरा निर्माणमा ढिलाइ भए अब कामले गति लिने बताउँछन् ।

‘अहिले २० प्रतिशत काम सम्पन्न भएको छ, यसलाई सन्तोषजनक भन्न मिल्दैन’ अनलाइनखबरसँग घिमिरेले भने, ‘निर्माणका क्रममा केही समस्याहरु आए । खासगरी एउटा बाटोको विषयले केही समय अलमल भयो । अब त्यस्तो हुँदैन ।’

केही समयअघि स्थानीय वासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि धरहरा निर्माणको काम अबरुद्ध भएको थियो । पैदलमार्ग खुलाउनुपर्ने र सुन्धारा संरक्षण गर्नुपर्नेलगायतका माग राख्दै स्थानीयले धरहरा निर्माण क्षेत्रमै पुगेर विरोध जनाएका थिए । धरहरा निर्माण आयोजनाले स्थानीयको अवरोधका कारण काम गर्ने वातावरण नभएको भन्दै केही दिन काम रोकेको थियो ।

स्थानीयले विगत ६ महिनायता आफूहरुलाई आवतजावतका लागि सहज बनाउन पैदलमार्ग खुलाउनुपर्ने माग गर्दै आएका थिए । उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दबाव दिँदै आएका छन् ।

धराहरा निर्माण समितिले माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल गरेको थियो । सहप्रवक्ता घिमिरेका अनुसार स्थानीयले उठाउँदै आएको माग प्रधानमन्त्री कार्यालयले सम्बोधन गर्ने भएको छ । छलफलमा काठमाडौं मलको बीचका पैदल मार्ग खुलाउने निर्णय भएको उनले जानकारी दिए ।

‘बाटो खोल्ने प्रक्रिया अघि बढिसकेका कारण अब अवरोध छैन, काम द्रुत गतिमा अघि बढ्छ,’ उनले भने । समयमै निर्माण सम्पन्न हुनेमा पनि आफू विश्वस्त रहेको उनले बताए ।

प्राधिकरणले जीआईईटिसी–रमण जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ कारेडमा धरहरा निर्माणको जिम्मा पाएको छ । उक्त कम्पनी हालै कालोसूचीमा परे पनि त्यसले धरहराको कामलाई असर नगर्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

‘ठेकेदार कालोसूचीमा परे पनि पहिल्यै पाएको ठेक्का अघि बढाउन अवरोध छैन,’ एक अधिकारीले भने ।

धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गरिँदै आएको छ । केही निर्माण उपकरण राख्न र अस्थायी संरचना बनाएर श्रमिकहरु पनि बस्नका लागि नेपाली सेनाले टुँडिखेल प्रयोगको अनुमति दिएको छ ।

यस्तो बन्नेछ नयाँ धरहरा

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइनमा तर भित्र सुविधासम्पन्न हुनेगरी बनाउन लागेको हो ।

२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनछ । वि.सं. १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

धरहरामा भर्‍याङ चढेर होइन, लिफ्टबाट उक्लिन सकिने छ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ ।

प्राधिकरणका अनुसार धरहराको पुरानो बाहिरी स्वरुप परिवर्तन गरिने छैन । पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागिएको प्राधिकरणले बताएको छ ।

धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्रि भाग आधुनिक हुनेछ । अहिले भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखी नयाँ धरहरा बनाइने छ । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छन् । बेसमेन्टमा तल–माथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्रीसमेत हुने प्राधिकरणले जनाएको छ ।

तस्वीर र भिडियो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment