Comments Add Comment

सामाजिक सञ्जालमा बालबच्चाः गोपनियताबारे पनि सोच्ने कि ?

बच्चालाई कसरी हुर्काउने ? अहिले धेरै अभिभावकले मन्थन गर्ने कुरा हो । आफ्नो बच्चा स्वस्थ्य, सुखी, सफल, सबल, सक्षम, सभ्य, सुशिक्षित होस् भन्ने हेतुले अभिभावकहरु आफ्नो बच्चाको हुर्काइ-बढाईमा निकै ध्यान दिन थालेका छन् । विगतमा यस्तो थिएन ।

छोराछोरी आफै हुर्कन्थे । एकै बुवाआमाका थेरै छोराछोरी हुन्थे । उनीहरु आपसमा खेल्दै, मिल्दै, झगडा गर्दै, रमाउँदै हुर्कन्थे । न छोराछोरीको निगरानी आमाबुवाले गर्नुपथ्र्यो, न उनीहरुप्रति धेरै चिन्तित नै हुनुपथ्र्यो । बालबच्चा हुर्काउनका लागि हजुरआमा, हजुरबा, काका, काकी सबै संलग्न हुन्थे ।

अहिले भने धेरैजसो परिवार टुक्रिएको छ । दम्पतीहरु संयुक्त परिवारबाट अलग भएका छन् । उनीहरुले एउटा मात्र सन्तान हुर्काइरहेका छन् । यस्तो अवस्थामा उनीहरु बालबच्चाको स्यहारसुसारमा आफै संलग्न छन् । साथसाथै बालबच्चाको भविष्यप्रति अरु बढी सर्तक र चिन्तित पनि छन् ।

त्यही कारण उनीहरु छोराछोरीलाई कसरी हुर्काउने, कसरी बढाउने भन्ने कुरा खोजिरहेका हुन्छन् ।  यसरी छोराछोरी हुर्काउने क्रममा अभिभावकले अनेक किसिमका शैली अपनाइरहेका पाइन्छन् । कोही अभिभावक छोराछोरीलाई अति नै निगरानीमा हुर्काइरहेका हुन्छन् भने कोही अभिभावक अलि स्वतन्त्रपूर्वक ढंगले हुर्काइरहेका हुन्छन् । कसैले छोराछोरीलाई घरबाहिर खेल्न प्रेरित गरिरहेका हुन्छन् भने कसैले घरबाट बाहिर निस्कन दिइरहेका हुँदैनन् ।

अर्थात प्यारेन्टिङको प्रवृत्तिपनि थरीथरीका छन् । अभिभावकको यस्तै प्रवृत्तिलाई विभिन्न नाम दिन थालिएको छ । जस्तै, हेलिकप्टर प्यारेन्टिङ, टाइगर प्यारेन्टिङ, अथोरिटेरियन प्यारेन्टिङ । यी सबै प्यारेन्टिङको फाइदा होलान, बेफाइदा पनि ।

अहिले यस्तै प्यारेन्टिङको नयाँ शैली भित्रिएको छ, शेरेन्टिङ ।

पछिल्लो समय प्रविधिको विस्तार र सहज पहुँचसँगै यस किसिमको प्यारेन्टिङ प्रवृत्ति बढ्दो छ । के हो त शेयरटिङ ?

वास्तवमा बालबच्चाको हरेकजसो गतिविधि वा आफ्ना बालबच्चासँग जोडिएको हरेक कुरा सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । कसैले टिकटकमार्फत, कसैले युट्युबमार्फत । आफ्ना बालबच्चाको गतिविधिलाई कैद गर्ने र त्यसलाई साझेदार गर्ने अभिभावक बढ्दो छ ।

आफ्ना बालबच्चाले कुनै उपलब्धी हासिल गरेमा उनीहरु त्यसलाई सामाजिक सञ्जालमा साझेदार गर्छन् । आफ्ना बालबच्चाले कुनै रमाइलो हर्कत गरेमा पनि उनीहरु सामाजिक सञ्जालमा त्यसलाई फैलाउँछन् । कतिपय अभिभावक त यस्ता छन् जो बालबच्चाको हरेकजसो कुरा जस्तो कि बोलेको, खेलेको, हिँडेको, नखरा पारेको, रोएको सबै सामाजिक सञ्जालमा साझेदार गरिरहेका हुन्छन् ।

एक हिसाबले त यसलाई सही मान्न सकिएला । उपलब्ध प्रविधिको प्रयोग भनेर पनि बुझ्न सकिएला । वा समय अनुसार बालबच्चालाई एक्सपोज गराउने मेलो पनि मानिएला ।

यद्यपी अबोध बालबालिका, जसलाई आफ्नो गतिविधि कहाँ, कसले हेर्छ भन्ने थाहा छैन, उनीहरुको भिडियो, फोटो आदि सामाजिक सञ्जालमा शेयर गर्नु त्यती हितकार मानिदैन ।

यसले बच्चाको निजत्वको हनन हुने मात्र होइन, सुरक्षा खतरा पनि बढाइदिन्छ ।

तत्काल त यस किसिमको गतिविधि आमाबुवालाई रमाइलो लाग्छ । आफ्ना बालबच्चाको गतिविधि साझेदार गरेर त्यसबारे चर्चा गर्नु पनि आनन्द आउन सक्छ । साथै छोराछोरीबारे आफन्त, इष्टमित्र, चिनेजानेकाले थाहा पाउँछन् ।

यद्यपि यसले दीर्घकालिन अवस्थामा चाहि समस्या निम्त्याउन सक्छ । सानै उमेरामा छोराछोरीको सम्पूर्ण कुरा सामाजिक सञ्जालमा खुलाइदिदा पछि कतिपय अवस्थामा उनीहरुले संकट झेल्नुपर्ने पनि हुनसक्छ । किनभने उनीहरुको गोपनियता सबै बाहिरिएको हुन्छ । आफ्नो बच्चाको कुनैपनि गोप्य कुरा सुरक्षित रहँदैन । उनको बारेमा सबै कुरा बाहिरिन्छ । यसले भोलिका दिनमा उनलाई कतिपय कठिनाइ आउन सक्छ । त्यसैले बालबच्चाको गतिबिधि सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्तिमाथि अभिभावकले मन्थन गर्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment