+
+
Shares

प्रधानमन्त्रीसँग मुख्यमन्त्री कँडेल : प्रदेश संघको युनिट होइन, हस्तक्षेप स्वीकार्य छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते ७:२०

१७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश संघीय सरकारको युनिट (इकाइ) नभएको भन्दै कुनै पनि हस्ताक्षप स्वीकार्य नहुने बताएका छन् । उनले संविधानत: तीन तहका सरकारबीचको सहमति, सहकार्य र सहअस्तित्वको मर्म विपरीत नजान समेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बेलुका भएको संवादमा मुख्यमन्त्री कँडेलले संघीयता, शान्ति-सुरक्षा र आगामी निर्वाचनबारे आफ्नो धारणा राखे । उनले संघीय सरकारको कार्यशैलीप्रति आपत्तिसमेत जनाएका थिए । ‘संविधान त तीनै तहका सरकार आफैँमा स्वायत्त छन् । प्रदेश र स्थानीय तह संघीय सरकारका युनिट होइनन्’, मुख्यमन्त्री कँडेलले भने, ‘पछिल्लो समय सरकारले प्रदेशलाई गरेको व्यवहार सच्याइयोस ।’

मुख्यमन्त्री कँडेलले संघीय सरकारले खर्च कटौती तथा अन्य विषयमा जारी गरेका परिपत्रहरूलाई लिएर चर्को असन्तुष्टि व्यक्त गरेका थिए । ‘यो सरकारले संविधानको मर्म र भावना विपरीत प्रदेश र स्थानीय तहलाई आफ्ना युनिट जस्तो व्यवहार गरिरहेको छ । त्यसमा हाम्रो आपत्ति छ’, कँडेलले प्रधानमन्त्री कार्कीसँग भने ।

कँडेलले संघीय सरकारले प्रदेश र स्थानीय तहमा हस्तक्षेप गरेको आरोपसमेत लगाए । ‘संविधानले नै प्रदेश र स्थानीय तहलाई आफ्नो क्षेत्राधिकारभित्र कानुन बनाउन र कार्यान्वयन गर्न पाउने अधिकार दिएको छ’, मुख्यमन्त्री कँडेलले भने, ‘जसमा संघीय सरकारले कुनै हस्तक्षेप गर्न नपाउने व्यवस्था छ । हस्ताक्षप नगरियोस ।’

आगामी फागुन २१ मा हुने निर्वाचन, त्यसको तयारी र शान्ति सुरक्षादेखि विश्वासको वातावरणको विषयमा समेत मुख्यमन्त्री कँडेलले चासो व्यक्त गरे । अहिलेको शान्ति-सुरक्षाको अवस्था हेर्दा फागुन २१ गते निर्वाचन सम्भव नरहेको समेत उनले तर्क गरे ।

‘राजनीतिक दलहरूलाई  बाइपास गरेर सरकारले न निर्वाचन गर्न सक्छ न शान्ति र सुशासन’ एमाले पोलिटब्युरो सदस्य समेत रहेका कँडेलले भने, ‘एमाले निर्वाचन विरोधी होइन । तर निर्वाचन भन्नु र गराउनु फरक कुरा हो ।’  सबै  दललाई विश्वासमा  लिएर निर्वाचन हुने वातावरण बने सहयोगी भूमिका खेल्ने समेत उनले बताए ।

भदौ २३ र २४ गते घटनाको सरकारले विना पूर्वाग्रह र निष्पक्ष छानबिन गर्न समेत मुख्यमन्त्री कँडेलले माग गरे । ‘छानबिन समितिका पदाधिकारीबाट घटना अघि व्यक्त भएका विचारहरूले निष्पक्षतामाथि शङ्का उब्जाएको छ’, कँडेलले भने । राष्ट्रिय सम्पत्ति जलाउने, आगजनी, तोडफोड र विध्वंस मच्चाउनेहरू खुलेआम घुमिरहेको भन्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कँडेलले बताए ।

शान्ति-सुरक्षाको अवस्था अझै सन्तोषजनक नभएको उल्लेख गर्दै उनले सरकारका केही मन्त्रीहरूकै अभिव्यक्तिले वातावरणलाई भड्काउने काम गरेको आरोप लगाए । उनले संवैधानिक र कानुनी स्पष्टता नहुँदै निर्वाचनको तयारी गर्नु गलत हुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?