+
+
Shares

सभापतिहरुको नयाँ गाडी बिग्रियो, खरिदमा अनियमिताको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते २१:१७
Photo Credit : संघीय संसद सचिवालयको फाइल तस्वीर

२६ साउन, काठमाडौं । छ करोड रुपैयाँ भन्दा बढी खर्च गरेर किनिएका नयाँ गाडी चलाउन नपाउँदै बिग्रिएपछि संघीय संसद सचिवालयमा खैलाबैला मच्चिएको छ ।

समितिका सभापतिहरुलाई साउन पहिलो साता दिइएको ११ मध्ये ५ वटा गाडी बिग्रिएको छ । कुनै गाडीको ढोका नखुल्ने, कुनैको ब्रेक नलाग्ने त कुनै चल्दै नचल्ने समस्या देखिएको छ ।

गाडी बिग्रिएपछि संघीय संसदका समिति सभापतिहरुले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालाई गुहारेका छन् । शुक्रबार बसेको सभामुख र अध्यक्षसहित समिति सभापतिहरुको संयुक्त बैठकले गाडीबारे छानबिन गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

राज्य व्यवस्था समिति सभापति शशी श्रेष्ठ, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णाकुमारी सुवेदी, महिला तथा सामाजिक समिति सभापति निरु पाल, राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्था समितिका सभापति रामनारायण विडारीलगायतले चढ्ने गाडी बिग्रिएको सचिवालय स्रोतले जनाएको छ ।

संसदीय समिति सभापति विडारीले आफूलाई दिएको गाडीमा सुरुदेखि नै समस्या देखिएको बताए । ‘जुन दिन सचिवालयले नयाँ गाडी दियो, त्यही दिनदेखि स्टार्ट गर्दा नै समस्या छ । ड्राइभरले नक्कली पाटपूर्जा छ भनेका छन्’ उनले भने, ‘यो बनाउन पठाउ भन्दा सचिवालयले अर्को गाडी दिएको छैन ।’

संसदीय समितिका सभापतिहरुले गाडी खरिदमा भएको अनियमितताबारे छानविन गर्न माग गरेका छन् । सद्दे गाडी ग्यारेजमा थन्क्याएर कमिसनका लागि नयाँ गाडी किन्ने र जनप्रतिनिधिलाई सुविधाभोगी भनेर बद्नाम गर्न खोजेको उनीहरुको गुनासो छ ।

संसद सचिवालयका महासचिवलाई समेत सहभागी नगराइएको बैठकमा सभापतिहरुले गाडी खरिदबारे छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेख्नुपर्ने माग गरेका थिए । तर तत्काल संसद सचिवालयभित्रै छानविन समिति बनाउने र त्यसको सिफारिसअनुसार अघि बढ्ने सहमति भएको छ ।

समिति गठनको जिम्मा सभामुख र अध्यक्षलाई दिइए पनि कसलाई छानविन समितिमा राख्ने भन्ने प्रष्ट छैन ।

एक सभापतिले भने, ‘नयाँ गाडी चढ्नै नपाउँदै मर्मतको धन्दा चल्नुले नक्कली गाडी किनेर भ्रष्टाचार गरेको आशंका लागेको छ । यसको गम्भिर छानविन हुनुपर्छ ।’

गाडी खरिद प्रक्रियामा सवारी शाखालाई बाइपास गरिएको तथा नयाँ गाडी परीक्षण नगरी ल्याएको चर्चा सुनेको एक सभापतिले बताए । यसबारे महासचिव मनोहर भट्टराई लगायत उच्च अधिकारीलाई सोध्ने सभामुखले बताएका छन् ।

११ वटा गाडीका लागि अर्थमन्त्रालयले संसद सचिवालाई ६ करोडभन्दा बढी बजेट दिएको थियो ।

एक वर्षअघि १२ वटा स्कोर्पियो र ६ वटा कार खरिद गरेको सचिवालयले दुई साताअघिमात्र करीव ६० लाख रुपैयाँको दरमा ११ वटा नयाँ स्कोरपियो खरिद गरेको थियो । नयाँ गाडी आपूर्तिको ठेक्का अग्नि इन्टरकर्पोरेटेड प्रालिले पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?