Comments Add Comment

तपाईं पनि युवा ?

अँ त, तपाईंको उमेर ढल्किसक्यो ? अर्थात ४५-५० बर्ष काटिसक्नुभयो । तपाईं भन्नुहोला, ‘अब जवानी गयो । वैंश गयो । बुढो भइयो ।’

यो तपाईंको उमेरको गणना हो । तपाईं जस्तै हरेक मान्छे उमेरका यि हरेक अंकबाट गुज्रन्छन् । तर, उमेरको अंक गुज्रदैमा कोही बुढो हुन्छन् ?

हामीलाई आफ्नो युवावय असाध्यै पि्रय लाग्छ । हामी जीवनभर युवा जोश, उर्जा, जाँगर, शक्ति, सामाथ्र्य, सिर्जनशिलता रहिरहोस् भन्न चाहन्छौं । जीवनकै एक उर्वर उमेर पनि हो युवावय । तर, ६५-७० बर्ष बाँच्ने हामीसँग यो उर्वर युवावय कति अवधि रहन्छ ?

हामीमा युवापन धेरै समय टिक्नै पाउँदैन । यसको अर्थ यो होइन कि युवा उमेर छिटो बितेर जान्छ । खासमा त उमेर र युवापनसँग त्यस्तो सम्बन्ध पनि छैन । २२-२५ बर्षको व्यक्ति युवा हुन र ५५ बर्षका व्यक्तिसँग युवापन छैन भन्नु भ्रम मात्र हो । युवापन भनेको एक गुण हो । यो उमेर होइन ।

हुन त हामी किशोरवयपछिको अवधिलाई युवावय भन्ने गर्छौं । २० बर्ष पार गरेपछि हामी आफुलाई युवा भएको ठान्छौं । यो युवापन ३०-३५ बर्षको उमेरसम्म गणना गरेर बस्छौं । त्यसपछि हामी आफु ‘युवा’ नरहेको महसुष गर्न थाल्छौं ।

हामीलाई लाग्छ एक निश्चित उमेर अवधिमा पुगेपछि हामी युवा हुन्छौं । तर, यो उमेर होइन गुणको कुरा हो । युवा हुनु भनेको उर्जावान रहनु हो । सिर्जनशिल रहनु हो । सक्रिय रहनु हो । युवा हुनुका यस्ता थुप्रै गुण हुन्छन् । अतः उमेर चाहे जतिसुकै होस्, यी गुणहरु कायम रहेसम्म हामी युवा नै रहन्छौं ।

युवा भनेको आफुलाई उर्बर बनाइराख्नु पनि हो । ति तमाम युवा हुन्, जोसँग जोश छ, जाँगर छ, गतिशिलता छ । मानौं हामी ५० बर्ष पार गरिसकेका छौं । हामीमा जोश, जाँगर र गतिशिलता छ भने हामी युवा हौं । हामीमा बुढेसकाल लागेकै छैन । हामी बुढो भएकै छैनौं ।

युवा सधै जागरुक हुन्छन् । युवा सधै उत्सुक हुन्छन् । युवा सधै उत्साहित हुन्छन् । युवा हुनुको गुण हुन् यी ।

ति व्यक्ति युवा हुन् जो केही नयाँ कुरामा सधै जिज्ञासा राख्छन् । आफुलाई नयाँ कुरामा अपडेट राख्छन् र त्यससँगै परिवर्तन पनि चाहन्छन् । ति व्यक्ति युवा हुन् जो उत्साहित हुन्छन् । सधै उत्साहमय रहनु पनि युवाको गुण हो ।

तपाईं चाहे १५ बर्षको हुनुहोस् वा ५१ बर्षको नै, तपाईंमा यी गुणहरु छन् भने तपाईं युवा हो ।

युवा परिवर्तनका संवाहक पनि हुन् । युवाहरु सधै परिवर्तन चाहन्छन् । उनीहरु गतिशिल हुन्छन् । रजनिश भन्छन्, ‘सबै युवा युवा हुँदैनन्, सबै बुढा बुढा हुँदैनन् । जसलाई युवा हुने कला आउँछ, ऊ उमेरले बुढो भएर पनि युवा नै रहन्छन् । र, जसलाई युवा हुने कला आउँदैन, ऊ युवा भएर पनि बुढो रहन्छ ।’

तपाईं २५ बर्षको हुनुहुन्छ । आफुलाई जवान ठान्नुहुन्छ । युवा ठान्नुहुन्छ । तर, त्यो तपाईंको भ्रम पनि हुनसक्छ । किनभने यत्तिका उमेरमा पनि तपाईं निस्क्रिय, उदास, निरास रहनुहुन्छ भने तपाईं युवा रहनुहुन्न । युवाको गुण होइन, उदासी, निरास । युवा सधै आशावादी हुन्छ । युवाहरु समस्यासँग जुध्न तयार रहन्छन् । उनीहरु हरेक समस्यामा संभावना देख्छन् । अवसर देख्छन् । जुझारुपन पनि युवा हुनुको लक्षण हो । कुनैपनि समस्याबाट हार नखाई जुधिरहने व्यक्ति युवा हुन् । युवाहरु शिथिल हुँदैनन् । कमजोर र शक्तिहिन हुँदैनन् ।

हामी युवाको कुरा गर्छौं । युवा नेता भन्छौं, युवा उद्यमी भन्छौं, युवाशक्ति भन्छौं । यद्यपी यी युवाहरु नाममा होइन, गुणमा निर्भर रहन्छ ।

तपाईं कति बर्ष पुग्नुभयो ? प्रश्न यो होइन । तपाईंमा कति युवापन छ ? घोत्लिनुपर्ने विषय हो यो । तपाईंमा ति तमाम गुणहरु छन् भने तपाईं युवा नै हुनुहुन्छ । र, तपाईंको अगाडि अनन्त संभावना छन् । उमेरको कुरै भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment