Comments Add Comment

पर्यटन बोर्डको बजेट यसै साता, मुख्य प्राथमिकतामा भ्रमण वर्ष

२७ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष ०७६/७७ को बजेट यसै साता ल्याउने तयारी गरेको छ । बोर्ड व्यवस्थापनले तयार पारेको बजेट यसै साता संचालक समितिमा प्रस्तुत हुँदैछ ।

यस वर्ष प्रवर्द्धनमा नयाँ नयाँ बजारसम्म पुग्ने लक्ष्य बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, ‘मुख्य प्राथमिकता भ्रमण वर्षको तयारी नै हुनेछ ।’

आर्थिक वर्ष ०७५/७६ मा १ अर्ब ७५ करोड रुपैयाँ बजेट कार्यान्वयन गरेको बोर्डले यस वर्ष केही रकम वृद्धि गरी बजेट ल्याउने तयारी गरिरहेको छ ।

बोर्डको मूख्य आम्दानी हरेक अन्तर्राष्ट्रिय हवाई यात्रुबाट उठाउने पर्यटन सेवा शूल्कवापतको १ हजार रुपैयाँ हो । पदयात्री पर्यटक सूचना व्यवस्थापन शूल्क (टीम्स) र पर्यटन बोर्डको सहकार्यमा विदेशमा हुने कार्यक्रममा निजी क्षेत्रको सहभागितावापत उठ्ने शूल्क पनि बोर्डको ढुकुटीमा जान्छ ।

पछिल्लो समय खुम्बु गाउँपालिकाले पर्यटकसँग शूल्क उठाउन थालेपछि एभरेष्ट वेस क्याम्प जाने पर्यटकसँग टीम्सकार्ड वापत बोर्डले पैसा लिन बन्द गरेको छ । सोही कारण बोर्डको आम्दानी केही खुम्चिएको छ ।

के छ प्राथमिकता ?

यस वर्ष बजेटले खासगरी भ्रमण वर्ष २०२० लाई प्राथमिकतामा राखेको छ । भ्रमण वर्ष यसै आवमा शुरु हुनेछ । अघिल्लो वर्ष बोर्डले भिजिट नेपाल २०२० सचिवालयका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

प्रवर्द्धनतर्फ नयाँ बजारको खोजी गर्ने तयारीमा बोर्ड छ । आगामी डिसेम्बरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय संचालनमा आउने सरकारले बताइरहँदा बौद्धमार्गीको बाहुल्य रहेका देशहरु कम्बोडिया, इन्डानेसिया, भियतनाम, थाइल्याण्डलगायतमा प्रवर्द्धनका कार्यक्रम केन्द्रित गर्ने गरी बजेट बनाइएको छ ।

नेपाल वायुसेवा निगमले जापान र कोरियामा उडानको योजना बनाइरहेको छ । नेपाल एयरलाइन्स पुग्ने हरेक क्षेत्रबाट नेपाल आउने पर्यटक बढ्ने आशासहित जापान र कोरियामा पनि प्रवर्द्धन बढी केन्द्रित हुने भएका छन् । भारत र चीनमा समेत प्रवर्द्धनका धेरै कार्यक्रम राखिएका छन् ।

बोर्डले पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमलाई जोड दिएको छ । बिभिन्न सञ्चारमाध्यम र सामाजिक संजालमार्फत प्रवर्द्धनात्मक सामग्री प्रचार गर्नेगरी बोर्डले कार्यक्रम बनाएको छ । बोर्डले पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धन, जनसम्पर्क तथा प्रचारप्रसार, अनुसन्धान योजना तथा अनुगमन र पर्यटन सम्पदा तथा संशाधन विकास महाशाखामार्फत बजेट खर्च गर्छ । यसबाहेक हिमालयन ट्राभल मार्ट, बोर्डको गण्डकी प्रदेश कार्यालयलाई समेत केन्द्रबाट बजेट जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment