Comments Add Comment

भ्रमण वर्षको पहिलो दिन नै बुटिक एयरपोर्टको उद्घाटन

२७ साउन, काठमाडौं । नेपाल भ्रमण वर्ष र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा औपचारिक घोषणा १ जनवरी २०२० मा गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष र बुटिक एयरपोर्ट दुवै कार्यक्रम एकैदिन शुभारम्भको वातावरण मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा विकास गरिररहेको छ । यसका लागि करीव २३ करोड रुपैयाँ विनियोजन गरिएको भए पनि कार्यक्रमको औपचारिक थालनी भएको छैन ।

मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलमा रात्रिकालीन उडानलाई प्रोत्साहन गर्न र दिउँसोको अधिक चाप घटाउन रातको १२ बजेपछि आउने वायुसेवालाई विमानस्थलमा लाग्ने नेभिगेशन सेवा तथा शुल्कमा सहुलियत दिन सकिने सम्भावनाबारे अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिएका छन् । ग्राउण्ड ह्याण्डिलिङ सेवामा दिन सकिने सुविधाबारे पनि नेपाल एयरलाइन्ससँग राय माग गरिएको छ ।

साथै उनले नेपालमा हवाई इन्धनको अधिक मूल्यको सम्बन्धमा पनि नेपाल आयल निगमसँग चासो राखेका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा इन्धनको मूल्य अधिक भएको भन्दै उडानमा समस्या भएको गुनासो गरिरहेका छन् । मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलस्थित नेपाल आयल निगमका डिपो प्रमखलाई तालुक निकायमा सोबारे छलफल चलाउन समेत निर्देशन दिएका हुन् ।

माइस टूरिस्टका लागि छुट्टै काउन्टर

त्रिभुवन विमानस्थल हुँदै नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन, बैठक, छलफलहरुमा आउने विदेशी अतिथिका लागि छुट्टै अध्यागमनमा काउन्टर स्थापना गरी छिटो सेवा दिने व्यवस्था मिलाउनसमेत मन्त्री भट्टराईले निर्देशन दिएका छन् । उता, नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीका लागि पनि डेडिकेटेड काउण्टरको व्यवस्था मिलाउन उनले निर्देशन दिएका छन् ।

अध्यागमन सेवालाई चुस्त बनाउन भिसा शुल्क अनलाइनबाट तिर्न सकिने व्यवस्था मिलाउन र उपकरणलाई दुरुस्त राख्नसमेत सरोकारवालाई मन्त्री भट्टराईले निर्देशन दिएका हुन् ।

विमानस्थलबाट सञ्चालन हुने ट्याक्सी सेवालाई सरल, सहज, वैज्ञानिक तथा सुरक्षित बनाउन ट्याक्सीको ट्रयाकिङ गर्न सक्ने सुविधा मिलाउनुपर्ने उनले बताए । रातिको समयमा आएका यात्रुलाई सुरक्षाको प्रत्याभूति गराउन समेत उनले आग्रह गरे ।

उडान रद्द भए यात्रुलाई जानकारी गराउनू

विभिन्न कारणले हुनसक्ने उडानको ढिलाइ, कुनै आकस्मिक कारणले पर्न सक्ने असुविधा जस्ता विषयमा यात्रुलाई छिटो जानकारी गराउने उद्देश्यले एप वा यस्तै प्रकारको कुनै माध्यम प्रयोग गरी सिघ्र सूचनाको व्यवस्था मिलाउन आग्रह गरिएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलसँग सम्बन्धित सरोकारवालासँग आइतबार सामूहिक छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment