+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

स्वयम्भु गोलीकाण्डको तरंग : गाउँपालिका अध्यक्षलाई कारवाही गर्न नेकपाको सिफारिस

लिखु तामाकोशीका अध्यक्ष भन्छन्– प्रहरीलाई पेन ड्राइभ दिएको छु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते १६:३७

२७ साउन, रामेछाप । गत शुक्रबार अपराध महाशाखाका प्रहरीले काठमाडौंस्थित स्वयम्भु, बिजेश्वरीबाट रामेछाप, तिल्पुङका लोप्साङ भनिने बाबुराम तामाङलाई घुँडामुनि गोली हानेर पक्राउ गर्‍यो । उनीसँगै सोही गाउँपालिकाका अमृत तामाङ पनि समातिए ।

लुटेराको अभियोगमा समातिएका दुबै युवा अहिले प्रहरी नियन्त्रणमा छन् । तर, यही गोलीकाण्डसँग जोडेर चर्किएको विवादका कारण रामेछापको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच खैलाबैला मच्चिएको छ ।

स्वयम्भु गोलीकाण्डलगत्तै सत्तारुढ नेकपाले आफ्नै पार्टीबाट चुनाव जितेका गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि कारवाहीको सिफारिस गरेको छ ।

आइतबार लिखु तामाकोशी गाउँपालिका कमिटीको बैठकले नेकपा जिल्ला कमिटी सदस्यसमेत रहेका गाउँपालिका अध्यक्ष खड्कालाई कारवाही गर्न सिफारिस गरेको हो । बैठकले एक साताभित्र जिल्ला कमिटी बैठक राखेर पालिका अध्यक्ष खड्कालाई कारवाही गर्न सिफारिस गरेको छ ।

को हो लफडा ?

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्कासँग २ करोड रुपैयाँ चन्दा माग्दै पैसा नपाए छोरी अपहरण गर्ने धम्की दिएको भन्ने अध्यक्ष खड्काको जाहेरीपछि प्रहरीले लोप्साङ र अमृत तामाङलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गर्‍यो ।

गोलीकाण्डपछि अध्यक्ष खड्काले आफूलाई धम्की दिने भनिएका युवकहरुलाई तिल्पुङकै वडाध्यक्ष सुवास बोहरा र गाउँपालिका उपाध्यक्ष दीपशीखा दाहालले परिचालन गरेको आरोप लगाए । अध्यक्ष खड्काले आफ्नै सहकर्मीमाथि लगाएको यस्तो आरोपलाई नेकपाले गम्भीरतापूर्वक लिएको नेकपाका गाउँ कमिटी संयोजक उद्धव कडरियाले बताए ।

गाउँपालिका अध्यक्ष खड्काले संगीन आरोप लगाएपछि वडाध्यक्ष बोहराले तत्कालै प्रेस विज्ञप्ति जारी गरेर आरोप प्रमाणित गर्न वा पार्टीले कारवाही गर्न चुनौती दिए । त्यस लगत्तै लिखु तामाकोशी गाउँपालिका कमिटी संयोजक कडरियाको अध्यक्षतामा नेकपाको बैठक बस्योे ।

बैठकले सर्वसम्मतरुपमा अध्यक्ष खड्कामाथि कारवाही गर्न जिल्ला कमिटीलाई सिफारिस गरेको संयोजक कडरिया बताउँछन् । बैठकमा गाउँपालिका अध्यक्ष खड्काबाहेक सो गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने नेकपाका २० जना जिल्ला सदस्य तथा प्रदेश कमिटी सदस्यहरुको उपस्थिति थियो ।

सबै घटनाक्रम बुझ्दा गाउँपालिका अध्यक्ष खड्काले गोलीकाण्डलाई आफ्नो रक्षाकवचका रुपमा प्रयोग गरेर उपाध्यक्षलगायत जनप्रतिनिधिहरुलाई फसाउन खोजेको ठहरसहित पार्टीले तत्काल कारवाही गर्न जिल्ला कमिटीलाई गाउँपालिका कमिटीले सिफारिस गरेको अर्का पार्टी सदस्य दुर्गा श्रेष्ठले बताए ।

गाउँपालिका अध्यक्ष खड्काले लगातार पार्टी अनुशासनविपरीत अराजक क्रियाकलाप जारी राखेको र आर्थिक पारदर्शितासमेत नदेखाएको भन्दै उनीमाथि कारवाही सिफारिस गरिएको बैठकमा सहभागी नेताको भनाइ छ ।

अध्यक्ष खड्का स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् । अध्यक्ष भएदेखि नै एकलौटी रुपमा गाउँपालिकामा मनोमानी गर्न थालेको भन्दै उपाध्यक्ष दीपशिखा दाहालसहित एमालेबाटै निर्वाचित वडाध्यक्षहरुले उनीविरुद्ध पटक–पटक पार्टीको ध्यानाकर्षण गराउँदै आएका थिए ।

पछिल्लो कार्यपालिका बैठकमा अध्यक्ष खड्का र वडाध्यक्ष बोहोरावीच विवाद हुँदा खड्काले बोहोरामाथि कुर्सी प्रहार गरेको गुनासो पनि पार्टीमा पुगेको छ ।

स्थानीय एमाले नेताहरुले दिएको जानकारी अनुसार यसअघि आफूलाई असहयोग गरेको भन्दै प्रशासकीय अधिकृत भुपेन्द्र राईमाथि समेत अध्यक्ष खड्काले आक्रमण गरेका थिए । असन्तुष्ट जनप्रतिनिधि र कर्मचारीहरुले जिल्ला सदरमुकाम पुगेर पत्रकार सम्मेलनसमेत गरेका थिए ।

यसैबीच, उपभोक्ता समितिका अध्यक्षलाई खाली चेकमा हस्ताक्षर गराएर विद्युतीकरणको सामान खरिदमा अध्यक्ष खड्का आफैं सक्रिय रहेको स्थानीय एमाले नेताको भनाइ छ । दुरागाउँ, बिजुलीकोट र नागदहको विद्युतीकरणमा गाउँपालिकाको १२ करोड रुपैयाँमा बिना टेण्डर उपभोक्ता समितिमार्फत काम गराएको आरोप अन्य जनप्रतिनिधिहरुले लगाएका छन् ।

नेकपाले जनप्रतिनिधिहरुको विवाद मिलाउन पटक–पटक प्रयास गरे पनि अध्यक्ष खड्का नसुध्रिएपछि कारवाहीको प्रक्रिया थालेको नेकपा जिल्ला कमिटी सदस्य हेमन्त पौडेलले अनलाइनखबरलाई बताए ।

गाउँपालिका अध्यक्ष के भन्छन् ?

स्वयम्भु गोलीकाण्ड एवं आर्थिक अपरादर्शिता लगायतका विषयमा हामीले लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई जिज्ञासा राख्यौं । उनले आफूमाथि अपहरणको धम्कीसमेत आएको र यसको प्रमाण आफूले प्रहरीलाई बुझाएको बताउँदै यस्तो प्रतिक्रिया दिए–

जहाँसम्म स्वयम्भुमा पक्राउ परेका व्यक्तिहरुको प्रश्न छ, मैले कसैमाथि आरोपमात्रै लगाएको होइन, यो पुष्टि हुँदैछ । यही भएको हुनाले उनीहरु कहाँबाट बचिन्छ भनेर बाहिर यसोउसो गर्दैछन् । तर, कागले जतिसुकै काग काग भने पनि ऊ त कागै हो नि । त्यो उनीहरुको चतुर्‍याइँ हो ।

मलाई धम्की दिएर पक्राउ परेका केटाहरु वडाध्यक्षकै छिमेकी हुन् । मैले छिमेकी भएर आरोप लगाएको होइन, सत्य के हो, तथ्य के हो, तपाईहरुले दुई/चारदिन पछाडि थाहा पाइहाल्नुहुन्छ नि ।

उसैको मुखले पनि त बोल्ला नि । त्यत्तिकै त्यो एउटा केटाले गाउँपालिकाको अध्यक्षलाई धम्क्याएर, गोली हानेर मार्छु, बच्चा मार्छु, अपहरण गर्छु, दुई करोड रुपैयाँ चाहिन्छ, गाउँपालिकामा बस्ने वातावरण बनाउँछु, वडाध्यक्षले उपाध्यक्षलाई मिलाउँछ, म वडाध्यक्षलाई मिलाउँछु त भन्दैन होला नि त यार । त्यत्तिकै भन्छ होला ? हामीसँग पनि प्रमाण त होला नि ? प्रमाण नभई त्यत्तिकै हामीले भनेनौं होला नि त । मसँग त रेकर्ड छ । मैले रेकर्ड पेनड्राइभमा प्रहरीलाई दिइसकेको छु । पुलिसले मागे थप पनि मसँग छ । कुरा त्यो हो नि त ।

गल्ती गर्ने उनीहरु हुन् । गल्ती गरेपछि एउटा न एउटा बाहनामा उनीहरुका आफ्नो पक्षका मान्छेहरु बैठकमा बोलाए होलान् । पार्टीले बैधानिक मिटिङ राखेर कारवाहीको सिफारिस गरेको छैन । म त्यही पार्टीको मान्छे हुँ । पार्टीको संयोजक कडरिया हुन् भनेर कसले तोक्यो र अहिलेसम्म ? पार्टीले उनलाई संयोजकका रुपमा अनुमोदन नै गरेको छैन ।

अस्ति उनीहरु १२/१५ जना साथीहरुलाई बोलाएर, हारगुहार गरेर लौ मलाई त यस्तो भयो, अब के गर्ने भन्ने हिसाबले यस्तो आरोप लगायो, जसलाई जिल्ला कमिटीबाट हटाउने प्रस्ताव गरौं भनेको होला, तर, नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी त्यतिसाह्रो लाटो छैन होला । म पनि पार्टीकै मान्छे हो ।

जहाँसम्म टेण्डर नगरी काम गरेको भन्ने छ, टेण्डर नगरी गाउँमा मैलेमात्रै काम गरेको हो र ? गाउँपालिका, कार्यपालिकाले निर्णय गरेर उपभोक्ता समितिमार्फत काम गरेको हो । हामीले जे सामान लिएका छौं, त्यो फिल्डमा छ । अझै जनताको घरमा बत्ती बलेको पैसा दिएको छैन, पोलको भुक्तानी दिएको छैन ।

बत्ती बाल्ने निर्णय त के मैले मात्र गर्‍या हो र ? उनीहरुले पनि निर्णय गरेर बत्ती बलेको होइन ? हामीलाई समय पनि भएन, हामीले कानुन पनि बनाएका छैनौं, खरिद प्रक्रियाअनुसार भएन होला, त्यो आफ्नो ठाउँमा छ । केही पर्सेन्ट काम मिलेन होला, तर काम त भइसक्यो नि । काम त गरिसक्यौं नि ।

एउटामात्रै तलमाथि भएछ भने म जनताका अगाडि झुण्डिएर मर्न तयार छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?