+
+

मिडिया काउन्सिल विधेयकमा सत्तारुढ र विपक्षी सहमति नजिक

कांग्रेसले खोज्यो प्रधानमन्त्रीको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते १९:२२

२७ साउन, काठमाडौं । मिडिया काउन्सिल विधेयकमा सत्तारुढ र प्रमुख विपक्षी दल सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएपछि यसले पूर्णता पाउनेछ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पहलमा सञ्चारमन्त्री गोकुल बास्कोटासहित राष्ट्रियसभामा रहेका दलका प्रतिनिधिहरुबीच यस विषयमा सोमबार छलफल भएको थियो ।

बैठकमा सत्तारुढ नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले मिडिया काउन्सिल विधेयक आवश्यक संशोधन गर्न आफ्नो दल तयार रहेको बताए । ‘प्रेस स्वतन्त्रता, मिडिया काउन्सिलको स्वायत्तता र दण्ड जरिवानाबारे जे सरोकार व्यक्त भएको छ, त्यसलाई संशोधन गर्न तयार छौं भनेर हाम्रो प्रमुख सचेतकले लिखित रुपमै दिनुभएको छ,’ शर्माले भनेका छन् ।

सञ्चारमन्त्री बास्कोटाले दलहरुबीच हुने सहमतिलाई सरकारले सकारात्मक रुपमा लिने बताए ।

कांग्रेसले मन्त्रीको बचन सकारात्मक भएको तर, प्रधानमन्त्रीबाटै प्रतिवद्धता आउनुपर्ने धारणा राखेको थियो । राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भने, ‘नमिलेको विषय सच्याउने प्रतिवद्धता प्रधानमन्त्रीबाट पनि आउनुपर्छ ।’

प्रधानमन्त्रीले विपक्षी दलका नेता शेरबहादुर देउवासँग सहमति गरेसँगै विधेयक अगाडि बढ्ने दुबै दलका नेताहरु बताउँछन् । ‘आज भोलि नै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच कुराकानी भएपछि विधेयक अगाडि बढ्छ’ नेता शर्माले भने ।

सरकारले राष्ट्रियसभामा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक विवादित छ । काउन्सिलको स्वायत्तता खोस्ने, पत्रकारलाई १५ लाखसम्म दण्ड जरिवाना गर्नेजस्ता प्रावधान राखेर विधेयक ल्याएपछि नेपाल पत्रकार महासंघ आन्दोलनमै उत्रियो भने प्रमुख विपक्षीले पनि विधेयकको विरोध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?