Comments Add Comment

श्रम कार्यालयको अनलाइन फर्म भरेको ८ हजार !

२७ साउन, पोखरा । श्रम तथा वैदेशिक रोजगार कार्यालयअघि रहेको भवनको सटर नम्बर ३ । बाहिरबाट लेखिएको छ, ‘म्याग्दी मगर फोटो स्टुडियो ।’ बाहिर फोटो स्टुडियो लेखे पनि भित्र २ वटा प्रिन्टरबाहेक अन्य सामान देखिँदैन । तर त्यहीं छ सेवाग्राहीको ठूलो भीड ।

स्याङ्जाका रामु थापा साउदी जान श्रम स्वीकृत गर्न श्रम तथा वैदेशिक रोजगारको कार्यालयमा आएका थिए । कार्यालयका कर्मचारीले ‘सबै काम अनलाइनबाट हुन्छ, त्यतैबाट गरेरमात्रै यहाँ आउनू’ भन्ने आदेश दिएपछि उनी बाहिर निस्किए ।

श्रम कार्यालयसँगै रहेको फोटो स्टुडियो सबै काम अनलाइनबाट भरिदिन्छ भन्ने थाहा पाएपछि त्यहाँ पुगेका थिए थापा । पसलले श्रमका लागि आवश्यक सबै काम गरिदिए पनि एउटा काम रोकिदियो र भन्यो, ‘तपाईंको पहिलेको पासर्वड बिग्रेको रहेछ । त्यो बनाउन १ हजार रुपैयाँ थप लाग्छ ।’ उनले सबै गरेर ८ हजार रुपैयाँ तिरे ।

‘पासवर्ड बिग्रेको काम पोखरा शाखाबाट नहुँदो रहेछ । काठमाडौंकै आइटीमा सम्पर्क गर्नुपर्छ । उनीहरु आफैंले सम्पर्क गरिदिए,’ थापाले भने, ‘पासवर्ड परिवर्तन गर्दा पैसा लाग्दैन भन्ने थाहा थिएन । उनीहरुले सबै शुल्क जोडेर दिँदा होला नि भन्ने लाग्यो ।’ उनले पछिमात्रै थाहा पाए बिचौलियाले १ हजार ५ सय रुपैयाँभन्दा बढी ठगेका रहेछन् ।

लेखनाथबाट श्रम स्वीकृत गर्न आएका रामबहादुर सुनारलाई पनि बिचौलियाले त्यसैगरी ठगे । तिर्नुपर्ने ६ हजार रुपैयाँ भए पनि उनीबाट ८ हजार रुपैयाँ उठाइछाडे । ‘यति महँगो लाग्दैन भन्ने थाहा भएर के गर्नु ? आफूलाई काम गर्न हतार हुन्छ । उनीहरुले नगर्दासम्म आफ्नो काम हुँदैन,’ सोमबार श्रम कार्यालय अघि भेटिएका उनले गुनासो गरे ।

सेवाग्राही बिचौलियाबाट ठगिए पनि त्यसबारे उनीहरु अनभिज्ञ छन् । बागलुङदेखि श्रम स्वीकृत गर्न पोखरा आएका लेखनाथ लामिछानले ‘प्रोसेस’ थाहा नभएकै कारण आफू ठगिएको बताए । ‘अनलाइन फर्म भरिदिनेले मलाई साढे ८ हजार रुपैयाँ लाग्छ भन्यो । त्यसबारे मलाई थाहा हुने कुरै भएन,’ उनले भने, ‘थाहा नै पाए पनि कसलाई भन्न जानु ? विकल्पै छैन ।’

श्रम कार्यालयकी शाखा अधिकृत विन्दु भण्डारी सेवाग्राहीले अनलाइन फर्म भर्न नजान्दा ठगिने गरेको प्रतिक्रिया दिइन् । ‘श्रमको सबै काम अनलाइनबाटै गर्नुपर्छ । सेवाग्राहीलाई त्यो गर्न आउँदैन । अनि बाहिर अरुलाई फर्म भर्न दिँदा उनीहरु ठगिने गरेका छन्,’ उनले भनिन् ।

बिचौलियाको ठगीबाट सेवाग्राहीलाई बचाउन निश्चित सेवाशुल्क तोकिनुपर्छ भन्ने मान्यता भण्डारीको छ । ‘सबै सेवाग्राहीले अनलाइन फर्म भर्न जान्दैनन् । त्यसका लागि पनि व्यवसायीले यतिमात्र रकम लिन पाउने भन्नेबारे निश्चित शुल्क तोकिदिए कारबाही गर्न सजिलो हुन्थ्यो,’ उनले भनिन् । शुल्क नतोकिएकै कारण सेवा शुल्क भन्दै १ हजारदेखि ३ हजार रुपैयाँसम्म बिचौलियालाई तिर्न बाध्य छन् ।

अधिकृत भण्डारीले श्रम गर्न आउने सेवाग्राहीले आफ्नो पासवर्ड बिर्सिए त्यसलाई परिवर्तन गर्ने अधिकार कास्कीलाई नभएका कारण पनि बिचौलियाबाट सेवाग्राही ठगिने गरेको बताइन् ।

‘त्यो काम विभागको आइटी शाखाले मात्रै गर्न पाउँछ । हामी समक्ष गुनासो गर्न आएका सेवाग्राहीको हामी नै विभागमा मेल गरेर निशुल्क परिवर्तन गरिदिने गरेका छौं,’ उनले भनिन्, ‘कोही सेवाग्राही बाहिरबाटै गर्दा रहेछन् । उनीहरुबाट आइडी परिवर्तन गरेको पनि हजार रुपैयाँसम्म उठाइँदो रहेछ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय र नागरिक समाजले सोमबार श्रम, नापी र मालपोत कार्यालयमा अनुगमन गरेको छ । त्यही अनुगमनकै क्रममा अनलाइन फर्मका नाममा बिचौलियाले सेवाग्राहीबाट चर्को असुलिँदै आएको पत्ता लागेको हो ।

सेवाग्राही सेवा शुल्कबारे बेखबर हुँदा बिचौलियाले चर्को शुल्क उठाउने गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कास्कीका प्रमुख काशीराज दाहालले बताए । ‘सेवाग्राहीलाई जति सक्दो काम छिटो गरौं भन्ने हुन्छ । तर बिचौलियाले फर्म भरेबापत सेवा शुल्क भन्दै बढी रकम उठाइरहेको पाइएको छ,’ उनले भने । पहिलोपटकका लागि ती व्यवसायीलाई चेतावनी दिएर छोडिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment