Comments Add Comment

फोटो विवादपछि साम्राज्ञीको गुनासो : मन मेरो पनि छ, त्यो दुख्छ

‘मानिससँग अरुलाई मुख छाड्ने समय कहाँबाट आउँछ’ ?

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘मारुनी’ भदौको १३ गतेबाट रिलिज हुँदैछ । साम्राज्ञी अहिले यो चलचित्रको प्रचारमा व्यस्त छिन् । केही दिनअघि  प्रेमीसँग इन्डोनेशियामा रहँदाको उनका केही तस्वीर सार्वजनिक भयो । जसले उनको निकै आलोचना पनि भयो ।

उक्त तस्वीर सार्वजनिक भएपछि आलोचित बनेकी साम्राज्ञीले फोटो कसरी सार्वजनिक भयो र के त्यो तस्वीर प्रचारका लागि सार्वजनिक गरिएको थियो भन्ने प्रश्नमा जवाफ दिएकी छिन् । साम्राज्ञीसँग अनलाइनखबरका लागि ‘विजय आवाज’ले गरेको कुराकानी :

१. तपाईंलाई जहिले पनि फोटोले किन विवादमा ल्याउँछ ?

मैले विवाद निम्त्याएको होइन । जसले पोष्ट गर्‍यो, उसले नै विवाद निम्त्याएको हो नि ।

२. पहिले ट्याटुको काण्ड, अहिले बालीको फोटो काण्ड, किन फोटो यसरी सार्वजनिक भइरहेका छन् ?

म पनि आफै छक्क परेको छु । म जता घुम्न निस्किन्छु नि, मैले समस्यालाई नै आकर्षित गरिरहेको छु । यो त मलाई अहिले मात्र होइन, स्कुलको समयदेखि नै यस्तै हो । जहिले समस्या पछि पछि लागिरहेको छ ।

३. तपाईंलाई लाग्छ, तपाईंको प्रेमीसँगको बालीको फोटो सामान्य थियो ?

थिएन । तर, त्यो फोटो जसले निकालेको हो, त्यो मान्छेसँग म रिसाउनुपर्ने हो । मेरो प्राइभेट र पब्लिक दुबै आइडी छ, त्यसबाट सार्वजनिक भएको होइन । मेरो प्रेमीले प्राइभेट आईडीमा राखेको कुरा खै कसले ह्याक गरेर हो या स्क्रिन सर्ट गरेर हो, सार्वजनिक गर्‍यो । मैले कुनै नचाहिने काम गरेको छैन । त्यो मेरो व्यक्तिगत जीवन हो । यदि प्रचार नै चाहेको भए त, म आफैले मेरो सामाजिक सञ्जालमा पोष्ट गर्थेँ होला नि । अहिलेसम्म मेरो प्रेमीले गाली खाइरहेको छ । उसले गाली खाएको देख्दा, माया लागेर आउँछ । प्राइभेटमा थियो फोटो, कसले गर्‍यो खै थाहा छैन ।

४. फोटो सार्वजनिक नभएको भए राम्रो हुन्थ्यो नि होइन ?

पक्कै पनि हो, नआएको भए राम्रो हुन्थ्यो । तर, अब आयो के गर्ने ?

५. व्यापक आलोचनापछि तपाईले एउटा स्टाटस कोर्नुभयो । ‘हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ’  यो स्टाटस तपाईंको आलोचकप्रति लक्षित थियो भन्ने टिप्पणी भयो । किन लेख्नुभयो यस्तो ?

तपाईलाई ‘मेटाफर’ भनेको थाहा छ होइन । म हात्ती नै हो त ? होइन नि । मैले मेरो दर्शकलाई जति माया अरु कसैलाई पनि गर्दिनँ । ती प्रतिक्रियाहरुको पछाडि को–को थिए मलाई सबै थाहा छ । तपाईंलाई एउटा घटना सुनाउँछु । ‘कायरा’को समयमा मेरो ट्याटु फोटो आउँदा नेपालबाट ट्याटु बनाउने कलाकारलाई फोन र म्यासेज गरेर साम्राज्ञीको अरु फोटो र भिडियो पठाउनुहोस्, हामी पैसा हालिदिन्छौ भन्नेहरु पनि मैले भेटेँ ।

पछाडि कुरा काट्नेहरु धेरै छन् । म चलचित्र क्षेत्रबाट आएकी होइन । मेरो पछाडि कुनै साथ पनि छैन । मलाई सम्झाउने–बुझाउने पनि कोही छैन । मलाई मेरो इच्छा देखेर मेरो आमाले साथ दिनुभएको छ । मैले पनि काम गरेको छु ।

तर, यो क्षेत्रमा खुट्टा तान्ने मानिसहरु धेरै रहेछन् । तर, म मेरो काम राम्रो गरेर दर्शकको चित्त बुझाउन चाहन्छु । मैले अहिलेसम्म गरेको पनि त्यही नै हो । मेरो स्टाटस दर्शक र मिडियाप्रति लक्षित थिएन । मलाई जसले जसरी हेर्न सक्छन्, त्यसरी नै हेरेका छन् । मलाई माया गर्ने मान्छेले सधै नै माया गरिरहेका छन् ।

कतिपयले त मलाई नराम्रो देखाउन पनि प्रचार गरिरहेका छन् । तर, अहिले त मैले ‘हरेक खराब प्रचार पनि राम्रो प्रचार हुन्’ भनेर बुझ्न थालेकी छु । मलाई मन नपराए पनि ती मानिसहरुले मप्रति ध्यान त दिइरहेका छन् । यसलाई यसरी नै बुझौं होला ।

 

६. तपाईले ‘यति धेरै घृणा किन’ भनेर पनि प्रश्न गर्नुभयो ? तपाईंलाई कसले यती धेरै घृणा गरिरहेको छ भन्ने लाग्छ ?

अहिले जति पनि कलाकार मैले देखेको छु नि, उनीहरुलाई गाली गर्नकै लागि फेक आईडी बनाइन्छ । अनि, जे मन लाग्यो त्यही लेखिन्छ । के यो ठीक हो ? मैले के भन्न खोजेको थिएँ भने, मानिससँग यति समय कहाँबाट आउँछ ? मलाई नराम्रो भन्ने मान्छे आफू भने राम्रो होला त ? बरु, मन पर्दैन भने केही पनि नलेखे हुने नि ।

मलाई वा अरु कसैलाई घृणा गरेर मानिसले के पाएको छ ? बरु, केही राम्रो काम गर्दा उसको परिवार पनि खुशी हुन्छ होला नि होइन ? मैले, ती मानिसहरुलाई नै मलाई ‘अनफलो’ गर्नुहोस् भनेको हुँ । मानिसको नाम चर्चामा आएपछि घृणा पनि जोडिएर आउँदा रहेछ ।

७. तपाईंले यी सबै कुराहरु गर्दा, कहिले पनि कमजोरी स्वीकार गर्नुभएन भन्ने टिप्पणी भयो । कतै दर्शकहरु चित्त दुखेको पो हो कि ?

उहाँहरुको मात्र चित्त हुँदैन नि । चित्त त मेरो पनि दुख्छ । म पनि त मान्छे हुँ । मलाई त मेरा साथीहरुले मानहानीको मुद्दा हाल्न पनि सुझाव दिएका थिए । कुनै मानिसको व्यक्तिगत जीवन पैसा कमाउन, भ्यूज कमाउनका लागि जोक बनाइदिन त भएन नि । वास्तवमा उक्त फोटो आएपछि म रिसाउनुपर्ने हो, तर अरु रिसाएका छन् । कतिपयले मलाई ‘पोर्न स्टार बन’ भनेर पनि गाली गर्छन् । के म यो क्षेत्रमा उहाँहरुले आइज भनेर आएकी हुँ र ? अनि, उहाँहरुले अब काम नगर भन्दा नगर्नुपर्ने ?

८. तपाईंको आफ्नो व्यक्तिगत जीवन पनि छ । जुन जीवन तपाईंले जिउन पाउनुपर्छ । तर, कतिपय कुरा सार्वजनिक नहुँदा राम्रो हुन्छ होला नि होइन ?

जसले उक्त फोटो पब्लिस गर्‍यो, वास्तवमा उसलाई नै भन्नुपर्ने हो । तर, त्यो फोटो मेरो हो । त्यो कुराले मलाई नराम्रो लाग्यो र त म यी कुराहरु बोलिरहेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment