Comments Add Comment

जनैको आयात रोक्न परम्परागत विधिलाई प्रोत्साहन

३० साउन, काठमाडौं । विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले परम्परागत ढंगबाट नेपालमै व्यावसायिक रुपमा बनाउन थालिएको छ । गत वर्ष वार्षिक एक अर्बको जनै आयात गरिएको समाचार सार्वजनिक भएपछि रैथाने चीजबीजको संरक्षणमा जुटेको जरोकिलो प्रतिष्ठानको अग्रसरतामा परम्परागत तरिकाले जनै बनाउने तालिम दिइएको थियो ।

विदेशबाट आयात गरिने जनै यन्त्रमा बन्ने भएकाले संस्कृति संरक्षण नहुने भएकाले मौलिक विधिलाई संरक्षण गर्न दुई जना प्रशिक्षकबाट तालीम दिइएको प्रतिष्ठानका सदस्य सुशील गौतमले जानकारी दिए ।

जरोकिलो प्रतिष्ठानले भने यस वर्ष प्रत्यक्षरुपमा १५ जना र श्रव्यदृश्यका माध्यमबाट ३६ जनालाई तालीम दिएर परम्परागत तरीबाट जनै बनाएको जनाएको छ ।

परम्परागत तरिकाबाट जनै बनाउँदा काठको यन्त्र र कतुवाको प्रयोग गरिन्छ । परम्परागत विधिबाट जनै बनाउन समय लाग्ने भएकाले एकप्रतिको १५ रुपैयाँमा बेच्ने गरिएको उनले बताए । प्रतिष्ठानले सÅदयता उद्यमशीलता प्रालि नामक कम्पनी नै खोलेर जनै बनाउने व्यवसायलाई संरक्षण गर्न थालेको छ । यसरी बनाइएको जनैको माग देश, विदेशमा हुन थालेको छ ।

जनै बनाउने शास्त्रीय विधि

तागाधारी परिवारकी महिलाले कपासबाट धागो बनाउनुपर्ने र धागो बाटेर विधिपूर्वक जनै बनाउने विधि छ । यन्त्रमा बनाएको जनैमा यो विधि पूरा हुँदैन । धागोलाई दुईपटक तेब्रयाएर छ डोराको बनाउनुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । तीन डोराको एउटा शिखा बनाउनुपर्छ । अर्को तीन डोराको अर्को शिखा गरेर दुई शिखा बनाउने विधि हुन्छ ।

शिखामा ब्रहृमा, विष्णु र महेश्वरको बास हुने धार्मिक विश्वास छ । जनै मन्त्रँदा शिखामा तीनै जना देवता, अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ब्रहृम तेज पैदा गर्ने बनाउनुपर्छ । यसरी बनाइएको जनैले नै शास्त्रमा वर्णन गरेबमोजिमको फल दिन्छ ।

यो पनि पढ्नुहोस आज रक्षाबन्धन : यस्तो छ जनै र रक्षासूत्रको महत्व

उपनयन संस्कार अर्थात् व्रतबन्ध गरेपछि तागाधारीले जनै टुटाउन नहुने शास्त्रीय विधि छ । ब्राहृमण, क्षत्री र वैश्य गरी तीन वर्णलाई शास्त्रीय रुपमा जनै लगाउने अधिकार रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनै फेरिन्छ । यस दिनलाई जनै पूर्णिमा पनि भनिन्छ । जनैपूर्णिमामा फेरिएको जनैको अवधि चार महिना मानिन्छ । चार महिनापछि अर्को जनै फेर्नुपर्ने व्यवस्था शास्त्रमा गरिएको छ ।

मानिस जन्मिएको र मरेको कर्म सिध्याउने बेलामा जुठो सुतक लाग्ने दाजुभाइले जनै फेर्नुपर्छ । मलामी गएर फर्किएपछि स्नान गरी नयाँ जनै फेरिन्छ । वैदिक र तान्त्रिक विधिअनुसार गरिने धार्मिक काममा चढाउन पनि यसको प्रयोग गरिन्छ ।

जनै बाट्ने मानिस भेट्न मुस्किल

जनै पहिले घरमै तयार पारिन्थ्यो । हाल घरमा जनै बाट्ने मानिस भेट्न मुस्किल छ । थोरै संख्यामा मात्र मानिसले जनै बनाउने गरेका छन् । पछिल्लो समय जनै बाट्ने प्रचलन हराउँदै गएको छ ।

घरमा जनै बनाउन छोडेपछि यन्त्रले बनाएको जनैको आयात विदेशबाट हुन थालेको थियो । नेपालमा चाहिने जति जनै यहीँ बन्न नसकेपछि विदेशबाट आयात हुने गरेको हो । चीनबाट मात्र नभई भारतबाट समेत जनैको आयात हुन्छ ।

यो पनि पढ्नुहोस जनैमात्र होइन, रक्षाबन्धन पनि विदेशबाट आयात !

जनै बाट्नेजस्ता परम्परागत काममा सम्मान र पारिश्रमिक दुवै कम हुने भएकाले यसप्रति युवा पुस्ताको ध्यान जान नसकेको कर्मकाण्ड पेशामा संलग्न ज्ञानप्रसाद तिमल्सिना बताउँछन् । घरमा बनाएको जनैभन्दा विदेशबाट यन्त्रमा उनेर ल्याइएका जनैको मूल्य सस्तो भएपछि यो पेशा अपनाउनेको संख्या घटेको उनको भनाइ छ ।

सामान्यतया यन्त्रमा बनाएर बजारमा बिक्री हुने एउटा जनैको मूल्य पाँचदेखि १० रुपैयाँसम्म पर्छ । घरमै बनाइने जनैको १५ देखि २० रुपैयाँसम्म पर्ने गरेको छ । घरमा बनाएको जनैको केही बढी पर्ने भएकाले पनि घरेलु उद्योग धराशायी भई आयात बढेको हो ।

स्थानीय सरकारले यसमा सहुलियत दिने, नयाँ पुस्तालाई पुरानाबाट जनै निर्माण कला सिकाए आयात घटाउन सकिने कागेश्वरी मनोहरा नगरपालिका-६ का पण्डित राजेन्द्रप्रसाद सापकोटा बताउँछन् ।

आफूले वार्षिक एक हजारसम्म जनै बनाई १५ देखि २० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनले सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment