Comments Add Comment

बोर्ड अध्यक्षलाई प्रश्न–‘बिहिबार हिन्दी र नेपाली फिल्म रिलिज किन भए ?’

‘म तानाशाह बन्न नचाहेको हुँ, अब कानुन नै आउँछ’

चलचित्र विकास बोर्डको अध्यक्ष पद सम्हालेसँगै केशव भट्टराइलाई ‘तानाशाह’ बन्न खोजेको आरोप लाग्यो । विशेषगरि, बलिउड चलचित्र ‘कलंक’लाई वुधबार रिलिज गर्न नदिएपछि उनलाई विभिन्न खालका आरोप पनि लागे । चलचित्र ‘भारत’लाई बुधबार नै रिलिजका लागि वितरकले अदालतबाट ‘स्टे अर्डर’ नै लिएर आएका थिए ।

यसैले, चलचित्र विकास बोर्डका अध्यक्षको प्रयास असफल भएपछि अहिले फेरि चलचित्र रिलिज भद्रगोल देखिएको छ । आज बिहिबारको दिन २ हिन्दी र एक नेपाली चलचित्र हलमा लागेका छन् । बिहिबार नै चलचित्र रिलिज हुँदा गत हप्ता रिलिज भएको चलचित्र ‘साइनो’ ६ दिन मात्र हलमा टिक्यो । आजैबाट चलचित्रको शोज हटेको छ ।

आखिर, किन रिलिज भए बिहिबार नै चलचित्र ? चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइ भन्छन्–‘मैले बोर्डमा गएको दिनदेखि नै चलचित्र निर्माता संघ र चलचित्र संघलाई बारम्बार एउटा सहमती गर्न अनुरोध गरेँ । तर, दुबै संस्थाले हुँदै छ मात्र भन्नुभयो, कुरा सुन्नुभएन ।’

बोर्ड अध्यक्षले चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयसँग कैयौ पटक फोनमा कुरा गर्दा पनि हुँदै छ भन्ने जवाफ पाएको बताए । उनले भने–‘अब, चलचित्र संघ र निर्माता संघले नै भद्रगोल रिलिज चाहन्छन् भने मैले पनि केही समयलाई छाडिदिएको छु । मैले रोक्नका लागि कानुन नै छैन । यसैले पनि सहमती खोजेको थिएँ, तर त्यसमा निर्माता र चलचित्र संघ आउन नै चाहनुभएन ।’

अब, कसरी यो समस्या हल हुन्छ त भन्ने प्रश्नमा उनले भने–‘अहिले, चलचित्रको विधेयक मन्त्रालय पुगेको छ । संभवत यही अधिवेशनमा यो विधेयक पास हुन्छ । कानुनी रुपमा नै चलचित्र कुन दिन रिलिज हुने भनेर तोकिनेछ । विदेशी चलचित्रलाई सकारात्मक विधेयकको नीति आउँछ । दिन हेरफेर हुन सक्छ, तर कानुनमै दिन तोकेर आउँछ ।’

उनले, कानुन नबनेसम्म चलचित्र संघ र निर्माता संघले सहमती नगर्ने हो भने केही समय चलचित्र रिलिजको अवस्था भद्रगोल हुने बताए । ‘कलंक’को जस्तै शैली यसपटक अपनाउन सकिदैनथ्यो र भन्ने प्रश्नमा उनले भने–‘कानुन नै नभएपछि मैले सधै रोकिराख्न सक्दिनँ । यसका लागि मुख्य दुइ संस्थाले चासो देखाउनुपर्ने हो, तर देखाउनुभएन । यसैले म यसपटक तानाशाह बन्न नखोजेको मात्र हो ।’

जनैपूर्णिमा पर्व भन्दै आजबाट हिन्दी चलचित्र ‘मिसन मंगल र बट्ला हाउस’को साथमा नेपाली चलचित्र ‘हजार जुनी सम्म’ रिलिज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment