+
+

सर्वसाधारणलाई सेयर दिने प्राधिकरणको योजना, सञ्चित नोक्सानी मिनाहा गर्न कुलमानको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३१ गते ९:४२

३१ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सर्वसाधारणलाई सेयर जारी गर्ने तयारीमा जुटेको छ । वर्षौंसम्म घाटामा रहेको प्राधिकरण गत तीन वर्षदेखि लगातार नाफामा छ ।

तीन वर्षअघि ३४ अर्ब रहेको प्राधिकरणको कुल सञ्चित नोक्सानी घटेर करिब १५ अर्बमा झरेको छ । प्राधिकरण यो सञ्चित नोक्सानीको अवस्था हट्नासाथ सर्वसाधरणलाई सेयर जारी गर्ने योजनामा रहेको बताउँछन्, कार्यकारी निर्देशक कुलमान घिसिङ ।

हालको सबै सञ्चित नोक्सानीलाई सरकारले मिनाहा गरेमा सर्वसाधारणलाई सेयर दिने बाटो खुल्ने घिसिङको भनाइ छ । तर, त्यसका लागि केही समय तयारी भने आवश्यक पर्ने उनी बताउँछन् ।

‘हामीले १४ अर्बभन्दा बढीको सञ्चित नोक्सानी मिनाहा गरेर शून्यमा लेखांकन गर्न सरकारलाई अनुरोध गरेका छौं । यसो भयो भने प्राधिरकणले थप प्रोत्साहन पाउँछ,’ घिसिङ भन्छन्, ‘मागअनुसार नभए पनि सम्भवतः अर्को वर्षबाट हामी त्यो सञ्चित नोक्सानी अन्त्य गर्छौं’, त्यसपछि सर्वसाधारणलाई प्राधिकरणमा सेयर दिन छलफल अघि बढ्छ ।’

प्राधिकरण उच्च घाटामा गएपछि आर्थिक वर्ष ०६७/६८मा सरकारले २७ अर्ब १८ करोड रुपैयाँ सञ्चित नोक्सानी मिनाहा गरेको थियो । तर, त्यसपछिका वर्षमा पनि प्राधिकरण निरन्तर घाटामै थियो ।

हाल विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी हाल १५ अर्ब १३ करोड छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोडमा पुगेको थियो । एक वर्षमै प्राधिरकणको वार्षिक ९ अर्बको घाटाका कारण बढ्दो दरमा रहेको सञ्चित नोक्सानीलाई उनले एक वर्षमै ओरालो लगाएका थिए ।

आर्थिक वर्ष ०७४/७५ मा प्राधिकरणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोडमा झरेको थियो । प्राधिकरणले बितेको एक वर्षमा नै सञ्चित नोक्सानी १० अर्बले घटाएको छ । हालको सञ्चित नोक्सानी सरकारले मिनाहा गरे त्यसको प्रतिफल पुनः राज्यलाई प्राप्त हुने प्राधिकरणको दाबी छ ।

२०७४ सालमै प्राधिकरणको वित्तीय पुनर्संरचना योजना पारित भएको थियो । जसमा प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिन सकिने उल्लेख छ । यसकै आधारमा प्राधिकरणमा सर्वसाधारणको लगानी भित्र्याउन सकिने घिसिङ बताउँछन् ।

‘अहिलेसम्म त प्राधिकरण सञ्चित घाटामा नै छ,’ उनी भन्छन्, ‘घाटामा भएको कम्पनीमा सर्वसाधारणले के देखेर लगानी गर्ने ? यदि हामीले बनाएको योजनाअनुसार काम भयो भने ढिलोचाँडो प्राधिरकणमा सर्वसाधारणको लगानी भित्रिन्छ ।’

हाल प्राधिकरणअन्तर्गतका सहायक कम्पनीले बनाइरहेका आयोजनामा सर्वसाधारणको सेयर छ । आयोजनाहरुमा लगानी गर्ने होडबाजी चलिरहेका बेला माउ कम्पनीको संस्थापक सेयर नै सर्वसाधारणका लागि खुला भए त्यसले प्राधिकरणलाई थप मजबुत बनाउने विश्वास सरकारको पनि छ ।

हाल नयाँ विद्युत् प्राधिकरण ऐनको मस्यौदा तयार भइरहेको छ । ऊर्जामन्त्री वर्षमान पुनका अनुसार प्राधिरकणलाई थप बलियो बनाउने गरी ऐन संशोधनको तयारी छ । प्राधिकरणलाई थप जनउत्तरदायी र प्रभावकारी संस्थामा रुपमा स्थापित गर्न नयाँ ऐनले बाटो खोल्ने उनको भनाइ छ ।

सोमबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पुनले प्राधिकरण हाल पनि अन्तरिम व्यवस्थाअनुसार चलिरहेकाले आफूले बोर्डमा आवश्यकताअनुसार नेतृत्व लिएको बताएका थिए ।

‘प्राधिकरण पब्लिकमा गएको भए वार्षिक साधारणसभाले नै अध्यक्ष चुन्थ्यो, वार्षिक प्रगति प्रतिवेदन त्यहीँ पेश हुन्थ्यो’, उनी भन्छन्, ‘तर, अहिलेसम्म हामी पब्लिक कम्पनी नभएकाले यो ढाँचामा चलेका छौं ।’

मन्त्री पुनले ऐनमार्फत पनि प्राधिकरणलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्न स्पष्ट मार्ग खोल्ने संकेत गरेका छन् । उनले प्राधिकरणको क्षमता र अवस्था सुध्रँदै गएकाले सरकार आत्मविश्वासी भएर ऊर्जा क्षेत्रमा अघि बढ्न सकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?