Comments Add Comment

महिना दिन बित्दा पनि भेटिएनन् बुद्ध मूर्ति तोडफोडमा संलग्न

प्रहरी भन्छ– सीसीटीभी क्यामेरा नहुँदा गाह्रो भयो

२ भदौ, बुटवल । रूपन्देहीको तिलोत्तमामा बुद्धमूर्ति तोडफोडमा संलग्न व्यक्तिहरुलाई प्रहरीले एक महिना बित्दा पनि पहिचान गर्न सकेको छैन । सीसीटीभी क्यामेरा नहुँदा तोडफोड गर्नेको हुलिया पत्ता नलागेको र अनुसन्धान गर्न गाह्रो भएको प्रहरी भनाइ छ ।

बुद्ध जन्मस्थलको पहिचान दर्शाउन तिलोत्तमाको शंकरनगर चोकदेखि नयाँ मिलसम्म राखिएका २० बुद्ध मूर्तिमध्ये पाँच गत साउन १ गते अज्ञात समूहले तोडफोड गरेको थियो

उक्त घटनाको चौतर्फी विरोध र निन्दा भएको थियो । घटनापछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले जिल्लाका सुरक्षा निकाय प्रमुखहरुलाई मूर्ति तोडफोड गर्नेलाई यथाशीघ्र कारबाही गर्न निर्देशन दिएका थिए । यस्तै दर्जन बढी संघसंस्था र बौद्धमार्गीले पनि दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरेका थिए ।

मूर्ति तोडफोडलाई लिएर चौतर्फी आलोचनापछि जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीम भट्टराईको नेतृत्वमा ६ सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो । तर घटना भएको एक महिना पूरा हुँदासम्म प्रहरीले मूर्ति तोडफोड गर्नेको पहिचान गर्न त परै जाओस् अनुसन्धानको आधारसमेत फेला पार्न सकेको छैन ।

प्रहरीले अनुसन्धानको ठोस नतिजा निकाल्न नसकेपछि सरोकारवालाहरूबाट आलोचना पनि हुन थालेको छ । घटनालाई प्रहरीले गम्भीर रुपमा नलिँदा दोषी पत्ता लाग्न ढिला भएको दबाव तथा खबरदारी समूहका संयोजक प्रेम थापा मगर बताउँछन् । ‘प्रहरीले यो घटनालाई गम्भीर रूपमा लिएकै छैन,’ थापाले भने, ‘बौद्धमार्गी मात्र नभएर अहिंसाप्रेमीमाथि नै आक्रमण भएकाले यसमा संलग्नको तत्काल पहिचान गर्नुपर्छ ।’ थापा मगरले प्रहरीले दोषी पत्ता लगाउन अझै ढिलाइ गरे सडक आन्दोलनमा जाने चेतावनी पनि दिए ।

तिलोत्तमाका नगर प्रमुख वासुदेव घिमिरे मूर्ति तोडफोडमा संलग्न पत्ता नलाग्दा पीडा महसुस भएको बताउँछन् ।

सरोकारवालाले प्रहरी अनुसन्धानको आलोचना गरिरहँदा जिल्ला प्रहरी कार्यालय, रूपन्देही भने अनुसन्धानलाई गम्भीर रूपमा लिएको बताउँछ । जिल्ला प्रहरी प्रमुख हृदय थापा मूर्ति तोडफोडलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको दाबी गर्छन् । ‘शंका लागेका थुप्रै व्यक्ति/समूहसँग सोधपुछ गरिरहेका छौं, प्राविधिक रूपले पनि अनुसन्धान गरिरहेका छौं’, प्रहरी उपरीक्षक थापाले भने, ‘अनुसन्धानलाई हामी जतिसक्दो छिटो निष्कर्षमा पुर्‍याउँछौं ।’

अनुसन्धान टोलीका संयोजक इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भट्टराईले फिल्डदेखि प्रविधिसम्म पुगेर अनुसन्धान गरे पनि रिजल्ट आउन ढिलाइ भएको स्वीकार गरे । ‘हामी निरन्तर लागेका छौं तर प्राविधिक रूपमा कठिनाइ भएकाले रिजल्ट आउन नसकेको हो,’ उनले भने ।

जिल्ला प्रहरी प्रमुख थापा र अनुसन्धान टोलीका संयोजक भट्टराई सीसीटीभी क्यामेरा नहुँदा दोषी पत्ता लगाउन असहज भएको बताउँछन् । ‘निगरानी गर्ने सीसीटीभी भएको भए घटनामा संलग्न छिटै पत्ता लाग्थे’, भट्टराईले भने, ‘तर, सीसीटीभी नभएकाले मूर्ति तोडफोडमा संलग्नको पहिचान गर्न केही कठिनाइ भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment