Comments Add Comment

ब्याजदरमा संयमित बन्दै बैंकहरु

३ भदौ, काठमाडौं । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । गत वर्ष २८ वाणिज्य बैंकहरुको वित्तीय विवरण हेर्दा अधिकांशले बेस रेट घटाएको पाइएको छ, जुन ऋणीहरुका लागि राहतको विषय हो ।

बैंकहरुले आफूखुशी ब्याजदर बढाएर ऋणीहरूलाई मारमा पार्ने गरेको विषयमा बारम्बार गुनासो आउने गर्छ । खासगरी ऋण लिएर व्यवसाय गर्ने उद्योगी–व्यवसायी ब्याजदरबाट अत्यधिक पीडित छन् । ६ प्रतिशतमा लिएको ऋणको ब्याजदर एक वर्षभित्रै १२ प्रतिशत पुग्दा उनीहरू मर्माहत हुनु स्वभाविकै हो । गत आवमा भने बैंकहरुले बेस रेट घटाएर व्याजदरमा संयम अपनाएको देखिन्छ ।

गत आर्थिक वर्ष ०७५/७६ मा बैंकहरुको बेस रेट औसत ९.५५ प्रतिशतमा झरेको छ । यो अघिल्लो आव ०७४/७५ को तुलनामा करिब १ प्रतिशतले न्यून हो । अघिल्लो आवमा औसत बेस रेट १०.४२ प्रतिशत रहेको थियो ।

पहिलो र दोस्रोमा सरकारी बैंक

मुनाफा आर्जनमा पहिलो नम्बरमा देखिएको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम बेस रेट कायम गरेको छ । यस बैंकको अघिल्लो आर्थिक वर्षमा ६.२० प्रतिशत बेस रेट रहेको थियो । यसलाई घटाएर बैंकले ५.५० प्रतिशतमा झारेको छ ।

कम बेस रेटको सूचीमा सरकारी लगानीकै अर्को बैंक देखिएको छ । मुलुककै सबैभन्दा जेठो बैंक नेपाल बैंक दोस्रो स्थानमा छ । तर यसको बेस रेट स्थिर छ । अघिल्लो आवमा ७.०३ प्रतिशत थियो भने गत आवमा पनि यत्ति नै छ ।

सरकारको धेरै लगानी रहेको कृषि विकास बैंक भने बेस रेटमा लोभी देखिएको छ । निजी क्षेत्रका कुमारी बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकबाहेक सबैको बेस रेट कृषि विकास बैंकको भन्दा कम रहेको छ ।

निजीतर्फ स्टाण्डर्ड चार्टड पहिलो

निजी क्षेत्रको लगानी रहेका बैंकहरु मध्येमा स्टाण्डर्ड चार्टड बैंकको सबैभन्दा कम बेस रेट छ । विदेशी लगानी रहेको यस बैंकको ७.६३ प्रतिशत बेस रेट रहेको छ जबकि, अघिल्लो आर्थिक वर्ष बेस रेट ७.८७ प्रतिशत थियो ।

समग्रमा चौथो र निजी क्षेत्रमा दोस्रो स्थानमा देखिएको नविलको बेस रेट भने वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ७.७८ प्रतिशत रहेको नविलको बेस रेट गत आर्थिक वर्षमा ८.०९ प्रतिशत पुगेको हो ।

नविलपछि एभरेष्ट बैंक देखिएको छ । एभरेष्ट बैंकले बेस रेट घटाएर ८.१२ प्रतिशतमा ल्याएको छ । अघिल्लो आर्थिक वर्षमा एभरेष्टको ८.४५ प्रतिशत बेस रेट थियो ।

दुई बैंकको बेस रेट उच्च

बेस रेट उच्च हुनेमा सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंक देखिएका छन् । यी दुवै बैंकको बेस रेट ११ प्रतिशतभन्दा माथि छ । बेस रेट उच्च भए पनि दुवै बैंकहरूले घटाउने प्रयास भने गरेको देखिन्छ ।

दुवै बैंकले आर्थिक वर्ष ०७४/७५ को तुलनामा आर्थिक वर्ष ०७५/७६ मा बेस रेट घटाएका छन् । अघिल्लो आर्थिक वर्षमा सेञ्चुरीको बेस रेट १२.०८ प्रतिशत थियो । यसलाई घटाएर सेञ्चुरीले ११.२९ प्रतिशतमा झारेको छ ।

अघिल्लो आर्थिक बर्ष सिभिल बैंकको ११.८४ प्रतिशत बेस रेट थियो । सिभिलले ११.११ प्रतिशतमा बेस रेट झार्न सफल भएको छ । यी दुई बैंकबाहेक पनि १० वटा बैंकको बेस रेट १० प्रतिशतमाथि रहेको छ । प्राइम कमर्सियल बैंक, नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, माछापुच्छ«े बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, सिद्धार्थ बैंक, कृषि विकास बैंक र कुमारी बैंकको समेत बेस रेट १० प्रतिशत माथि छ ।

बेस रेट घट्दा के फाइदा ?

आम रूपमा बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर घट्छ । तर, यसमा बैंकहरुलाई खेल्ने ठाउँ पनि हुन्छ ।

बैंकले ग्राहक हेरेर बेस रेटमा शून्य प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थप्न सक्छन् । सरकारले ल्याएको विभिन्न किसिमका सहुलियत कर्जामा भने बेस रेटमाथि बढीमा २ प्रतिशत मात्रै प्रिमियम जोड्न पाउने व्यवस्था छ ।

जस्तो राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५.५० छ । यदि तपाईं यस बैंकमा कृषि कर्जा लिन जानुभयो भने बेस रेटमा २ प्रतिशत जोड्दा ७.२० प्रतिशत कर्जाको ब्याजदर हुनेछ । यसमा पनि सरकारले तपार्इंलाई (सहुलियत कर्जाको हकमामात्रै) ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउँछ । जसअनुसार तपाईंले लिएको कर्जाको ब्याजदर २.२० प्रतिशत मात्रै हुन आउँछ ।

अझ महिला उद्यमशीलता कर्जामा त राष्ट्र बैंकले ६ प्रतिशत ब्याज अनुदान दिन्छ । ऋणी महिलाले १.२० प्रतिशत मात्रै ब्याज बुझाउनु पर्छ । बैंक अनुसार बेस रेट फरक हुने भएकाले ब्याज पनि सोहीअनुसार फरक हुन आउँछ ।

टेवलमा हेर्नुहोस् कुन बैंकको बेस रेट कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment