Comments Add Comment

हेटौंडामा पिउने पानीका लागि ओभर हेड ट्यांकी

३ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडामा पिउने पानीको आपूर्ति व्यवस्थित पार्न एकैपटक डिपबोरिङसहित ४ स्थानमा ओभरहेड ट्यांकी निर्माण थालिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहकार्यमा हेटौंडा खानेपानी बोर्डले डिपबोरिङसहित ओभरहेड ट्यांकी निर्माण थालेको हो ।

आयोजनाले खानेपानीको संरचना बनाउन कूल लागतको ७० प्रतिशत रकम लगानी गर्नेछ । हेटौंडा खानेपानी बोर्ड र उपमहानगरले भने १५/१५ प्रतिशत रकम लगानी गर्नेछ । कूल १५ करोड ५५ लाख रुपैयाँ लागतमा पूर्वधार निर्माण गर्न थालिएको हो ।

बोर्डले हेटौंडा-१० टीसीएनमा ओभरहेड ट्यांकीसहित डिपबोरिङको काम थालेको छ । हेटौंडा-२ हरिकुञ्ज, हेटौंडा-५ रुद्रेश्वर र हेटौंडा-१५ मा ५/५ लाख लिटर क्षमताको ट्यांकी बनाउने भएको छ ।

हेटौंडा-१० टीसीएन, हेटौंडा-८ र हेटौंडा-७ मा गरी ४ वटा डिपबोरीङको काम हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नन्दलाल बञ्जाडेले बताए ।

चार स्थानमा निर्माण हुन १९ लाख ५० हजार लिटर क्षमताको ट्यांकीबाट उपमहानगरको बजार क्षेत्रमा पानी वितरण सहज हुनेछ ।

टीसीएनमा बनाउन थालिएको पानी ट्यांकीको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा मेयर महतले हेटौंडामा दुई वर्षभित्रमा धाराको पानी उमालेर र फिल्टर गरेर खानुपर्ने बाध्यता हटाउन लागिएको बताए ।

निर्माणको जिम्मा पाएको कन्काई भीमेश्वर जेभीले तोकिएको समयभित्रै काम सक्ने बताएको छ ।

खानेपानी बोर्डका अनुसार अहिले दैनिक १ करोड ३६ लाख लिटर पानी १७ हजार १ सय ६१ धारा मार्फत नगरबासी समक्ष पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment