Comments Add Comment

तिम्बुङ पोखरीको विवाद : मुन्धुम भर्सेस विष्णु भगवान !

प्रजिअ भन्छन्– विवाद छैन, साम्प्रदायिक सदभाव छ

४ भदौ, ताप्लेजुङ । जिल्लाको तिम्बुङ पोखरी छेवैमा निर्माण गरिएको मन्दिर अन्यत्रै सार्नुपर्ने स्थानीय लिम्बु समुदायले माग राख्दै आएका छन् । गत नागपञ्चमीदेखि बढेको विवाद समाधानका लागि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयमा मंगलबार सर्वदलीय/सर्वपक्षीय छलफल आयोजना भयो ।

तिम्बुङ पोखरी छेउमा विष्णु भगवानको मन्दिर बनाइएको भन्दै लिम्बुवान अभियन्ताले विरोध जनाएका छन् । त्यहाँ मन्दिर निर्माण हुँदा लिम्बु जातिको प्राकृतिक सम्पदा र सांस्कृतिक अतिक्रमण भएको भन्दै मन्दिर भत्काउनुपर्ने आन्दोलनकारीको माग छ ।

लिम्वुवान अभियन्ताहरुले ‘तिम्बुङ वरक बचाउ अभियान’ गठन गरेर आन्दोलन गर्दै आएका छन् ।

तिम्बुङ पोखरीमा पर्यटन मन्त्रालयको ५० लाख रूपैयाँ र सिदिङ्वा गाउँपालिकाको ५ लाख रूपैयाँ खर्चेर मन्दिर लगायत विभिन्न संरचनाहरु निर्माण गरिएको हो ।

विष्णु मन्दिरका रूपमा गत महिनाको नागपञ्चमीका दिन उद्घाटन हुने तयारी भइरहेका बेला एकाएक विरोध र आलोचना सुरु भएको थियो । आन्दोलनकारीहरूले विरोधस्वरूप मन्दिरमा तालाबन्दी गरेपछि जिल्ला प्रशासनले वार्ताका लागि आह्वान गरेको थियो ।

फुङलिङमा मंगलबार आयोजित छलफलमा तिम्बुङ पोखरी परिसरमा बनेको विष्णुको मन्दिर स्थानान्तरण गर्नुपर्ने लिम्बुवान आन्दोलनका अभियन्ताले अडान राखेका थिए । तर, सरकारको लगानी भइसकेकाले संरचना हटाउन नमिल्ने जिल्ला प्रशासन र स्थानीय सरकारको अडान छ ।
मंगलबार आयोजित छलफलको समन्वय प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले गरेका थिए । स्थानीय सरकारका तर्फबाट सिदिङ्बा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरिया र उपाध्यक्ष विष्णु ताम्लिङ सहभागी थिए । त्यस्तै किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष प्रेम सेलिङ पनि छलफलमा सहभागी सहभागी थिए ।

मन्दिर निर्माणसम्बन्धी विवाद मिलाउन आयोजना गरिएको छलफलमा राजनीतिक दलका तर्फबाट नेकपा जिल्ला अध्यक्ष विजय किराती, सङ्घीय लिम्बुवान मञ्च जिल्ला अध्यक्ष भूपेन्द्र माबो सामेल थिए ।

आन्दोलनकारीले त्यहाँ विष्णुको मूर्ति राख्न लागिएको भने पनि विष्णुको मूर्ति राख्ने कुनै कार्यक्रम नरहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बैठकमा स्पष्ट पारेका थिए ।

लिम्बु इतिहास र संस्कृतिका जानकारहरुका अनुसार मुन्धुममा वर्णन हुने हिमाली भेगका पोखरीहरूमध्ये तिम्बुङ वरक एक हो । लिम्बु भाषाको तिम्बक (बन्दूक) बाट अपभ्रंश भएर तिम्बुङ पोखरीको नामकरण भएको मान्यता छ ।

तिम्बुङ पोखरीलाई ताप्लेजुङ र पाँचथर जिल्ला भएर बग्ने इङ्वा खोलाको शीर मानिन्छ । यसलाई कतिपयले ‘पूर्वको गोसाइकुण्ड’ समेत भन्ने गरेका छन् । यो एउटा सुन्दर पर्यटकीय गन्तव्य बन्न सक्ने ठाउँ हो ।

प्रजिअ निरौला भन्छन्– विवाद छैन, साम्प्रदायिक सदभाव छ

तिम्बुङ पोखरीमा देखिएको धार्मिक विवादबारे जिज्ञासा राख्दा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी त्यहाँ अहिले खासै विवाद नरहेको र सामाजिक सदभाव राम्रो रहेको बताउँछन् ।

प्रजिअ निरौलाले तिम्बुङ पोखरी विवादबारे अनलाइनखबरलाई यसरी बताए –

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला ।

तिम्बुङ पोखरीमा सरकारको लगानी भएर पर्यटन पूर्वाधार बनिसक्यो । त्यहाँ ११ सय मीटर बाटो बनेको छ । दुईकोठे शौचालय बन्यो । एउटा पाटी बन्यो । सरकारको ५५ लाखको लगानीमा यी पूर्वाधारहरु बनेका छन् ।

त्यहाँ एउटा सानो, जस्ताले छाएको बुकुरोजस्तो मन्दिर रहेछ । त्यसभित्र पौराणिक ऐतिहासिक नागहरु, त्रिशुलहरु, ढुंगाहरु रहेछन् । तिनीहरुलाई सार्ने गरी एउटा अर्को मन्दिर बनेको छ । पहिला गाविस अध्यक्षज्यू हुँदा त्यो बनाएको अरे ।

अहिले त्यसैको छेऊमा अलिकति घुम्न मिल्ने, यसो उभिएर पूजा गर्न मिल्नेखालको एउटा सानो मन्दिर पनि बनेको छ ।

उहाँहरुको भनाइ चाहिँ पुरानो लिम्बुवानको ऐतिहासिक स्थलमाथि अतिक्रमण भयो, यसलाई जस्ताको त्यस्तै भर्जिन नै हुन दिनुपथ्र्यो भन्नेखालको कुरो छ उहाँहरुको । उहाँहरुले त्यहाँ केही पनि नबनाउने, त्यत्तिकै छाड्ने भन्नुभएको छ ।

यता पर्यटन पूर्वाधारहरु बनिसके । त्यसैले मैले हिजो यो विषयमा उहाँहरुवीच समन्वय गरिदिएको हो । स्थानीय पालिका, स्थानीय उपभोक्ता समिति, वडाध्यक्षहरु, पहिलेका गाविसका पदाधिकारीहरु अनि विभिन्न जातीय संगठन र दलका अगुवाहरुसँगको सर्वदलीय, सर्वपक्षीय मिटिङ बसेको हो ।

यहाँको स्थिति नर्मल नै छ । त्यस्तो असामान्य केही पनि छैन । मैले स्थानीय प्रतिनिधिहरुलाई एकैठाउँमा जुटाऔं भनेर मात्र यो छलफलको समन्वय गरेको हुँ । यहाँ कुनै समस्या छैन । साम्प्रदायिक सदभाव बिग्रिएको छैन । एकदम राम्रो छ ।

यहाँ एउटा मन्दिरजस्तो बनेको छ, यहाँ विष्णुको मूर्ति स्थापना गर्न लागिएको छ भन्ने उहाँहरुको भनाइ थियो । तर, विष्णुको मूर्ति अहिले नराख्ने भन्ने भएको छ । विष्णुको मूर्ति राख्ने निर्णय नै भएको रहेनछ गाउँपालिकामा । यसमा क्लियर गरियो । त्यो मूर्ति अहिले नराख्ने स्पष्ट पारियो ।

अब यो स्थानलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारेमा स्थानीय रुपमा सहमति खोज्ने निर्णय भएको छ । यो पाँचथर र ताप्लेजुङको सीमानामा पर्ने भएकाले दुबैतिरका स्थानीयहरु मिलेर एउटा संरक्षण समिति बनाएर अगाडि बढ्ने भन्नेखालको अनौपचारिक सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment