+
+
Shares

लाङटाङको पानी हेलम्बु झारेर ४ सय मेगावाट बिजुली !

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते १५:१७

४ भदौ, काठमाडौं । गत आइतबार विद्युत् प्राधिरकणको वार्षिकोत्सव समारोहमा विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई लाङटाङ क्षेत्रमा बहुद्देश्यीय आयोजना स्थापना गर्न सुझाव दिए । उनले ‘काकाकुल’ काठमाडौंमा खानेपानी समेत आपूर्ति गर्न सकिने र ठूलो क्षमतामा विद्युत पनि उत्पादन गर्न सकिने भएकाले यो आयोजना तत्काल थाल्नुपर्ने तर्क गरे ।

सिंहले भनेजस्तै साँच्चै लाङटाङको पानी काठमाडौं ल्याउन सम्भव छ त ? विद्युत प्राधिकरणकाअनुसार जापानी सहयोग नियोग (जाइका)ले तयार पारेको नेपालको जलविद्युत आयोजनाहरु सम्वन्धी गुरुयोजनाले चाहिँ सम्भव हुने देखाएको छ । तर, प्राधिकरणले मात्रै चाहेर आयोजना बन्न सक्दैन । त्यसका लागि सरकारले नै निर्णय लिएर अघि बढ्नपर्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

काठमाडौंमा मेलम्चीको पानी ल्याएर वितरण गर्ने काम अन्तिम चरणमा छ । यो आयोजनापछि पनि दैनिक १७ करोड लिटर पानी अपुग हुने निष्कर्षसहित सिन्धुपाल्चोककै यांग्री र लार्के खेलाको पानी मिसाउने गरी परियोजना तयार पनि गरिँदैछ । यही अवस्थामा जाइकाको अध्ययन अनुसार आयोजना बनाउने हो भने हिमालको फेद लाङटाङबाट काठमाडौंमा खानेपानी आपूर्ति गर्न सम्भव हुनेछ ।

यो आयोजना बने लाङटाङ हिमनदीको पानी काठमाडौंसम्म आइपुग्नेछ भने ४ सय मेगावाट बिजुली पनि उत्पादन हुनेछ । लाङटाङलाई उपयोग गरेर जलविद्युत आयोजना निर्माण गर्ने गरी बनेको गुरुयोजनामा नै यो विषय समावेश छ । एक वर्षअघि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि एक सार्वजनिक कार्यक्रममा यो आयोजना बनाउन सकिए काठमाडौंले लाभ पाउने बताएका थिए ।

घिसिङका अनुसार लाङटाङ क्षेत्रमा रहेको क्यानजिन भ्यालीमा लाङटाङ नदी थुनेर रिजर्भवायर बनाउने हो भने त्यो पानी काठमाडौं ल्याउन सम्भव हुन्छ । तर, त्यसका लागि हेलम्बुसम्म करिब १८ किलोमिटरको सुरुङमार्ग बनाउनुपर्छ । लाङटाङबाट सुरुङ हुँदै झरेको पानीबाट हेलम्बुमा बिजुली उत्पादन गर्न पनि सकिन्छ ।

बिजुली निकालेपछिको पानीलाई सीधै मेलम्चीको सुरुङमार्फत काठमाडौं ल्याउन सकिने घिसिङको भनाइ छ । क्यानजिनको जलासयमा जम्मा गरिने पानीलाई हेलम्बु ल्याउँदा ४ सय मेगावाटको विजुली पनि उत्पादन गर्न सकिने उनी बताउँछन् ।

‘क्यानजिनमा जलासय बनाउन सजिलो छैन । आयोजना बनाउने हो भने त्यहाँ केबलकारमार्फत सामान ढुवानी गर्न सकिन्छ’ घिसिङ भन्छन्, ‘त्यो केबलकारलाई कायम राखेर पर्यटन प्रवर्द्धन पनि गर्न सकिन्छ । पदमार्गलाई असर नपुग्ने गरी लाङटाङलाई केबलकारसँग जोड्दै विजुली र खानेपानीको लागि प्रयोग गर्दा फाइदा नै हुन्छ ।’

काठमाडौंमा आएको पानी काभ्रेको पाँचखालसम्म पुर्‍याउनुपर्ने अवस्था रहेकाले यो योजना अघि बढे रसुवाका स्थानीय मात्रै नभएर काठमाडौंका बासिन्दा पनि लाभान्वित हुने प्राधिकरणको भनाइ छ । रिजभ्र्वायरको सञ्चालन मुख्य रुपमा हिउँदमा हुने भएकाले काठमाडौंमा पानीको अभाव रहेकै समयमा लाङटाङको पानी आउने अवस्था रहेको घिसिङले बताए ।

क्यानजिनमा मानव वस्ती पनि नभएकाले जलासय बनाउन उपयुक्त र सहज भएको अध्ययनबाट नै देखिएको छ । यस्तो जलासय बनाउँदा लाङटाङ क्षेत्रको पर्यावरणलाई जोगाउने योजना पनि बनाउनुपर्ने प्राधिकरण बताउँछ ।

यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले पनि सरकारले यसबारे निर्णय लिन सकेको छैन । चिलिमे जलविद्युत कम्पनीले २०६९ सालमै लाङटाङमा २३२ मेगावाटको आयोजना बनाउन विद्युत विकास विभागमा अध्ययन अनुमतीपत्र मागेको थियो । तर, अझै पाएको छैन ।

अहिले पनि लाङटाङको क्यान्जिङमा साना जलविद्युत आयोजना सञ्चालनमा छन् । लिरुङ हिमालबाट बग्ने छुहाँ खोलामा विद्युत गृह निर्माण बनाएर विजुली उत्पादन गरिएको छ । आयोजनाबाट एक सय किलोवाट विद्युत उत्पादन हुन्छ । यो विद्युत लाङटाङ, मुन्दुम, सिन्दुम तथा क्यान्जिङका दुई सयभन्दा बढी घर परिवारले उपयोग गरिरहेका छन् ।

यो आयोजना पूर्व नेपाली बि्रटिस सैनिकको संगठन काधुरी नामक संस्थाको सहयोगमा बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?