Comments Add Comment

पोखरामा धमाधम हुँदैछ सागको तयारी

खेलकुदमन्त्री भन्छन् : बजेटको चिन्ता नगर्नुस्, काम गर्नुस्

४ भदौ, पोखरा । मंसिर १५ गतेबाट हुने एसियाली खेलकुद प्रतियोगिताका २७ खेलमध्ये ७ खेल पोखरामा हुनेछ ।

प्याराग्लाइडिङ, भलिबल, आर्चरी, महिला फुटबल, ह्याण्डबल, भारत्तोलन, र ट्रायथलन प्रतियोगिता पोखरामा गराउन अहिले भौतिक पूर्वाधार निर्माणका काम भइरहेको छ । तर केही प्रतियोगिता कुन ठाउँमा खेलाउने भन्ने अझै टुंगो छैन । प्याराग्लाइडिङ र भारत्तोलनको खेल खोलाउने स्थान निश्चित भइसकेको छैन ।

प्याराग्लाइडिङमा सहमति जुटेन

पोखराको सराङकोट प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक भएको सरोकारवालाको दाबी छ । यही ठाउँमा १३ औं एसियाली खेलकुल प्रतियोगितामा प्याराग्लाडिङ खेल पनि हुँदैछ । तर, अहिलेसम्म न ठाउँ पक्का भइसकेको छ, न त खेलाडीका लागि जाने, आउने सुविधा र बजेटको व्यवस्था छ ।

सराङकोट र तोरीपानीबाट उडान बताइए पनि त्यसको निर्णय भइसकेको छैन । ‘न त टेकअफ र ल्याण्डिङको टुंगो लागेको छ न त अरु संरचना बनाउने काम नै अगाडि बढ्न सकेको छ,’ नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङको महासचिव शैलेन्द्र राउतले भने, ‘असुविधाकै बीच पनि बन्द प्रशिक्षण गराइरहेका छौं ।’

प्याराग्लाइडिङको तयारी तथा व्यवस्थापनको जिम्मा क्षेत्रीय खेलकुद विकास समिति, पोखराले पाएको छ । समितिका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठले महानगरसँग छलफल चलिरहेको रसराङकोट र तोरीपानीबाट उडान गर्ने तयारी भइरहेको राउतले जानकारी दिए ।

उनका अनुसार प्रशिक्षणका लागि आउ–जाउ गर्न सवारी साधनको समेत समस्या छ । २२ पुरुष र ६ महिलालाई ४ जनाले प्याराग्लाइडिङको प्रशिक्षण दिइरहेका छन् ।

भलिबलको बन्द प्रशिक्षण काठमाडौंमा

साग भलिबलका लागि बहुउद्देश्यीय कभर्ड हाल निर्माण हुँदैछ । तर काम सकिएको छैन । बुधबार पोखरा आएका युवा तथा खेदकुदमन्त्री जगतबहादुर विश्वकर्माले बहुउद्देश्यीय कभर्ड हल भदौभित्रै सक्न निर्देशन दिएका छन् ।

साग भलिबलका लागि खेलाडी बन्द प्रशिक्षणमा छन् । जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र काठमाडौंमा खेलाडीहरुले अभ्यास गरिरहेका छन् ।

पुरुषतर्फ १४ जना खेलाडी छनोट भइसकेका छन् भने महिलातर्फ २५ जनाले बन्द प्रशिक्षण लिइरहेको नेपाल भलिबल संघको वरिष्ठ उपाध्यक्ष याम गुरुङले जानकारी दिए । भदौ १८ गतेभित्र महिला भलिबलको पनि अन्तिम छनोट भइसक्ने र त्यसपछि मात्रै पोखरामा बन्द प्रशिक्षणमा ल्याउने गुरुङले जानकारी दिए ।

क्याटरिङमा भारत्तोलन

पोखरामा हुने अर्को खेल हो भारत्तोलन । तर, अझैसम्म भारत्तोलन हुने स्थान पक्का भइसकेको छैन ।

सुरुमा पोखरा सभागृहमा खेलाउने योजना थियो । तर पोखरा महानगरपालिकाले मंसिरको पहिलो हप्तादेखि मर्मत गर्न लागेकाले त्यहाँ नहुने भएको छ । सभागृह नपाउने भएपछि भारत्तोलन क्याटरिङमा खेलाउने तयारी भइरहेको कास्की भारत्तोलन संघका अध्यक्ष राजन बड्गानेले जानकारी दिए ।

‘सभागृहमा खेलाउने तयारी थियो । तर, महानगरले मर्मत गर्ने भन्दै दिएन,’ राजनले भने, ‘अब माटेपानीमा रहेको केसी क्याटरिङमा भारत्तोलन खेलाउने तयारी गरेका छौं ।’ क्याटरिङमा सबै पूर्वाधार भएकाले पनि सजिलो हुने उनको भनाइ थियो । भारत्तोलनमा ४० जना काठमाडौंमा बन्द प्रशिक्षणमा छन् । भदौ १५ गतेबाट पोखरामा प्रशिक्षण हुने उनले जानकारी दिए ।

खेल सामाग्रीबिना ह्याण्डबलको तयारी

सागमा हुने प्रतियोगितामध्ये पोखरामा ह्याण्डबल पनि एक हो । पोखरा रंगशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हालमा ह्याण्डबल प्रतियोगिता हुने छ ।

त्यही कबर्ड हलमा अहिले बन्दसत्र चलिरहेको छ । कबर्ड हल निर्माणधीन अवस्थामै रहेकाले प्रशिक्षणमा समेत अप्ठेरो परिरहेको ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । ह्याण्डबलमा महिला, पुरुष गरी २८ जना बन्द प्रशिक्षणमा छन् ।

खेल सामाग्रीको अभावमा बन्द प्रशिक्षण भइरहेको संघका सचिव केशव पाठकले जानकारी दिए ।

फेवातालमा ट्रायथलन

पोखरामा हुने ट्रायथलन खेलको अहिले काठमाडौंमा बन्द प्रशिक्षण चलिरहेको छ । काठमाडौं आर्मी ट्रेनिङ सेन्टर लगनखेलमा १२ जना खेलाडी बन्द प्रशिक्षणमा छन् ।

ट्रायथलनमा स्विमिङ, साइक्लिङ र रनिङ पर्छ । केही समयअघि पनि पोखरामा ट्रायथलन भएकाले यसको समस्या नरहेको ट्रायथलन संघका अध्यक्ष मिलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

रनिङ, साइक्लिङ र फेरि रनिङ हुने डुवाथलन पनि ट्रायथलनभित्रै खेलाइने श्रेष्ठको भनाइ छ । अर्को महिनादेखि पोखरामा प्रशिक्षण सुरु हुनेछ । स्विमिङ पुल बनिनसकेकाले अहिले निजी ठाउँमा जहाँ उपलब्ध हुन्छ त्यहीँ प्रशिक्षण भइरहेको श्रेष्ठले बताए ।

आर्चरी : कोही जापान, कोही नेपाल

साग खेल अन्तर्गत पोखरामा हुने आर्चरीको तयारी भने जापान र नेपालमा चलिरहेको छ । आर्चरीमा पोखराबाट ४, कञ्चनपुरबाट १ र काठमाडौंबाट ७ जना गरी सहभागी हुने छन् ।

उनीहरु ४ जना जापानमा प्रशिक्षण लिइरहेको आर्चरी संघ केन्द्रीय सचिव योगेन्द्र शेरचनले जानकारी दिए । बाँकीको पोखरामा प्रशिक्षण चलिरहेको छ । भदौ १७ गतेबाट पोखरामा बन्द प्रशिक्षण सुरु हुने शेरचनले बताए ।

पोखरा रंगशालाभित्रको आर्चरी मैदानमा प्रतियोगिता तयारी हुँदैछ । दूबो रोप्ने, मर्मत र रङरोगन गर्ने काम बजेटको अभावले प्रभावित भएको शेरचनको भनाइ छ ।

फुटबल मैदानमा धमाधम काम

महिला फुटबल प्रतियोगिता हुने पोखरा रंगशलाको निर्माण काम धमाधम भइरहेको छ ।

मैदान प्राकृतिक कि कृत्रिम बनाउने भन्ने लामो समयदेखि अन्योल थियो । प्राकृतिक नै बनाउने भन्ने भएपछि अहिले काम भइरहेको छ । भारतीय कम्पनी ग्रेट स्पोर्टस् इन्फ्रा प्रालि र नेपाली कम्पनी एमए कन्सट्रक्सन प्रालिले मैदान निर्माणको जिम्मा पाएको छ । १ अर्ब २८ करोड रुपैयाँमा सम्झौता गरेको निर्माण कम्पनीले रंगशाला समयमै हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएकोे छ ।

४० जना महिला फुटबलको बन्द प्रशिक्षणमा छन् । पोखरा रंगशालाभित्रको मैदान निर्माणाधीन अवस्थामै रहेकाले अबको बन्द प्रशिक्षण बिजयपुर ब्यारेक, दोबिल्लास्थित सहारा क्लब मैदान र भण्डारढिकमा रहेको खेल मैदानलाई प्रशिक्षणका लागि विकल्पका रुपमा हेरिएको प्रशिक्षक कृष्ण थापाले जानकारी दिए ।

मन्त्रीको आश्वासन

बुधबार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा पोखरा रंगशालाको निरीक्षणमा पुगेका छन् । सरोकारवालाले साग प्रतियोगिता हुने मैदान निर्माण, अभ्यास खेल लगायतमा बजेट उपलब्ध नभएकाले प्रभावित भइरहेको बताए ।

बजेटकै कारणले निर्माण कार्य र खेल प्रभावित नहुने भन्दै खेलकुदमन्त्री विश्वकर्माले निश्चिन्त भएर तयारीमा जुट्न आग्रह गरे । ‘बजेटको अख्तियारी भइसकेको छ । केही दिनमै आउँछ,’ उनले भने ‘चिन्ता लिनु पर्दैन, काम गर्नुस् ।’

मन्त्री विश्वकर्माले पूर्वाधार निर्माण तयार सकेर पोखरामा सागका खेल हुने कुरामा विश्वस्त रहन आग्रह गरे । ‘पूर्वाधार निर्माणको चरणलाई हेर्दा पनि समयमै साग हुन्छ भन्ने ढुक्क हुनुस्,’ उनले भने, ‘यो प्रतिष्ठासँग जोडिएको विषय पनि हो ।’

पोखरामा साग खेलाउन पोखरेली खेलप्रेमी उत्साही छन् । उनीहरुको एउटै चिन्ता हो, ‘पूर्वाधार निर्माण नभएर खेल रोकिने त होइन ?’ मन्त्री विश्वकर्माले भने निर्माण व्यवसायीलाई कात्तिकभित्रै निर्माण सकेर हस्तान्तरण गर्न भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment