Comments Add Comment

रोगभ्रमः के हो कारण र उपचार ?

हरेक व्यक्ति आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित हुन्छन्, जुन स्वाभाविक पनि हो । यद्यपि कतिपय मानिस रोग लाग्नासाथ अत्यन्तै डराउँछन्, भलै उनको स्वास्थ्य खराब नभइसकेको हुनसक्छ, जति उनी भयभित छन् । सानोतिनो रोगकै कारण उनीहरु अत्यन्तै चिन्तित हुन्छन् ।

यदि कुनै मानिस निरन्तर भयभित रहन्छन् र तर मेडिकल परीक्षणमा कुनैपनि जटिलता देखिएन भने यसलाई रोगभ्रम -हाइपोकन्डि्रया)को लक्षण मान्न सकिन्छ । यसलाई ‘हाइपोकन्डि्रया हेल्थ एन्जाइटी डिसअर्डर’ पनि भनिन्छ, जसमा पीडित गम्भीर रुपमा चिन्तित रहन्छन् । यस विकारमा कुनै विशेष लक्षण विकसित हुँदैन ।

रोगभ्रमलाई स्वास्थ्यप्रति अति चिन्ता पनि भनिन्छ । यो एक यस्तो विकार हो जसमा पीडित धेरैजसो समय यही सोचिरहन्छ कि मलाई गम्भीर रोग नै लागेको छ । यसले चिन्ता अरु बढाइदिन्छ । महिनौं चिन्ता पालेर बस्नाले जीवन नै प्रभावित हुन्छ ।

रोगभ्रमको लक्षण

आफूलाई गम्भीर रुपले रोगी सम्झनु नै रोगभ्रमको पहिलो एवं आम लक्षण हो । शरीरमा सानोतिनो परिवर्तन आउँदैमा वा केही असहज महसुस हुँदैमा उनीहरु अत्यन्तै भयभित रहन्छन् र आफैंमाथि अनेक शंका गर्न थाल्छन् । उनीहरुको सामाजिक सम्बन्ध तनावपूर्ण हुन्छ ।

स्वास्थ्यको बारेमा अनेकन जानकारी खोजिरहन्छन् । उनीहरु सामान्य लक्षणलाई पनि गम्भीर रोग हो भन्ने ठानेर चिन्तित हुन्छन् । उनीहरु पटक पटक चिकित्सककहाँ पुग्छन् र परीक्षण गर्छन् । चिकित्सकले जाँच गरेर स्वास्थ्य सामान्य छ भन्यो भने पनि विश्वास गर्दैनन् । यो डाक्टर राम्रो रहेनछ भनेर अर्को डाक्टरकहाँ जँचाउन जान्छन् । एवं रितले डाक्टर बदलिरहन्छन् ।

रोगभ्रमको जोखिम

धारणा – शरीरमा सानोतिनो समस्या आएमा त्यसलाई गम्भीर रोगको लक्षण भन्ने सम्झन्छन् ।

परिवार- रोगभ्रमले ग्रस्त व्यक्तिको नजिकका आफन्त, आमाबुवा, छोराछोरीलाई पनि यो विकार रहने खतरा बढ्छ ।

पहिले कुनै रोग- यसअघि कुनै जटिल रोगको सामना गरिसकेको हुँदा पनि उनीहरुमा यस्तो आशंका पैदा हुन्छ । हाइपोकन्डि्रयाले ग्रस्त व्यक्तिमा डिप्रेसन, पेनिक विकार, ओसीडी वा चिन्ता विकार हुनसक्छ ।

आफूलाई गम्भीर रोग नलागेकै अवस्थामा पनि रोग लागेको आशंका गरेर सधैं भयभित र चिन्तित भइरहँदा मानसिक असर गर्छ । हरेक कुरामा शंका गर्ने बानीको विकास हुन्छ र सधैं आफ्नो स्वास्थ्य कमजोर भएको महसुस हुन्छ ।

के छ उपचार ?

रोगभ्रमबाट मुक्त हुनका लागि मानसिक परामर्श आवश्यक हुन्छ । यस प्रकियालाई साइकोथेरापी पनि भनिन्छ, जो रोगभ्रमको मुख्य उपचार विकल्प हो ।

यसैगरी उनीहरुलाई रोग्रभमबारे शिक्षा एवं जानकारी दिनुपर्छ । रोगभ्रम के हो र यसको उपचार के हो भन्नेबारे उनीहरुलाई जानकारी गराउनुपर्छ । केही प्रकारका औषधिबाट पनि यो समस्याको हल खोज्न सकिन्छ । केही यस्ता औषधि हुन्छन्, जसले डिप्रेसन वा चिन्ता कम गरेर रोगभ्रमको लक्षणबाट मुक्त राख्न सहयोग गर्छ ।

यसमा आफ्नै प्रयास पनि जरुरी हुन्छ । अन्य काममा मन लगाउनु, दिनभर व्यस्त रहनु, मदिरापान नगर्नु, रोगको बारेमा खोजी नगर्नु आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment