Comments Add Comment

संसदीय समितिमा मन्त्री मातृका यादव कड्किए

५ भदौ, काठमाडौं । संसदीय समितिले निर्णय गर्दा मन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आपत्ति जनाएपछि बिहीबार संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बैठक स्थगित भएको छ ।

औद्योगिक व्यवसाय विधेयकमा दफाबार छलफल गरी पारित गर्ने कार्यसूचीसहित बसेको बैठकमा मन्त्री यादवले सम्बन्धित विषयमा निर्णय गर्दा मन्त्रीको राय लिन पर्छ कि पर्दैन ? भनी प्रश्न उठाएका थिए । यसअघि भदौ २ गते समितिको बैठकमा आफू आउन नभ्याउने जानकारीसहित पत्र पठाए पनि उक्त दिन समितिको बैठक बसेकामा उनले आपत्ति जनाएका हुन् ।

समिति सभापति विमल श्रीवास्तवले बैठक सुरु गर्नेवित्तिकै मन्त्री यादवले मन्त्रीको उपस्थिति आवश्यक छ कि छैन भन्ने प्रश्न उठाएका हुन् । त्यसपछि सभापति श्रीवास्तवले समितिको पनि आफ्नो क्षेत्राधिकार रहेको भन्दै निर्णय गर्दा मन्त्री नै आवश्यक नपर्ने बताए ।

‘मन्त्रीज्यूले मनको बह राख्नुभयो । समितिको पनि आफ्नो क्षेत्राधिकार छ, सकेसम्म समितिले सबै पक्ष सरोकारवाला, मन्त्रीलाई राखेर निर्णय गर्ने हो, राय सबैको लिने हो, तर निर्णय गर्दा मन्त्रीलाई नै राख्नुपर्छ भन्ने बाध्यता छैन’ उनले भने ।

त्यसपछि रिसाएका मन्त्री यादवले बैठकबाट उठ्दै आफू यो विषय संसद बैठकमा समेत उठाउने चेतावनी दिए । उनले भने ‘मन्त्रीको आवश्यकता छैन भने म जान्छु, आवश्यक छैन भने आउँदिन, हाउसमा पनि यो कुरा उठाउँछु । म हिँडेँ ।’

त्यसपछि सिटबाट उठेका मन्त्री यादवलाई सांसदहरुले हाम्रो कुरा पनि सुन्नुस् भन्दै रोकेका थिए ।

नेकपा सांसद देवेन्द्र पौडेलले समितिको झगडा संसद बैठकमा लैजानु राम्रो हुँदैन, यहीँ बसेर छलफल गर्नुपर्ने बताए । ‘मन्त्री नभए पनि हुन्छ भन्ने नबुझौं, निर्णय गर्दा मन्त्री हुनुपर्छ भन्ने बुझाई हो । त्यसैले मन्त्रीलाई बोलार्एका हौं’ उनले भने ।

कांग्रेस सांसद प्रकाश रसाईलीले मन्त्रालयको सचिव आउँदा सरकारको प्रतिनिधि हो भनेर बुझ्ने गरेको बताए ।

केही सांसदले भने समिति सभापतिले निर्णय गर्दा मन्त्री नभए पनि हुन्छ भन्नु गलत भएको भन्दै आपत्ति जनाए । सभापति श्रीवास्तवले आफूले त्यस्तो मनसाय नराखेको, समितिको निर्णय नै आफ्नो निर्णय भएको बताए ।

तर सभापति श्रीवास्तवले बिहीबार १ बजे संसद बैठक पनि रहेकाले छलफलका लागि समय अपुग हुने भन्दै शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

सञ्चार माध्यमप्रति मन्त्रीको आक्रोश

मन्त्री यादवले समितिको आजको बैठकको समाचार नलेख्न सञ्चार माध्यमलाई घुमाउरो ढंगले आग्रह गरे । ‘सञ्चार माध्यमले पनि के समाचार लाने के नलाने भन्ने विषयमा ख्याल गर्नुपर्छ’ उनले भने ‘आज यो समितिको समाचार मन्त्रीज्यू उठ्नुभो भनेर जान्छ, तर बस्नु पनि त भएको छ, नि त्यो चाहिँ जाँदैन ।’ उनले बिहीबारको बैठकको समाचार नलेख्न सभापतिले रुलिङ नै गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment