Comments Add Comment

गोर्खा भर्तीबारे प्रश्न उठेको छ, पुनरावलोकन गर्दैछौं : परराष्ट्रमन्त्री ज्ञवाली

५ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोर्खा भर्तीको विषयमा पछिल्लो समयमा प्रश्न उठेको भन्दै यसमा पुनरावलोकन गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले हालको सन्दर्भमा गोर्खा भर्तीबारे प्रश्न उठेको भन्दै यसमा पुनरावलोकन गर्नुपर्ने देखिएको बताएका हुन् ।

‘कुनै जमानामा रोजगारीको अवसर महत्वपूर्ण माध्यम पनि बनेको थियो होला तर अहिले सार्वभौम मुलुकले अर्को सार्वभौम मुलुकमा सेना आफ्ना नागरिक पठाउनु हुन्छ कि हुँदैन ? त्यसरी जाने नागरिकले त्यो देशको पक्षमा उभिएर नेपालको अर्को मित्रसँग लडाइ लड्नुपर्ने अवस्थामा हाम्रो स्वतन्त्रता, असंलग्नतको सिद्धान्तमा कसरी मिल्छ ? भन्ने प्रश्न उठिरहेको छ’ उनले भने ‘त्यही भएर यी समग्र पक्षको पुनरावलोकनको प्रक्रियामा छौं ।’

नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा त्रिपक्षीय सम्बन्धको आधारमा बेलायती सेनामा नेपालीले काम गरिरहेको भन्दै उनले अब त्रिपक्षीय सन्धीको सान्दर्भिकता नरहेको मन्त्री ज्ञवालीले बताए । ‘केही समयअघि सम्पन्न प्रधानमन्त्रीज्यूको बेलायत भ्रमणका बेलामा उठाएका छौं । त्रिपक्षीय सन्धीको सान्दर्भिकता रहेन । भारत र बेलायतसँग छुट्टाुछ्टै कुरा गर्न चाहन्छौं भनेका छौं’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका क्रममा संयुक्त विज्ञप्तिमा पनि यो विषय औपचारिक एजेण्डा बनेको पनि उनले बताए ।  त्यस्तै बेलायती रक्षा राज्यमन्त्री सन् २०१९ को जनवरीमा नेपाल भ्रमणका क्रममा आफूले यो विषय उठाएको पनि उनले बताए ।

‘मैले जनवरी २०१९ मा बेलायती रक्षा राज्यमन्त्रीलाई ब्रिटिश गोर्खाले उठाएका जायज माग संबोधनका लागि न्याय, समानता र निष्पक्षतामा आधारित रहेर पहल लिन अनुरोध गरेको छु र सन् १९४७ को सन्धीको मर्म र ब्रिटिश गोर्खामा नेपाली महिलाको भर्तीलगायतका विषयमा पुनारावलोकनको गर्न आवश्यक छ । त्यसमा हामी छलफल गर्न चाहन्छौं भनेको छु’ उनले भने ।

गोर्खा भर्तीलाई अब त्रिपक्षीय सन्धीको रुपमा नभई नेपाल र बेलायतबीचको द्विपक्षीय मामिलाको रुपमा समाधान गर्न चाहेको मन्त्री ज्ञवालीले बताए । सांसदहरुले सरकारले गोर्खा भर्तीको समस्या समाधान गर्न आलटाल गरिरहेको आरोप लगाए ।

तर मन्त्री ज्ञवालीले २०३ वर्षअघिदेखिको समस्या रातारात समाधन नहुने बताए । ‘धेरै प्रश्न छन्, सबै कुरालाई ध्यानमा राखेर यो विषयमा समाधान खोज्छौं । सबैभन्दा उच्च तहबाट पहल भइरहेको छ । आलटाल भएको छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment