Comments Add Comment

जेलबाट छुटेलगत्तै चौकीदारलाई धम्की– १० लाख दिन्छौ कि सरुवा गरिदिऊ

आतंक फैलाएर रकम असुली गर्ने ३ प्रहरी फन्दामा

६ भदौ, वीरगञ्ज । साउन २४ गते वीरगञ्ज महानगरपालिका–४ स्थित बिर्ता, हाट बजारमा पटाका बम पड्कियो । २ जना घाइते भए । त्यसको ४ दिनपछि वीरगञ्ज महानगरपालिका–८ घण्टाघर नजिकको तरकारी बजारमा पनि विष्फोट भयो । १ जना घाइते भए । लगातार जस्तै विष्फोटका घटना घटेपछि वीरगञ्जको जनजीवन आतंकित भयो । घटना लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले एक सातापछि सफलता हात पारेको छ ।

साँझको समयमा पटाका पड्काएर जन समुदायमा त्रास फैलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले वीरगञ्ज–२४, रामगढवा बस्ने ३२ वर्षीय इनुस अन्सारी, २२ वर्षीय सद्दाम अन्सारी र १९ वर्षीय टाइगर भन्ने जौवाद अन्सारीलाई पक्राउ गरेको हो ।

वीरगञ्ज–२५ चण्डाल चोकबाट पक्राउ परेका उनीहरुको साथबाट ४ राउण्ड गोली, सुतली बम जस्तो देखिने ३ थान र मोबाइल फोन २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

छुटेलगत्तै चौकीदारलाई धम्की

प्रहरीका अनुसार, फुल हसन अन्सारी जयशंकर साहको कर्तव्य ज्यान मुद्दामा सजाय काटी ०७४ असोज ९ गते कारागारबाट छुटेका थिए । जेलबाट छुटेका अधिकांशमा विगतको अपराधकर्मप्रति पश्चाताप हुने गरेको छ । तर, साह भने यसमा अपवाद देखिएको प्रहरी भनाइ छ । जेलबाट छुटेलगत्तै अपराधकर्मलाई नै पेसा बनाएका उनले वीरगञ्ज कारागारका चौकीदार शेख भोलालाई नै  निशाना बनाए । प्रहरीका अनुसार, भोलासँग उनले १० लाख रकम मागेका थिए । नदिएमा सरुवा गराइदिने धम्की उनले दिएका थिए ।

पछिल्ल्ला विभिन्न विस्फोटमा संलग्न उनले  प्रमुख जिल्ला अधिकारीसमेतलाई एसएमएस गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी अधिकारीले बताएका छन् । फुल हसनले नै पटाका पड्काउन इनुस, सद्दाम र टाइगर भन्ने जौवादलाई प्रयोग गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

उनीहरू तीनै जनालाई हातहतियार तथा खरखजाना र विष्फोटक पदार्थ सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । थप अनुसन्धानका लागि समय आवश्यक भएकाले प्रहरीले पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment