Comments Add Comment

बाराको बंगरी खोलामा नेपाली सेनाले बनायो पुल

६ भदौ, वीरगञ्ज । बाराको फेटा गाउँपालिका-१ भलुहीस्थित बंगरी खोलामा नेपाली सेनाले फलामे पुल बनाएको छ ।

जनता आवास निर्माणका लागि खटिएको नेपाली सेनाको निर्माण कार्यदलले भलुहीमा ५ गाउँ जोड्ने पुल बनाएको हो । ३० मिटर लामो, २ मिटर चौडा र ३ मिटर अग्लो पुल बनाउन झण्डै ५ लाख खर्च भएको नेपाली सेनाले जनाएको छ ।

०७५ साल चैत १७ गते आएको टोर्नाडोबाट पूर्ण प्रभावितको घर नेपाली सेनाले निर्माण गरिरहेको छ ।

पुलको शुक्रबार निर्माण कार्यदलका प्रमुख सहायक रथी विनय विक्रम राणा र फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले उद्घाटन गरेका छन् ।

जालीमा ढुंगा भरेर टेको बनाईएको छ भने माथि फलामको पुल हालिएको छ । पुलबाट पैदल यात्रु मात्रै नभएर साईकल मोटरसाईकलमा ओहोर दोहोर गर्न सकिन्छ ।

वडापालिका कार्यालय समेत रहेको भलुहीमा पुल निर्माण भएपछि त्रिवेणी, अकुवनिया, भरवलिया, मनगढवा, फुलबरिया, चिलझप्टी लगायत आसपासका क्षेत्रका सर्वसाधरणलाई बजार आउजाउ गर्न सहज हुने भएको छ ।

पुल निर्माण हुनुअघि स्थानीयले बाँसको अस्थायी पुल बनाएर आवतजावत गर्दै आएका थिए । वर्षायाममा खोलामा आएको बाढीले पुल बगाएपछि सर्वसाधरण तीन किलोमिटर घुमेर यात्रा गर्न बाध्य थिए । स-साना बालबालिकालाई विद्यालय आउन जान पनि सास्ती थियो । त्यो बाटो हुँदै दैनिक १ हजार ५ सय सर्वसाधरण ओहोदोहोर गर्ने अनुमान गरिएको छ ।

भलुहीमा बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका राम विनेश बैठाले स्थानीयको दुःख देखेर नेपाली सेनाले पुल निर्माण गरेर निकै स्रहानिय काम गरेको बताए । ‘पुल नहुँदा धेरै दुःख थियो, विशेषगरि बालबालिका र महिलालाई खोला वारपार गर्न गाह्रो थियो ।’उनले भने ‘पुल बनेपछि अब सहज भएको छ, गाउँले खुशी छन् ।’

फेटा गाउँपालिका-१ का अध्यक्ष जय प्रकाश दासले ५ गाउँ जोड्ने पुल निर्माण गरेर नेपाली सेनाले प्रशंसनीय कार्य गरेको बताए । ‘५ गाउँको मुल बाटो नै यहि हो, गाउँमा उत्पादित तरकारी बजार ल्याउन र बजारबाट समान किनेर लैजान यही बाटो प्रयोग हुन्छ ।’ उनले भने, ‘पुल नहुँदा सास्ती थियो, अब त्यसको अन्त्य भएको छ ।’

स्थानीयका अनुसार भलुहीमा बसेको नेापली सेनाको निर्माण कार्यदलले मन्दिरमा रंगरोगन गर्नुको साथै पुजारीलाई भान्छाघर निर्माणमा समेत सहयोग गरिरहेको छ ।

गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले खोलामा पुल नहुँदाको समस्यालाई मध्य नजर गरेर गाउँपालिकाले रकम छुट्टयाएको भएपनि काम हुन नसकेको बताए । ‘गाउँपालिकाले बंगरी खोलामा आउजाउ सहज बनाउन २ लाख रुपैयाँ छुट्याएको थियो, तर विविध कारणले काम हुन सकेन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment